रेडपाण्डा प्रजनन्को समयमा पर्यटकलाई प्रतिबन्ध
इलाम १८ साउन
इलाम र भारतको सीमा क्षेत्रमा अवस्थित सिंहलीला नेशनल पार्कले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । यो समयमा रेडपाण्डाको प्रजनन हुने र बच्चा मर्ने डरले पार्कले तीन महिनाका लागि पर्यटक आवागमनका साथै यातायात आवतजावतमा प्रतिबन्ध लगाएको हो ।
पार्कले जुन १५ देखि सेप्टेम्वर १५ तारिखतारिखसम्मका लागि आवतजावत प्रतिबन्ध लगाएको जनाएको छ । इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेशनल पार्क क्षेत्र भित्रको पदमार्गमा पर्यटक हिड्डुलमा प्रतिबन्ध लगाएको रेडपाण्डा क्षेत्रमा क्रियाशील इलामका फिञ्जु शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङ्गदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलकका सयौं पर्यटक आवतजावत गर्दै आएका थिए । नेशनल पार्कले तीन महिनासम्मका लागि पदमार्गमा प्रतिबन्ध लगाएपछि ट्रेकिङमा हिडेका पर्यटक समस्यामा परेको समेत उहाँले जनाउनुभयो । 
दुलर्भ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरूङ्गीको यही समयमा प्रजनन र यौन क्रियाकलाप हुने र मानवीय क्रियाकलापबाट गम्भीर असर पुग्ने भएकाले पार्कले हरेक वर्ष तीन महिनाका लागि प्रतिबन्ध लगाउने गरेको छ, भन्नुहुन्छ फिञ्जु शेर्पा । पार्कले सूचना टाँस गरी तुम्लिङ–फालौट क्षेत्रको ४२ किलोमिटरमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ । पर्यटकको हल्लाले वन्यजन्तुको प्रजनन र यौन क्रियाकलापमा बाधा पुग्ने भएकाले यस समयावधिभर आवतजावत बन्द गर्ने गरेको सीमा क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् । 
पर्यटक आवागमन बन्द भएपछि पर्यटकीयस्थल सन्दकपुरमा पर्यटकको समेत चहलपहल कम हुन थालेको छ । नेशनल पार्कले  प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवगमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैंयाकट्टा, कालपोखरी, विर्खभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् । कञ्चनजङ्घा, सगरमाथालगायतका हिमश्रृङ्खला, लालीगुराँस, लोपउन्मुख जडिबुटी हिमाली जीवनशैली अवलोकन गर्न सकिने सीमावर्ती नेपाली पर्यटकीयस्थल विकासको अभावमा पार्कको प्रतिबन्ध खेप्न बाध्य भएको हो । 
त्यस्तै गरी उत्तरी इलामको जमुनास्थित चोयाटार सामूदायिक वनले पनि रेडपाण्डाको प्रजनन समयमा तीन महिनाका लागि पर्यटकलाई प्रतिबन्ध लगाएको स्थानीय उमेश गुरूङले जानकारी दिनुभयो । जिल्लाका जोगमाई, माईमझुवा, मावु, जमुना, पुवामझुवा, माईपोखरी र प्याङका डेढ दर्जन बढी सामूदायिक वनमा ३० देखि ४० को सङ्ख्यामा रेडपाण्डा रहेको शेर्पा बताउनुहुन्छ । आगामी वर्षदेखि रेडपाण्डा पाईने सबै सामूदायिक वनमा रेडपाण्डाको प्रजनन समयमा पर्यटकलाई प्रतिबन्ध लगाउने तयारी भईरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment