मोरङको धनपालथान गाउँपालिका–३ स्थित पोखरीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान–३ का जोगन मुर्मूकी १२ वर्षीया छोरी जेविना मुर्मू रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार जेविनाको आफ्नै घरबाट करिब ४ सय मिटर पर रहेको पोखरीमा डुबेर मृत्यु भएको हो । ४–५ जना साथीहरूसँग खेल्दै जाने क्रममा जेविना धनपालथान–३ स्थित दिनेश मण्डलको पोखरीमा डुबेकी थिइन् ।
उनी पोखरीमा डुबेपछि उनीसँगै रहेका साथीहरूले स्थानीयलाई जानकारी गराएका थिए । त्यसलगत्तै स्थानीय बासिन्दाले जेविनालाई पोखरीबाट बाहिर निकालेर घर लगेका थिए । घटनाको जानकारी पाएर प्रहरी टोली घटनास्थल पुग्दा बालिकाको शव घरमै रहेको पाइएको थियो । स्थानीयले पोखरीबाट शव निकालेर घरमा लगेको प्रहरीले जनाएको छ ।
त्यसपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

0 comments:
Post a Comment