कृषिबाट करोडौंको मालिक
इलाम : 'सन्ताउन्‍न वर्षअघि तीनचार महिना पिँडालु खाएर जीवन गुजारा गरिन्थ्यो', मध्ये दिउँसो चियाबारीमा भेटिएका सूर्योदय नगरपालिका फिक्कल रमिते गाउँका गंगा प्रधानले विगत सम्झिए, 'त्यो बेला सम्झिँदा सपनाजस्तै लाग्छ।' तर, उनले बाबुकै बिँडो थामेर समृद्धिको ढोका खोले र अहिले करोडौंको मालिक बनेका छन्।
चालीस सालतिर बाबुले सुरु गरेको खेतीपातीलाई नै उनले पेसा बनाए। प्रधानका बाबुले तत्कालीन फिक्‍कल गाविस, हालको सूर्योदय नगरपालिका रमिते गाउँलाई कर्मभूमि बनाए। १० जना छाराछोरीलाई आफ्नै मेहनतले पाले। मानबहादुरले १५ सालदेखि झापाको शनिश्‍चरेबाट घोडामा सुर्ती बोकेर भारतको सुकिया पोखरी पुर्‍याउने काम थाले। सुकियाबाट आटा, मैदा बोकेर झापा पुग्दा तीन दिन लाग्ने गरेको थियो। परिवारसँग घरबाट हिँडेका तीन दिनमा मात्र भेट हुने गरेको थियो। उनले यही कर्म गरेर १० जनाको परिवार पालेका थिए।
इलाममा पोलिथिन पाइप प्रयोगमा आउन थालेपछि उनले सिँचाइको उपाय झिके र घोडा खेप्न छोडेर खेतीतर्फ लागे। प्रसंग २०४० सालको हो। मानबहादुर दुग्ध उत्पादनका साथै आलु र अदुवा खेतीतर्फ लागे। परिवार नै कृषिमा लाग्यो। बजारनजिकैको रमिते गाउँको उत्पादनले भाउ पायो। यसले उनीहरूका सुखका दिन सुरु भए। २०४५ सालमा उनी जिल्लास्तरीय उत्कृष्ट किसान बने। उनकै कर्मले उनको परिवारलाई बलियो बनायो। सातजना छोराले अहिले पनि कृषिबाटै बर्सेनि प्रतिव्यक्ति चार लाखभन्दा बढि नाफा आर्जन गर्दै आएका छन्। अहिले सबैको हातमा एक करोडभन्दा बढीको सम्पत्ति छ। कृषि र कृषिउपजको व्यापार नै अहिले पनि उनीहरूको दिनचर्या हो।
मानबहादुरले २०४० सालतिर कृषि विकास बैंकबाट कर्जा लिएर खेती सुरु गरेका थिए। मेहनती बाबु र उनको पदचापमा हिँड्ने छोराहरूको कारण कृषि पेसामा कहिल्यै हरेस खानुपरेन। २०४६ सालमा ४५ हजारमा सुक्खा सिरुबारी खरिद गरेर अदुवा रोप्दा एक वर्षमै ५० हजारको अदुवा बिक्री गरे। त्यसले जग्गा खरिद गरेको ऋण तिरेर पनि वर्षभरि खान पुग्ने कमाइ भयो। यो सफलताले खेतीप्रतिको मोह झन् चुलियो। बुबाको नेतृत्वमा ४५ सालतिर दैनिक ५० लिटरसम्म दुग्ध उत्पादन, ६ सय मनसम्म हिउँदे आलु, पाँच सय मनसम्म अदुवा बेचेको अनुभव छ छोरा गंगासँग। अहिले प्रधानका छोराहरू छुट्टाछुट्टै गरिखाने भएका छन्। गंगा भन्छन्, 'मेहनत गरेरै आफ्नो लागि पुग्ने बनाएका छौं।' कृषिमै लागेर उनीहरू आफ्ना नानीहरूलाई राम्रा विद्यालयमा पढाउन सफल भएका छन्।
कमाइको हिस्सा सेवामा
एक वर्षअघि बाबु मानबहादुरको मृत्यु भएपछि उनका छोराछोरीले बाबुको नाम अमर बनाउन कमाइको केही हिस्सा सेवामा सुम्पन थालेका छन्। उनीहरूले समाज सेवा गर्ने पवित्र उद्देश्यले मानबहादुर प्रधान स्मृति प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्यमा समेत हात हालेको छोरा टीकाप्रसाद प्रधानले बताए।
२०६९ माघ २३ मा स्थापना भएको प्रतिष्ठानले फिक्कल उच्च माविमा दुई लाख १० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेको छ। सो अक्षय कोषको ब्याजले कक्षा एकदेखि १२ सम्मबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ। प्रतिष्ठानले फिक्कल उच्च माविलाई गत वर्ष १५ हजार रुपैयाँबराबरको पुस्तक उपलब्ध गराएको थियो। प्रतिष्ठान अहिले पनि सामाजिक क्रियाकलापमा सक्रिय रहेको छ। प्रतिष्ठानले कृषि र प्रविधि नामको रेडियो कार्यक्रम उत्पादनमा पनि सहयोग गर्दै आएको छ। किसानलाई सहयोगी हुने रेडियो कार्यक्रमले धेरैको हित हुने भएकाले रेडियो नेपालवाणीबाट प्रसारण हुने कृषि र प्रविधि कार्यक्रमलाई सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष गंगा प्रधानले बताए।
स्वर्गीय मानबहादुर प्रधानकी श्रीमती नैनकुमारी, छोराहरू दुर्गा, कमलकुमार, रतन, श्याम, टीकाप्रसाद, दिलिप, गंगाकुमार, छोरीहरू यामकुमारी, इन्दिरा र हरिमायाको सक्रियतामा प्रतिष्ठान स्थापना भएको हो। कमाइको १० प्रतिशत समाजका लागि खर्च गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरेको अध्यक्ष गंगा प्रधानले बताए।अन्नपूणपोष्टबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment