इलामसहित देशभर बुधबार साँझदेखि तीव्र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बैशाख १५, २०८३


जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि इलामसहित देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ, असिना तथा वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारी का अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।
विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५ः४५ बजे तथा समाप्त हुने सम्भावित समय बिहीबार बिहान ७ः४५ बजेसम्म रहने जनाएको छ।
पश्चिमी मौसम प्रणाली पूर्वतर्फ सर्दै गएकाले इलाम, झापा, मोरङसहित कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना तथा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, सडक यातायात तथा विद्युत् सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
विशेषगरी किसान, यात्रु तथा खुला स्थानमा काम गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment