हरियोले भरियो इलाम
इलाम/इलाम नगरपालिका– २ किशोर सिंहले धान उत्पादन हुदै आएको खेतमा  रङकाठ टिकका २५ सय विरुवा रोपेका छन् । एक सय मुरी धान उत्पादन हुदै आएको गोदक –३ स्थित खेतमा खेती गर्ने मान्छे
नपाएपछि सिंहले बिरुवा रोप्न शुरु गरेका हुन् । धान र मकै खेती गरिदै आएको खेत बाँझै हुने भएपछि भारतको देहरादुनबाट टिकका बिरुवा मगाएर रोपेको उनले बताए । ‘चार लाख रुपैयाँ खर्च गरेर २५ सय विरुवा रोपेको छु । उनी भन्छन्– तीन वर्ष भित्रमा पुरै खेतमा १० हजार विरुवा रोप्ने सोच रहेको छ ।’ एक विरुवाको एक सय ३० रुपैयाँमा खरिद गरेर रोपेको टिक अहिले गोड्ने बेला भएको सिंहले बताए । ‘रोपेका सबैजसो विरुवा सरेका छन् । उनी भन्छन्–२५ सय बिरुवामध्ये १० प्रतिशत मात्रै मरेकाले उत्साहित छु ।’ १० देखि १३ वर्षसम्ममा बिक्रि गर्नमिल्ने टिक सखुवाको मूल्यमा बिक्रि हुने गरेको उनले बताए । सिद्धिथुम्का– ३ का तेज बहादुर न्यौपानेले पनि खेतबारीमा विभिन्न जातका सयौँ विरुवाको वृक्षारोपण गरेका छन् । २०४६ सालमा उजाड भएका खेतबारी र भिराला जग्गाहरु अहिले बोटविरुवा हुर्किएर हरियो भएको उनले बताए । उत्तिस, मलातो, खयरका विरुवा खेतबारीमा लगाएको उनी बताउँछन् । न्यौपानेले चार रोपनी जमिनमा जडिबुटी, फलफुल र विभिन्न जातका रुख विरुवाको नर्सरी समेत स्थापना गरेका छन् ।
खाध्यबालीको तुलनामा रुख बिक्रिबाट आम्दानी राम्रो हुन थालेपछि किसानले आफ्नो जग्गामा कु–काठ जातका विरुवा रोप्दै आएका छन् । रुख रोप्दा भु–क्षय ,पहिरो नियन्त्रण हुनुका साथै रोपिएको १० वर्ष पछि आम्दानी समेत राम्रो हुने भएकाले किसान रुख विरुवा रोप्नमा आकर्षित भएको जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले बताए । निजी जंगलहरु व्यवसायीले राम्रो मूल्य लगाएर खरिद गरेपछि किसानमा रुख विरुवा राप्नुपर्ने चेतना बढेको वन अधिकृत काफ्लेको भनाइ छ । पुराना जंगलहरु बिक्रि भएर खालि भएकाले किसानहरुले विरुवाको माग अत्याधिक गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।‘पुराना जंगल सँगै खालि जग्गामा बिरुवा र  प्राविधिक सहयोगको माग उच्च छ । वन अधिकृत काफ्ले भन्छन्– इलाममा २० लाख बढी बिरुवाको माग छ ।’ किसानले कु–काठ, जडिबुटी र फलफुलका बिरुवाको माग गर्दै आएका छन् । वन कार्यालयमा सबैभन्दा बढी पाउलोनियाका बिरुवाको माग छ । ‘किसानको मागलाई हेर्दा १० लाख पाउलोनियका बिरुवाको नर्सरी आवश्यक छ । बन अधिकृत भन्छन्–‘ उत्तिस, मलाँतो र तेजपातको माग पनि हामिले धान्न सक्ने अवस्थामा छैन ।’ वन कार्यालयमा एक किसानले ६४ हजारसम्म बिरुवाको माग गरेको तथ्याङ्क रहेको छ । १० स्थानका नर्सरीमा करिब चार लाख बिरुवा उत्पादन गरेपनि वितरण भइसकेको साहायक वन अधिकृत सुर्यनारायण चौधरीले बताए । वन कार्यालय पनि सामुदायीक वन र राष्ट्रिय वनमा जडिबुटी तथा वृक्षारोपण कार्यक्रम गर्दै आएको छ । 
नौ वटा सामुदायीक वनमा वृक्षारोपण र सात सामुदायीक वनमा कवुलियती वन समूह गठन गरि जडिबुटी खेती विस्तार वन कार्यालयले गरेको छ । सामुदायीक वनको ६० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको हो । वन कार्यालयको आर्थीक सहयोगमा सामुदायीक वन समूहमा आवद्ध निम्न आय भएका सदस्यहरुको समूह बनाएर जडिबुटी खेती गरिएको छ । कवुलियती वन समुह बनाएर अर्गेली, लोक्ता, चिराइतो,  तेजपात, लौठसल्लाको खेती गरिएको हो । जडिबुटी खेती भएपछि निम्न आय भएका सामुदायीक वनका सदस्य आत्मनिर्भर बनाउने वन कार्यालयको योजना हो । जिल्ला भु–संरक्षण र वनस्पति कार्यालयले पनि बिरुवा उत्पादन गरि वितरण गर्दै आएका छन् । भु–संरक्षण कार्यालयले विरुवा उत्पादन तथा वितरण कार्याक्रम मार्फत वर्षमा ५० हजार बिरुवा वितरण गर्दै आएको छ । जापानिज सल्ला, इपिलइपिल, टाँकी, रक्तचन्दन, सिरिस जातका बिरुवा वितरण गर्दै आएको जिल्ला भु–संरक्षण अधिकृत नागेन्द्र साहाले बताए । 
जडिबुटी र कु–काठका बिरुवा बाहेक कार्यालय फलफुलका बिरुवमा पनि वितरण गर्दै आएको छ । कार्यालयले यसवर्ष ११ हजार फलफुल जातका बिरुवा वितरण गरेको छ । ‘बिरुवाको माग चार लाख भन्दा बढी छ । भु–संरक्षण अधिकृत साहा भन्छन्– किसानले मागअनुसार बिरुवा दिन केन्द्रबाट बजेट थप गरि ठुला नर्सरी स्थापना गर्नुपर्ने देखिन्छ ।’ पहिरो नियन्त्रण, भु–क्षय नियन्त्रण, मुहान संरक्षण, पोखरी संरक्षण, खोला कटान नियन्त्रण जस्ता कार्याक्रम संचालन गर्नुपर्ने भएकाले रुख बिरुवाको वृक्षारोपण कार्यालय आफैले पनि गर्दै आएको भु–संरक्षण अधिकृत नागेन्द्र साहाले बताए । किसानले राष्ट्रिय वन पैदावार व्यवसायी संघको कार्यालयमा पनि किसानले  बिरुवाको माग गर्दै आएका छन् । अघिल्लो साल एक लाख बढी जडिबुटी र कु–काठ जातका बिरुवा वितरण गरेको वन पैदावार व्यवसायी संघले चालु आर्थिक वर्षमा पनि उत्तिस, मलाँतो,चाँप जातका बिरुवा वितरण गरेको छ । आफ्नै नर्सरीबाट किसानलाई जडिबुटी लौठसल्लाका बिरुवा वितरण गर्दै आएको  संघले जनाएको छ । ‘किसानबाट रुखका बिरुवाको माग धेरै छ । वन पैदावार संघका कोषाध्यक्ष हरि पराजुली भन्छन्–‘रुख काटेर बिक्रि गर्ने मात्रै हैन  रुख रोप्ने र जंगल बढाउने अभियानमा पनि छौ ।’ संघले किसानलाई बिरुवा वितरणसँगै विद्यालय, भु–क्षयस्थल, पोहिरो, गुम्बा, धार्मिकस्थल, सिमसार र सार्वजनीक खालि जग्गामा आफ्नै लगानीमा विरुवा रोप्दै पनि आएको छ । 
सार्वजनिक जग्गामा बिरुवा रोप्नका लागि संघले प्रथम उपाध्यक्ष बिक्रम चेम्जुङ्गको संयोजकत्वमा वृक्षारोपण समिति निर्माण गरि ठाउँ छनौटका लागि अधिकार प्रदान गरेको संघका अध्यक्ष पासाङ सेर्पाले बताए । ‘रुख बिरुवा रोप्ने अभियानमा हामि पनि छौ । अध्यक्ष सेर्पा भन्छन्– पेशा रुख काटेर बेच्ने भएपनि जंगल संरक्षण र बढाउनमा हाम्रो अभियान निरन्तर चलिरहन्छ ।’ यो वर्षमा एक लाख विरुवा सार्वजनीक स्थानमा रोप्ने योजना रहेको संघका कार्यलय सचिव संजिव ठाकुरले बताए । नयाँ ठाउँमा विरुवा रोप्ने मात्रै नभएर अघिल्लो साल बिरुवा रोपिएको स्थानको अनुगमन गरि थप गर्ने योजना रहेको ठाकुर बताउँछन् । जडिबुटी सम्बन्धि कार्यक्रम गर्दै आएको जिल्ला वनस्पतिमा कार्यालयमा जडिबुटीका बिरुवाको माग हुने गरेको छ । दानाबारी, जोगमाई र माइपोखरीमा जडिबुटीको नर्सरी स्थापना गरि किसानलाई वितरण गर्दै आएको छ । जडिबुटीका बिरुवाको माग बढ्दै गएपछि दानाबारीमा स्थायी नर्सरी स्थापनाका लागि आवश्यक संरचना निर्माण गरेको वनस्पति कार्यालयका प्रमुख कृष्णराम भट्टराईले बताए । उनी भन्छन्– जडिबुटी खेती विस्तार हुदै आएकाले किसानबाट चिराइतो, लौठसल्ला, तेजपात, कुरीलो जातका जडिबुटीका बिरुवाको माग धेरै छ । ’ पाँचथर, ताप्लेजुङ, रुसुवा, सल्यान लगायतका जिल्लाबाट जडिबुटीका बिरुवाको माग बढी रहेको भट्टराईले बताए । 
निजी क्षेत्रबाट बिरुवाको नर्सरी राख्ने र बिक्रि गर्ने व्यापारीसँग पनि बिरुवाको माग बढी रहेको छ । जडिबुटी, फलफुल र कु–काठ जातका बिरुवा बिक्रि गर्ने देउकुमार राईको घरमा बिरुवा माग गर्ने किसानको भिड दैनिक जसो हुन्छ । नर्सरीबाट आफ्नै घरमा ल्याएर बिक्रि गर्दै आएका राईले अहिलेसम्म २० हजार वटा पाउलोनिया बिक्रि गरेका छन् । पाउलोनिय, टिक, लौठसल्ला, सतुवा, सुगन्दवाल, लिचि, अंगुर रक्तचन्दन जातका बिरुवा बिक्रिबाट राई आम्दानी पनि लिएका छन् । ‘बिरुवाको माग राम्रो छ । उनी भन्छन्–धेरै बिरुवाको माग आएकाले आगामि दिनमा आफै नर्सरी स्थापना गरि बिक्रि गर्छु ।’ सिद्धिथुम्का– ३ का तेज बहादुर न्यौपानेले बिरुवा बिक्रिबाट गतवर्ष मात्रै दूई लाख ५० हजार  आम्दानी गरेको बताए । न्यौपानेले यस वर्ष ५० हजार फुलफुल र जडिबुटी जातका बिरुवा बिक्रि गरि आन्दानी लिने योजनामा छन् । स्थानिय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment