आगामी तीन दिन भारी वर्षाको सम्भावना, कोशीसहित पाँच प्रदेशमा सतर्कता अपनाउन आग्रह


इलाम, असार १६
– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन–चट्याङ तथा हावाहुरीको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लामा वर्षाको प्रभाव बढी रहने अनुमान गरिएको छ।

आज (असार १६) देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज रातिदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

बुधबार र बिहीबार पनि देशभर मौसम पूर्णतया बदली रहने तथा पहाडी भू-भागका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यी दुई दिन पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशका केही स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम कायम रहनेछ।

महाशाखाले भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, पहिरो र गेग्रान बहाव, तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ। साथै, नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन सबैमा अनुरोध गरेको छ।

विशेषगरी कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभालगायत पहाडी जिल्लाका नागरिकलाई पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment