सरकारको निर्देशनविपरित झापाका संस्थागत विद्यालयले सोमबारदेखि पठनपाठन सुरु गर्ने


बिर्तामोड । सरकारको निर्देशनविपरित झापाका संस्थागत विद्यालयले आगामी बैशाख १४ सोमवारदेखि पठनपाठन सुरु गर्ने भएका छन् । पठनपाठन सुरु नगर्दा विद्यार्थीको शैक्षिक गतिविधि नै प्रभावित हुने भएपछि आउँदो सोमवारदेखि पठनपाठन सुरु गर्न लागिएको प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीले जानकारी दिए ।
वैशाख १५ देखि भर्ना खोलेर २१ गतेदेखि पठनपाठन सुरु गर्ने सरकारको निर्णयले विद्यार्थीको सिकाई उपलब्धि र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै पठनपाठन सुरु गर्न लागिएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यालय सञ्चालनको वातावरण तयार गरिदिन जिल्लाका स्थानीय तहमा अनुरोध पत्र बुझाइएको थियो । स्थानीय तहले विद्यालय सञ्चालनका लागि सुनुवाई नगरे पछि विद्यालयले पठनपाठन सुरु गर्ने निर्णय लिएका हुन् । शनिवार र आइतबारको छुट्टीपछि विद्यालयमा पठनपाठन सुरु हुन्छ, अध्यक्ष कार्कीले भने – बिदाको समय बर्खे र हिउँदेबाट मिलान गर्दै जानेछौँ ।
झापामा अधिकांश विद्यालयहरूले पठनपाठन नभए पनि विद्यालयमा आवश्यक तयारीको काम गरिरहेका छन् । बैशाख ३ गतेबाटै शिक्षक कर्मचारीहरू नयाँ शैक्षिक शत्रको लागि आवश्यक तयारी गरिरहेको उनको भनाई छ । शिक्षकहरूलाई तालिमदेखि विभिन्न योजना निर्माणमा लाग्नुभएको छ, उनले भने – पठनपाठन नभए पनि विद्यालयहरू खुल्लै छन् । हामी ७ गतेबाटै पठनपाठनको तयारीमा थियौँ ।
पठनपाठन सुरु नभएपछि अभिभावकहरू सोधपुछका लागि विद्यालय आउने क्रम जारी रहेको बताइएको छ । अधिकांश अभिभावकहरूले विद्यालयमा पठनपाठन सुरु गर्न भनिरहेको अध्यक्ष कार्कीको भनाई छ । अभिभावकहरू पनि पठनपाठन सुरु गर्नुपर्ने सुझाव दिइरहेका छन् ।
झापाबाहेक धेरै जिल्लाहरूमा पठनपाठन सुरु भएको बताउँदै अध्यक्ष कार्कीले अब पर्खने अवस्था नरहेको स्पष्ट पारे । लामो समय विद्यार्थीहरूलाई विद्यालय बाहिर राख्न पनि समस्या हुने उनको तर्क छ ।
वैशाखको शुल्क के गर्नुहुन्छ भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने, अभिभावकहरू नै शुल्क बुझाउन तयार हुनुहुन्छ । १२ महिनाको शुल्क लिएर शिक्षकलाई १३ महिनाको तलब सुविधा उपलब्ध गराउनुपर्छ । नेपाल सरकारको नियम बमोजिम अभिभावकहरूबाट शुल्क लिइने अध्यक्ष कार्कीले जानकारी दिए ।
मेचीनगर-१२ स्थित युनिक इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक विष्णुप्रसाद रिमालले पठनपाठन सुरु गर्नुको विकल्प रहेको बताए । उनले सरकारले विना जानकारी आफ्नो योजना सार्वजनिक गर्दा पठनपाठन प्रभावित भएको धारणा व्यक्त गरे ।
रिमालले लामो समय पठनपाठन रोकिदा शैक्षिक क्षेत्रमै समस्या आउने प्रतिक्रिया दिए । शैक्षिक सत्र सञ्चालन पूर्व जानकारी नदिँदा विद्यालय र विद्यार्थीमा अन्योल भएको बताए । उनका अनुसार बालबालिकाहरू विद्यालय आउन नपाउँदा तनावमा पर्न सक्छन् । नियमित पठनपाठन, सार्थी भाइसँगको घुलमिलले विद्यार्थीलाई सक्रिय बनाउने बताए । रिजाल भन्छन्, कोभिडमा लागेको मोबाइलको लत बल्ल छुट्दै थियो । यस्तै, समय रहिरहने हो भने फेरि उस्तै होला भन्ने पिर छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment