२८ असोज, काठमाडौं । इजरायलमा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि भएको छ।
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षण रिपोर्टका अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिरै भएको देखिएको हो। इजरायलस्थित नेपाली दूतावास स्रोतका अनुसार, हमासले हालै हस्तान्तरण गरेको शव विपिनकै भएको डीएनए परीक्षणबाट प्रष्ट भएको छ।
स्रोतका अनुसार, विपिनको प्राकृतिक मृत्यु नभई हत्या गरिएको पुष्टि भएको छ। उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत सैनिक अस्पताल पुर्याई डीएनए परीक्षण गरिएको थियो।
तर यसबारे नेपाली दूतावासले अझै औपचारिक जानकारी दिएको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म औपचारिक विवरण प्राप्त नभएको बताएका छन्।
स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई डीएनए परीक्षणको आधिकारिक प्रतिवेदन बुझाइनेछ, त्यसपछि मात्र यसबारे औपचारिक सार्वजनिक घोषणा गर्ने तयारी भइरहेको छ।
कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा अध्ययनको सिलसिलामा इजरायल पुगेका बेला हमास लडाकू समूहले किबुत्ज क्षेत्रमा आक्रमण गर्दा बन्धक बनाएका थिए। उक्त घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले साथमा लिएर गएका थिए।
इजरायल र हमासबीच युद्धविराम भएपछि गत मंगलबार बिहान मात्रै इजरायली सेनाले विपिनको मृत्यु भएको पुष्टि गर्दै औपचारिक जानकारी दिएको हो। बन्दीहरू फिर्ता गराउने क्रममा हमासले विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो।

0 comments:
Post a Comment