इलाम–२ मा सुहाङको ‘एक्सन प्लान’

  • तोयानाथ भट्टराई
फागुन १६, २०८२ शनिबार 


इलाम : फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ यतिबेला मतदातासामु मत माग्न व्यस्त छन् । उनी गाउँगाउँमा पुगेर निर्वाचनपछि आफूले गर्ने कामको फेहरिस्त सुनाएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।  
पेशाले कानुन व्यवसायी सुहाङका लागि राजनीति विरासत मात्र होइन, एउटा ठूलो परीक्षा पनि हो । ‘मुन्धुम ल च्याम्बर्स’ को कानुनी बहस छाडेर इलामको धुलाम्मे सडक र गाउँबस्तीमा भिज्न थालेका सुहाङ अहिले केवल ‘सुवासका छोरा’ मात्र रहेनन्, उनी आफैमा एउटा आशाका पात्र बन्दै छन् ।
२०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा धेरैले यसलाई ‘सहानुभूति’ को मत भनेका थिए । तर, बितेका १६ महिनामा सुहाङले आफ्नो छुट्टै पहिचान बनाउने प्रयत्न गरेका छन् । संसदमा इलामको चिया, कृषि र सडकका मुद्दा उठाउनेदेखि लिएर विपतको समयमा जिल्ला सम्झने जनप्रतिनिधिका रुपमा उनलाई मतदाताले नजिकबाट नियालेका छन् । 
यो चुनावी मैदान सुहाङका लागि यस पटक उति सहज भने छैन । उनको सामुन्ने नेपाली कांग्रेसका पाका र अनुभवी नेता भेषराज आचार्य उभिएका छन् ।  आचार्य, जो विगतमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । आचार्य  यस पटक ‘परिवर्तित राजनीतिक समीकरण’ र आफ्नो लामो सामाजिक सेवाको बलमा नतिजा उल्टाउने दाउमा छन् ।
राजनीतिक समीकरण पनि फेरिएको छ । अघिल्लो उपनिर्वाचनमा सुहाङलाई साथ दिएको माओवादी अहिले आफ्नै उम्मेदवारका साथ मैदानमा छ । यस्तोमा, सुहाङका लागि आफ्नो पार्टी नेकपा (एमाले) को संगठन जोगाउनु र नयाँ युवा मतदातालाई रिझाउनु मुख्य चुनौती छ ।
इलाम–२ का १ लाख १९ हजार बढी मतदाताका लागि यो चुनाव केवल व्यक्ति छान्नका लागि मात्र होइन । यो त ‘अनुभव’ र ‘आशा’ बीचको छनोट पनि हो । सुहाङ आफ्ना बुवाले सुरु गरेका अधुरा सपना पूरा गर्ने र इलामलाई आधुनिक विकाससँग जोड्ने एजेण्डा लिएर हिँडिरहेका छन् । 
नम्र स्वभाव, मिलनसार व्यक्तित्व र मुद्दामा आधारित राजनीति नै सुहाङको अहिलेको मुख्य हतियार बनेको छ । विरासतको आड पाए पनि उनी आफ्नै कर्मले इलामेलीको मन जित्न चाहन्छन् । नेम्वाङले चुनावी अभियानको क्रममा क्षेत्रको विकास, सुशासन र समृद्धिको एजेण्डासहित जनताको आँगनमा पुगिरहेका छन् । उनले इलामलाई ‘ग्लोबल ब्राण्ड’ बनाउने संकल्प लिएका छन् ।  इलामका चिया, बाँस, छुर्पी र अलैंची जस्ता स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना अघि सारेका छन् । 
उनले केचना–कञ्चनजंघा कोरिडोरलाई राष्ट्रिय राजमार्गको रूपमा विकास गर्ने, मेची राजमार्गलाई दुई लेनको बनाउने र सूचना प्रविधिमार्फत नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने र किराँत भाषा तथा संस्कृतिको संरक्षणमा विशेष पहल गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment