पाँचथरको हिलिहाङमा एउटै वडाका ६० घर पहिरोको जोखिममा

रासस


पाँचथर । अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन्। यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ-५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो। 
पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ। उनीहरुलाई अन्यत्र बसोबासको व्यवस्था गरी राहत वितरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिए। यस्तै नगेन्द्र ओझा, गोपाल गजमेर, किरण खुदाङ र सुष्मा माबोको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ। 
 
पहिरोका कारण यहाँ रहेको मृदङ्गा झरना विद्यालयसमेत जोखिममा छ। बाढी पहिरोका कारण यस वडाका सबै सडक क्षतिग्रस्त बनेका छन्। खानेपानीका योजनासमेत अवरुद्ध भएका छन् । मुहानमा क्षति पुग्दा ६ सिँचाइ योजना र पाँच खानेपानी योजना अवरुद्ध छन् । हिलिहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष  २०८३/८४ को नीति तथा कार्यक्रममा विपद्का कारण क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि कार्यक्रम तय गरेको गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए। 
यसैगरी बाढी पहिरोले अलैँची खेतीमा क्षति पुर्‍याउँदा कृषक मारमा परेका छन्। बालीनाली तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुहाङले बताए। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment