भेषराज आचार्य : इलामको भरोसा, देशको आशा !

८ फाल्गुन २०८२, 


इलाम : इलाम क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार भेषराज आचार्य गत शनिबार माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजार पुग्दा मतदाता उत्साहित देखिए । त्यसो त नेता आचार्य जहाँ–जहाँ पुग्छन् त्यहाँ–त्यहाँका मतदातामा उत्साह देखिइरहेको छ । उनीहरूको एकै स्वर छ– ‘यसपटक भेषराज आचार्यलाई जिताउनुपर्छ ।’
उनको पक्षमा उभिने हजारौं इलामेलीमध्ये एक हुन् माङमालुङ बजारका हरि सिप्तुङ्खा राई । उनी दलीय हिसाबले कांग्रेस होइनन् । तापनि यसपटक आचार्यले जितोस् भन्ने चाहना राईको छ । ‘हाम्रो भेषराज सरलाई धेरैभन्दा धेरै शुभकामना । एकदम उहाँले जितेर जानुहुनेछ र यो ठाउँलाई, यो बाटोलाई विशेषतः एक नम्बर फोकस गर्नुहुनेछ’, उनी भन्छन्, ‘र हाम्रो माङसेबुङ गाउँपालिकामा विभिन्न धार्मिक स्थलहरू छन् । यो कुरालाई पनि उहाँले हेर्नुहुनेछ ।’
एमाले नेता सुवास नेम्बाङले लगातार पाँचपटक (२०५६, २०६४, २०७०, २०७४ र २०७९) जिते पनि दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) तीन दशकसम्म अलपत्र रहेकामा उनीसहित स्थानीयवासी चर्को असन्तुष्टि व्यक्त गर्छन् । एमालेमा त्यही असन्तुष्टिका कारण यसपटक विद्रोहसमेत भएको छ । धेरै जना अन्य दलमा लागेका छन् ।
‘यो माङमालुङ एउटा धार्मिक तथा पर्यटकीय स्थल ओझेलमा पर्नुको कारण के त ? यहाँ पाँच–६ पटक जित्दै गर्दाका हाम्रा सांसदज्यूहरूले के हेर्नुभयो ?’, उनको प्रश्न छ, ‘खोइ कहाँ रह्यो बाटो मेन त ? हामी बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हिँड्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण यहाँका जनता एकदमै चिढिएका छन् । सुवास नेम्बाङ र उहाँका पुत्र सुहाङ नेम्बाङले जित्दै गर्दा के प्रगति भयो त ? उहाँहरूलाई प्रश्न सोध्न हामी तयारी छौं । ताकि उहाँहरूको जवाफदेहिता के त ? के कारणले बनेन भन्ने कुरा उहाँहरूले भन्नै पर्छ ।’
यस्तो प्रश्न माङमालुङका बासिन्दाको मात्र होइन, इलाम २ का अधिकांश मतदाताको हो । किनकि, पूर्वसभामुख नेम्बाङले आफ्नो निर्वाचन क्षेत्रलाई ‘इलामको कर्णाली’को संज्ञा दिए । उनको पालासम्म यो क्षेत्र सुगम बन्न सकेन । बनेका सडकको स्तरोन्नतिसम्म हुन सकेन । इलामको पूर्व–पश्चिम पर्यटनलाई जोड्ने काम भएन । दमक–चिसोपानी र राँके–रवि–भेंडेटार सडकले जोड्न सकेको भए जिल्ला सदरमुकाम कोल्टो पर्ने थिएन । नेम्बाङले इलाम बजार कोल्टो पर्दै छ भने पनि त्यसको समाधान दिएनन् ।
आचार्यलाई यसपटक जिताएर पठाउँदा जनताले को ठीक र को बेठीक भनेर छुट्याउने राईको बुझाइ छ । ‘भेषराज सर कांग्रेसबाट वर्षौंदेखि लडिराख्नुभएको छ । उहाँको योगदानलाई पनि हामी हेर्न चाहन्छौं’, उनी भन्छन्, ‘नेपालमा जहाँ जुन किसिमको राजनीतिक परिवेश बिग्र्या छ कि एउटै मान्छेलाई दसौं पटक ल्याउनुपर्ने, जति पटक ल्याइराख्नुपर्ने प्रवृत्तिले गर्दा नेपालको राजनीति नै खत्तम भको छ ।’
आचार्यले यसपटक जित्नेमा विश्वस्त छिन् माङसेबुङ गाउँपालिकाकै जुनु माखिम । उनी उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । ‘आशीर्वाद छ । यस पालि त जित्नुहुन्छ’, माखिम भन्छिन् । इलाम नगरपालिकाका मतदाता यामबहादुर भुजेललाई आचार्य असल नेता लाग्छ । ‘हाम्रो गाउँको नेता हो कि असल मान्छे । उहाँलाई जिताउनै पर्छ’, उनी भन्छन् ।
देउमाई नगरपालिका–७ सिद्धिथुम्काका उद्धिमबहादुर लिम्बू आचार्य राजनीतिमा कटिबद्ध र अत्यन्तै जुझारु राजनीतिज्ञ भएको बताउँछन् । जसो गरेर भए पनि यो चुनावमा जिताउनुपर्ने उनको भनाइ छ । ‘युवादेखि वृद्धसम्म, जेन–जी केटाहरू, महिला–पुरुष सबैलाई म अनुरोध गर्न चाहन्छु’, उनी भन्छन्, ‘सात दशक उकालो लाग्ने यो वृद्ध बाबैको भनाइ सबैले उम्मेदवार भेषराज आचार्यलाई जिताउन हुन सादर अनुरोध गर्दछु ।’
माई नगरपालिकाका जेन–जी रूपेश राई आचार्यलाई जिताउन लागेका छन् । देउमाई नगरपालिका–९ अम्लाबुङका जेन–जी पनि आचार्यकै पक्षमा लागिपरेका छन् । ‘भेषराज आचार्यचाहिँ यस क्षेत्रको यस भूगोल जानेको–बुझेको, यहाँको हरेक जनताहरूको समस्या, हरेक ठाउँको समस्याहरू बुझ्‌नुभएको हुनुहुन्छ’, सबैको एकै स्वर छ, ‘यहाँको गरिब–दुःखीहरूलाई सहयोग गर्नुभएको, सँगसँगै विभिन्न संघसंस्थामा सहयोग गर्नुहुने एकदम सहयोगी उम्मेदवार हामीले पाएका छौं । उहाँ इलामलाई दिगो विकास दिन सक्ने उम्मेदवार हुनुहुन्छ ।’
कांग्रेस मात्र होइन, अरू पार्टीका कार्यकर्ताले पनि मन पराएका नेता हुन् आचार्य । जसले असल, बौद्धिक, इमानदार, निष्ठावान् र भरोसा गर्न योग्य राजनीतिज्ञको पहिचान बनाएका छन् । इलामको माटोमा जन्मिएर इलामकै माटोमा हुर्किएका कुशल संगठक आचार्य क्षेत्र नम्बर २ लाई पहिलो प्राथमिकतामा राखेर कांग्रेसमार्फत राजनीतिमा क्रियाशील छन् ।
आचार्य बाल्यकालमै अर्थात् २०३३ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भए । जनमत संग्रहमा सक्रिय सहभागिता जनाए । २०४२ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य बने । २०४८ सालमा महाधिवेशन प्रतिनिधि सदस्य बने । त्यसयता महासमिति सदस्यसहित पार्टीका विभिन्न पदको पदीय भूमिका कुशलतापूर्वक निर्वाह गरे । उनी करिब चार दशकको राजनीतिक यात्रामा इलामका लागि भरोसा योग्य निर्विकल्प राजनीतिज्ञ बनेका छन् । जिल्लावासीले भरोसा गर्छन् । देशले आशा गर्छ । जो जिम्मेवार छन् । परिपक्व छन् र नैतिकवान् पनि छन् ।


उनै नेता पहिलो पटक २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए । उनले आफू पराजित भए पनि जनताको घरदैलोमा पुगी सुख–दुःखमा साथ दिँदै आइरहेका छन् । तर, उनी गाउँ–गाउँ र टोल–टोल घुमेको विषय प्रचारबाजी गर्दैनन् । सस्तो लोकप्रियताको पछि लाग्दैनन् । समुन्नत इलाम र समुन्नत इलामेलीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लागिपरेका छन् । आचार्य प्रतिनिधिसभा सदस्य बने इलाममा समुन्नतिको बाटो खुल्ने मतदाताको विश्वास छ । उनले तब मतदाताका अपेक्षा पूरा गर्नेछन् ।
आचार्यले गत शनिबार माङमालुङलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्नेलगायत प्रतिबद्धता जनाए । ‘मेरो प्रतिबद्धता यो फाल्गुनन्द सडक निर्माण गर्ने हुनेछ । यसलाई पक्की बनाउने हुनेछ । हामी त्यसमा लाग्नेछौं’, उनले भने, ‘लागेको ठेक्का पनि यसको तोडिएको छ । त्यसबारेमा केही विवादहरू भएका छन् । केही पत्रकारलाई यसै विषयले धम्की पनि दिइएको छ । यस्तो कुराहरू आएका छन् । यस्तो नहोस् । शान्तिपूर्ण रूपमा कामहरू होऊन् । समृद्ध नेपाल होस् । समृद्ध इलाम होस् । समृद्ध माङमालुङ होस् । इलामको पश्चिम क्षेत्र समृद्ध होस् भन्ने चाहन्छु ।’
उनीसहित यस क्षेत्रमा १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment