
AI बनाएकाे संकेतिक तस्वीर
इलाम, असार १४ — इलामको रोङ गाउँपालिका–६ सलकपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति करिब १ बजे वर्षासँगै परेको चट्याङका कारण स्थानीय ८८ वर्षीय कालुविर मोक्तानको मृत्यु भएको हो। चट्याङले उनको घरको बरन्डामा लाग्दा टाउको र पेटमा गम्भीर जलन भएको अवस्थामा उनी मृत फेला परेका थिए। घटनाका क्रममा घरमा जडान गरिएको विद्युत् मिटर बक्स समेत जलेको प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब ८:३० बजे मृतकका नाति लेखराज मोक्तानले बरन्डामा उत्तानो परेको अवस्थामा हजुरबुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी जिर्मले घटनाबारे जानकारी गराएको र प्रहरी टोली तत्काल घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रविण जोशीको कमाण्डमा SOCO अधिकृतसहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
मौसम प्रतिकूल भएका बेला सुरक्षित स्थानमा बस्न, खुला स्थान, रुखमुनि वा घरको बरन्डामा नबस्न तथा विद्युतीय उपकरणबाट सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
0 comments:
Post a Comment