नयाँ शैलीमा मानव बेचबिखन, नियन्त्रणमा चुनौती

कञ्चनपुर, १३ पुस ।
AI द्वारा बनाइएकाे सांकेतिक फाेटाे


भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताका कारण कञ्चनपुर मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिमयुक्त क्षेत्र बन्दै गएको छ। मुख्य नाका गड्डाचौकी मात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा मानव बेचबिखन नियन्त्रणमा थप चुनौती देखिएको छ।
समयक्रमसँगै मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभयो।
गरिबी, बेरोजगारी, सीपको अभाव र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त तथा चिनजानकै व्यक्तिको संलग्नता मानव बेचबिखनको मुख्य चुनौती बन्दै गएको उहाँको भनाइ छ। खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा हुने ढिलाइका कारण मानव बेचबिखन नियन्त्रण प्रभावकारी हुन नसकेको संयोजक भट्टले उल्लेख गर्नुभयो।
“पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढाएको छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय तस्करहरूले मोटरसाइकल र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन्।”
मानव बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ। यसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको माइती नेपालले जनाएको छ।
पछिल्लो एक वर्षमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार (रोकथाम) गरिएको छ। माइती नेपालको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन्।
उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४ जना, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन्।
उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन्। जिल्लागत रूपमा कञ्चनपुरका १००, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका ८ जना रहेका छन्।
पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ। सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ।
पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली र हैदरावादलगायत सहरबाट ८ बालिका र २ महिलाको उद्धार गरिएको छ। यस अवधिमा माइती नेपालमा १८९ वटा खोजतलास निवेदन दर्ता भएका छन्, जसमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ। खोजतलास निवेदन परेकामध्ये १६३ जना सुदूरपश्चिम प्रदेशकै नागरिक रहेको जनाइएको छ।
मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरिएको छ। यस क्रममा ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ। साथै २२७ जनालाई मनोसामाजिक परामर्श, २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ भने ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ।
समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि तथा यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको संयोजक भट्टले जानकारी दिनुभयो। प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चारवटा र मानव बेचबिखनसम्बन्धी एकवटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन्।
खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको माइती नेपालको निष्कर्ष छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment