मेची प्रादेशिक अस्पताल भद्रपुरमा चोर भएको छ । अस्पतालमा काम गर्ने कर्मचारीको मिलेमतोमा लाखौँको सामान चोरी भएको हो ।
वर्षौँदेखि अस्पतालबाट विभिन्न सामान हराउँदै गएपछि प्रहरी अनुसन्धानका क्रममा अस्पतालकै कर्मचारीको मिलेमतोमा चोरी भइरहेको खुलेको हो । त्यस क्रममा अस्पतालमा काम गर्ने स्वीपर भद्रपुर नगरपालिका १० का ३० वर्षीय सुरज जमदारको मिलेमतोमा चोरी गर्ने भद्रपुर-६ का ३७ वर्षीय रञ्जित घोष र मेचीनगर ७ का २८ वर्षीय विश्वनाथ राजवंशीसमेत पक्राउ परेका छन् ।
कात्तिक ३ गते अन्दाजी दिउँसो २ बजे प्रादेशिक अस्पताल भद्रपुरको पुरानो भवनको सर्किजल वार्डको बाहिरी भागबाट किचन गाईनो वार्डको ओपिटी हुँदै ओट बाहिरसम्म अक्सिजन सप्लाई गर्न जडान गरेको तामाको पाइप चोरी गरिएको थियो । त्यस घटनाको अनुसन्धानको क्रममा घोष आज पक्राउ परेका हुन् । त्यस्तै कात्तिक १८ गते अन्दाजी दिउँसो १ः३० बजे प्रादेशिक अस्पतालको गाइनो वार्डको पहिलो तलाबाट अक्सिजनको पाइप स्वीपर जमदारले चोरी गरिरहेको अवस्थामा त्यस कार्यालयको सिसिटिभी फुटेजमा देखिएको थियो । सोही प्रमाणको आधारमा जमदारलाई हिजो पक्राउ गरिएको हो ।
त्यस्तै कात्तिक २२ गते राति अन्दाजी ११ बजे प्रादेशिक अस्पतालको औषधी स्टोर रुमभित्रबाट राजवंशीले मेथाडोल नामक झोल औषधी चोरी गरेका थिए । सिसिटिभी फुटेजको प्रमाणको आधारमा राजवंशीलाई हिजो पक्राउ गरिएको हो ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा उनीहरूलाई जिल्ला अदालतबाट आज पहिलो पटकलाई ५ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । खड्काले उनीहरूबाट ३ केजी तामाको पाइप बरामद भएको जानकारी दिएका छन् ।

0 comments:
Post a Comment