तिहारको पाँचौँ दिन गाई पूजा गरिँदै

 

🗓️ कार्तिक ५, २०८२ | काठमाडौं

📊 Shares: 788 | Views: 7,697

तिहारको पाँचौँ दिन आज देशभर गाईको पूजाआजा गरी श्रद्धा र भक्तिसाथ मनाइँदैछ। वैदिक सनातन परम्पराअनुसार कार्तिक शुक्ल प्रतिपदा, अर्थात् यमपञ्चकको अन्तिम दिन, गाईलाई पवित्र प्रतीकका रूपमा पूजिने चलन छ।

गाईलाई वैदिक धर्ममा गौमाता का रूपमा सम्मान गरिन्छ। गाईले दिने दूध आमाको दूधजस्तै पौष्टिक हुने र यसको सेवनले जीवनमा शुद्धता र शक्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। साथै, स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गरी दूध, गहुँत र गोबरमार्फत मानव शरीरमा सकारात्मक प्रभाव पार्ने आधुनिक वैज्ञानिक प्रमाण पनि प्रस्तुत गरिन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपापका अनुसार,

“औँसीको अन्त्य र प्रतिपदाको आरम्भमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता हो। कतिपय ठाउँमा कार्तिक कृष्ण औँसीमै गाई पूजा गर्ने चलन रहे पनि वैदिक परम्पराअनुसार आजको दिन मुख्य रूपमा गाईको पूजाको लागि उपयुक्त मानिन्छ।”

गाईको पूजा गरी मीठा परिकार अर्पण गरेमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ। हिन्दू धर्मावलम्बीहरूले गर्ने हरेक धार्मिक कर्ममा गाईदानको विशेष महत्त्व रहन्छ। गाई उपलब्ध नभएमा प्रतीकस्वरूप पैसा वा अन्न दान गर्ने प्रथा पनि प्रचलित छ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिन्छ। साथै, आजको दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँध्ने परम्परा पनि रहेको छ। धार्मिक मान्यताअनुसार, यसो गरे मृत्युपश्चात् गाईले आत्मालाई वैतरणी नदी पार गराइ स्वर्ग पुग्न सहयोग गर्छे भन्ने विश्वास छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment