सुपारीखेतीतर्फ आकर्षित हुँदै इलामका किसान

रासस
२०८३ जेष्ठ २५ गते , सोमबार


इलाम । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।
माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गरे‍का छन् । “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु”,उनले भने, “प्रतिकेजी रु ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।”
एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकाले व्यावसायिक सुपारीखेतीबाट मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ । राई सानाठूला गरी करिब पाँच हजार बोट सुपारी रोप्नुभएकामा अधिकांश बोटले आम्दानी दिन थालिसकेका छन्।
अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको सुनाए। केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकाले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए। 
पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाउनुभएको छ भने थप बोट रोप्ने तयारी गरेका छन्। “अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले व्यावसायिक तवरले सुपारीखेती सुरु गरेको हुँ”, उनले भने, “बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन । व्यापारीहरूले बगानबाटै प्रतिकेजी रु ७० सम्ममा किनैर लैजाने गरेका छन् ।”
सुपारीखेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको अर्का किसान पवन किरातीले बताए । “मैले करिब आठ हजार बोट रोपेको छु । केही बोटबाट आम्दानी हुन थालेको छ”, उनले भने, “यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घरखर्च टार्न सहज भएको छ ।”
किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कंदै गरेका छन् । “‘बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ । यसले क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएकाले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदासमेत लिन सकिन्छ”, उनले भने।
अर्का किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभान्वित भएको बताए।
पछिल्लो समय इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment