माईपोखरी संरक्षणका लागि ६५ लाखको कार्यक्रम
पानीको सतह घट्दै गएको माईपोखरीमा वन मन्त्रालयअन्तर्गतको बहु सरोकारवाला वन कार्यक्रमको सहयोगमा द इष्ट फाउण्डेसन (टीईएफ) नामक संस्थाले माईपोखरी रामसार क्षेत्र संरक्षण सम्बन्धी परियोजना (ब्यूल्डिङ क्लाइमेट रेजिलेन्स कन्जरभेसन इन माईपोखरी रामसार साइड एण्ड इट्स सराउडिङ वेटलेण्डस्) सञ्चालन गर्ने भएको छ ।
टीइएफका कार्यकारी निर्देशक खगेन्द्र सङ्गमले ६४ लाख ६६ हजार बराबरको सो परियोजनाका बारेमा इलाममा जानकारी गराउनु भएको छ । परियोजनामा बहु सरोकारवाला वन कार्यक्रमअन्तर्गतको सेवा सहयोग इकाईको ४८ लाख एक हजार सहयोग रहनेछ । त्यस्तै जिल्ला विकास समितिको चार लाख १० हजार, जिल्ला वन कार्यालयको तीन लाख तीस हजार, माईपोखरी धार्मिक वन समूहको ५० हजार र टीईएफको आठ लाख ७५ हजार बराबरको सहभागिता रहने जनाइएको छ ।
परियोजनाले माईपोखरी रामसार क्षेत्र ब्यवस्थापन योजनाको प्रत्यक्ष समन्वय तथा अनुगमनमा कृयाकलापहरु गर्ने जनाइएको छ । परियोजनाअन्तर्गत पोखरीको फोहोर फाल्ने, गैर रैथाने माछा हटाउने, विश्वभरमै माईपोखरीमा मात्रै पाइने गलैँचे झ्याउ बृद्धि गर्ने, जलसतह बृद्धि गर्ने, सीमसार र जलवायु परिवर्तनसम्बन्धी सचेतना जगाउने कामहरु गर्नेछ ।
त्यस्तै सीमसारमैत्री प्राङ्गारिक खेती, वन नर्सरी, आयातित बनस्पति बिस्थापन, सूचना तथा पर्यटन केन्द्र स्थापना, भ्यू प्वाइण्ट निर्माण, पर्या पर्यटन प्रवद्र्धन, सीमसार नक्शाङ्कन लगायतका काम परियोजना अन्तर्गत गरिने बताइएको छ ।
0 comments:
Post a Comment