माइजोगमाईको लेकाली क्षेत्रमा दुर्लभ हिमाली कालो भालु देखियो


 इलाम, साउन ८ — इलामको माइजोगमाई गाउँपालिका–६ र वडा नं. २ को सीमावर्ती क्षेत्रस्थित थुम्के रिसोर्ट नजिक समुद्री सतहदेखि करिब २,५०० मिटर उचाइमा दुर्लभ तथा संकटापन्न हिमाली कालो भालु (Himalayan Black Bear) देखिएको छ।

आज बिहान करिब ६:४५ बजे मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष एवं वन्यजन्तु फोटोग्राफर देवेन खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्वल खवास ले अध्ययन तथा खोज अनुसन्धानका क्रममा उक्त भालुलाई प्रत्यक्ष अवलोकन गर्दै क्यामरामा कैद गर्न सफल भएका हुन्।

खरेल र खवास विगत दुई दिनदेखि सो क्षेत्रमा चरा तथा वन्यजन्तुको खोज, अध्ययन तथा अभिलेखीकरणमा संलग्न छन्। हिमाली क्षेत्रमा पाइने कालो भालुको प्रत्यक्ष अवलोकन र तस्बिर कैद हुनु इलामको जैविक विविधता तथा वन्यजन्तुको उपस्थितिको महत्वपूर्ण प्रमाण भएको खरेलले बताए।

हिमाली कालो भालु नेपालका पूर्वदेखि पश्चिमसम्मका वन क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हो। यो विशेषगरी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, लाङटाङ क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, धौलागिरि लगायतका मध्य तथा उच्च पहाडी वनमा बसोबास गर्ने गर्छ।

सामान्यतया १,५०० देखि ४,००० मिटर उचाइसम्मका वन क्षेत्रमा पाइने यो प्रजाति गर्मीयाममा माथिल्लो क्षेत्रमा र जाडोयाममा तल्लो क्षेत्रमा झर्ने गर्दछ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले हिमाली कालो भालुलाई संकटापन्न (Vulnerable) सूचीमा समावेश गरेको छ।

सार्वजनिक गरिएका तस्बिरहरू फोटोग्राफर देवेन खरेलले आफ्नो क्यामरामा कैद गरेपछि क्यामराको स्क्रिनबाट मोबाइलमार्फत पठाइएका प्रारम्भिक तस्बिरहरू रहेको जनाइएको छ। उच्च गुणस्तरका विस्तृत तस्बिर भने पछि सार्वजनिक गरिने खरेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment