बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु



झापाको बिर्तामोडमा दम्पती सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-४ निवासी ३२ वर्षीय खगेन्द्र मगर रहेको प्रहरीले जनाएको छ ।
आज साँझ ७ः५० बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका-५ सिटी सेन्टर नजिकै बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर नष्ट भएको) मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मगर र सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती २५ वर्षीय सुकमाया तामाङ गम्भीर घाइते भएका थिए । दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा मोटरसाइकल चालक मगरको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगो नियन्त्रणमा लिएको छ । ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment