मोरङमा हवाई फायर गरी गाँजा तस्करीमा संलग्न दुई भारतीय पक्राउ

 मोरङ, १३ पुस ।

AI बाट बनाएकाे संकेतिक तस्विर 

मोरङमा प्रहरीले हवाई फायर गरी गाँजाको ओसारपसार तथा कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति नेपाल–भारत सीमा क्षेत्र नजिक गाँजा भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जहदा गाउँपालिका–२ तारिगामास्थित सीमा क्षेत्र नजिकबाट करिब ३ सय ३० किलो गाँजा सहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको अररिया चन्दामोहन निवासी २४ वर्षीय अबुल हसन३० वर्षीय सोहेल खान रहेका छन्।

नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा टाउकोमा गाँजाको बोरा राखेर भारततर्फ लैजाने तयारी भइरहेको थियो।

प्रहरीलाई देख्नासाथ तस्करहरू गाँजाको बोरा फालेर भाग्न खोजेपछि नियन्त्रणका लागि प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। हवाई फायरपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो। गोली कसैलाई नलागेको प्रहरीले स्पष्ट पारेको छ।

पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको एसपी कटवालले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छल्दै नेपाल–भारत सीमा क्षेत्र नजिक भण्डारण गरी भारत लैजाने गिरोह सक्रिय रहेको छ। भारतमा गाँजाको मूल्य नेपालभन्दा दोब्बर पर्ने भएकाले तस्करी बढेको प्रहरीको भनाइ छ। सीमा क्षेत्रमा लागुऔषध कारोबार नियन्त्रण गर्न निगरानी र कारबाही थप कडा बनाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment