झापा, अर्जुनधारा–८ कुशलचोक नजिकै भएको सामान्य भनिएको विवाद अन्ततः एक युवतीको ज्यान जाने घटनामा परिणत भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र वहादुर खड्काका अनुसार स्थानीय २९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएपछि स्थानीय समुदाय स्तब्ध बनेको छ भने घटनाले मदिरा सेवनपछि हुने हिंसात्मक व्यवहारमाथि पुनः प्रश्न उठाएको छ ।
प्रहरीका अनुसार वैशाख ४ गते राति करिब ९ः१५ बजे एम्स सेकेन्डरी वोडिङ स्कूलको पश्चिमतर्फ रहेको खुला चौरमा काजल र २४ वर्षीय किरण गौतम मदिरा सेवन गरिरहेको अवस्थामा विवाद भएको थियो । विवादको क्रममा किरणले काजललाई धकेलेपछि उनी चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा टाउको ठोक्किन पुगेकी थिइन् ।
रातको समयमा सुनसान रहने उक्त चौरमा चर्को आवाज सुनेपछि केही स्थानीय बाहिर निस्किएका थिए । उनीहरूले काजललाई अचेत अवस्थामा फेला पारेका थिए ।
“टाउकोबाट रगत बगिरहेको थियो, अवस्था निकै गम्भीर देखिन्थ्यो,” एक स्थानीयले बताए । “पहिला सामान्य झगडा होला भन्ने लागेको थियो, तर पछि अवस्था डरलाग्दो देखियो ।”
घटनापछि स्थानीयले तत्काल उपचारका लागि उनलाई नजिकैको शंकर अस्पताल पु¥याएका थिए । त्यहाँबाट अवस्था जटिल भएपछि बिर्तामोडस्थित वीएण्डसी अस्पताल लगिएको थियो । थप उपचारका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर रेफर गरिएकोमा उपचारकै क्रममा बिहान ४ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काजलका श्रीमान यामवहादुर वस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको खुलेको छ । श्रीमान विदेशमा रहेका बेला भएको घटनाले परिवारमाथि गहिरो पीडा थपिएको छ । मृतककी दिदी प्रतिमा भट्टराईले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएकी छन् ।
प्रहरीले घटनास्थलबाटै किरण गौतमलाई नियन्त्रणमा लिएको थियो । उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवैले अत्यधिक मदिरा सेवन गरेको देखिएको छ । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
सामान्य भनिएको धकेलाइले ज्यानै जाने अवस्था सिर्जना भएपछि यो घटनाले समाजमा बढ्दो मदिरा दुव्र्यसन, आवेगपूर्ण व्यवहार र त्यसले निम्त्याउने हिंसाका घटनाबारे पुनः बहस सुरु गराएको छ ।
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा मदिरा सेवनपछि हुने झैझगडा र त्यसबाट निम्तिने गम्भीर अपराधका घटना बढ्दै गएका छन् । विशेषगरी युवापुस्तामा अत्यधिक मदिरा सेवनपछि नियन्त्रण गुमाउने प्रवृत्तिले सामान्य विवादलाई पनि हिंसात्मक मोडमा पु¥याउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

0 comments:
Post a Comment