व्यवसायिक जडिबुटी खेतीमा संलग्न इलामका किसानले जडिबुटी विक्री गरेर गएको वर्ष दुई करोड ४२ लाख आम्दानी गरेका छन् । वर्षेनि खेती विस्तार गरेर किसानले जडिबुटी विक्री गरेर आम्दानी समेत बढाएका छन् । जिल्ला वन कार्यालय इलामका अनुसार लेकाली क्षेत्रमा पाखोबारीमा लगाइएको विभिन्न प्रकारको जडिबुटीबाट दुई करोड ४१ लाख ६४ हजार पाँच सय आम्दानी गरेका हुन् ।
यो वर्ष ४२ हजार आठ सय ९५ किलोग्राम चिराइतो निकासी भएको छ । चिराइतो यस पटक गत वर्षको भन्दा दुई सय रूपैयाँ कमीले प्रतिकिलो पाँच सय रूपैयाँमा विक्री भएको छ । गत वर्ष सात सयमा किसानले विक्री गरेका थिए । यस वर्ष मात्रै दुई करोड १४ लाखको ४७ हजार पाँच सय बराबरको चिराइतो विक्री भएको जिल्ला वन कार्यालयले जनाएको छ । स्वदेशमा नेपाली हाते कागज बनाउन र जापानमा जापानी येन बनाउन प्रयोग गरिने अर्गेली (लोक्ता) १५ हजार दुई सय ७५ किलोग्राम विक्री भएको छ । कागज र पैसा बनाउन प्रयोग गरिने अर्गेली यस वर्ष ५० देखि ८० रूपैयाँ प्रतिकिलोमा विक्री भई १२ लाख २२ हजार आम्दानी भएको हो । १३ लाख ७५ हजार मूल्य बराबरको सतुवा विक्री भएको कार्यालयले जनाएको छ । सतुवा सबैभन्दा महँगो जडिबुटी भएको सुजमा जडिबुटी सहकारी संस्थाका अध्यक्ष राजबहादुर राईले बताए । सतुवा स्थानीयस्तरमै प्रतिकिलो पाँच हजार पाँच सय र विदेश निर्यात गर्दा आठ हजार रूपैयाँ प्रतिकिलोका दरले विक्री
किसानले नागबेलीको धूलो संकलन गरेर विक्री गरेका छन् । दुई सय ४० किलो नागबेलीको धूलो निकासी गरी एक लाख २० हजारभन्दा बढी आम्दानी गरेका छन् । यसका अलवा लौठसल्ला, मजिटो, चुथ्रो र जमाने मान्द्रोको बोक्रा विक्री गरी किसानले मनग्ये आम्दानी गरेका छन् । गाउँघरमा कुनै प्रयोजनमा नआउने चुथ्रो र जमाने मान्द्राको बोक्रा पनि निकासी हुने गरेको किसान बताउँछन् । स्थानीयस्तरमा किसानबाट जडिबुटी संकलन गरेर झापाको काँकडभिट्टा हुँदै भारत र अन्य मुलुकमा विक्री भएको छ ।
कम मेहनत र लगानीमा बढी आम्दानी हुन थालेपछि किसानको आकर्षण समेत थपिंदै गएको जिल्ला वन कार्यालयका नायव सुब्वा राधाकृष्ण खतिवडा बताउँछन् । उत्तरी क्षेत्रमा किसानले अन्नबाली समेत मासेर चिराइतो, लौठसल्ला, मजिटो, अर्गेली, सतुवालगायतका विभिन्न प्रकारका जडिबुटी खेती गर्न थालेका छन् । नयाँबजार, सुलुबुङ, माईपोखरी, मावु माईमझुवा, प्याङ, जोगमाई, चमैता, पुवामझुवालगायतका निजी वन तथा पाखोबारीमा जडिबुटी खेती गरिंदै आएको जिल्ला वन कार्यालयले जनाएको छ । यी गाविसका झण्डै पाँच हजार किसानले झण्डै २२ हजार रोपनी खेतबारीमा जडिबुटीको व्यवसायीक खेती गर्दै आएका छन् । जिल्ला वन कार्यालयले जडिबुटी विक्री गर्ने किसानलाई परिचय–पत्र समेत उपलब्ध गराउँदै आएको छ ।
0 comments:
Post a Comment