इलाम, १९ फागुनः ‘पैँतीस सालमा ‘जेटिए’ भन्दै मान्छे आउँथे त्यसपछि कृषिका कर्मचारी देखेको छैन ।’ साङ्रुम्वा १ का बहतर वर्षिय महासेर लिम्बुले भने ‘कति पटक बारीमै अदुवा कुहियो, मटर ड्याङ्मै पहेँलियो सल्लाह दिने कोहि भएन ।’
गत वर्ष करिब चालीस मन अदुवा रोपेका उनको अदुवा बारीमै कुहियो । त्यो उनका लागि लाख बराबरको क्षति हो ।
लिम्बुको गाउँ सदरमुकामसँगै जोडिएको छ । जिल्ला कृषि विकास कार्यालय इलामबाट हिँडेर जाँदा पनि अडाई घण्टामा लिम्बुको घरमा पुगिन्छ । कृषि कार्यालयका कर्मचारीले आफ्नो गाउँमा नटेकेको बताउँछन् जनएकता कृषि सहकारीका अध्यक्ष गोविन्द बुडाथोकी पनि ।
जिल्ला कृषि विकास कार्यालय इलाममा अहिले एमएसएजी गरेका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीको नेतृत्वमा १४ जना कर्मचारीको दरबन्दी छ । उनकै मातहतमा ६ वटा सेवा केन्द्रमा प्राविधिक सहायक स्तरका इन्चार्ज सहित २३ जना कर्मचारी छन् । तर उनीहरु गाउँमा पुग्दैनन् । मंगलबारे सेवा केन्द्र नजिकै घर भएकी सावित्रा श्रेष्ठलाई माटो परिक्षणको विधिबारे जानकारी छैन । खेती गर्नुअघि माटो परिक्षण गर्न कृषि विभागले भन्ने गरेपनि माटो परिक्षण गर्ने निकायकै बारेमा जानकारी नभएको श्रेष्ठले बताइन् ।
श्रेष्ठ जस्तै अन्योलमा छन् साङ्रुम्वा २ की कमला भट्टराई पनि । धान खेतको झार मार्न ‘राउण्ड अप’ नामको विषादी प्रयोग गर्ने गरेकी उनले विषादीको असर बारेमा जानकारी नभएको बताइन् ।
क्यानसर जस्ता खतरनाक रोगको स्रोतको रुपमा रहेको हर्विसाइट वर्गको राउण्ड अप विषादीसँग खेल्ने उनी जस्ता गाउँका अधिकांस किसानलाई खेती प्रविधि र विषादीको बारेमा जानकारी नभएको उनले बताइन् ।
तीन नगरपालिका र ४३ गाउँ विकास समिति रहेको इलामका दुर्गम गाउँहरुमा सरकारको कृषि प्रसार कार्यक्रम नपुगेको किसानहरु बताउँछन् । किसानलाई कृषि बालीमा लाग्ने रोग र किराको रोकथामको बारेमा त थाहा छैन नै माटो परिक्षणको फाईदाको बारेमा समेत जानकारी छैन ।
जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसारको नाममा ५८ लाख रुपैंयाँ भन्दा माथि खर्च गर्ने गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा मात्र ५८ लाख ९१ हजार रुपैंयाँ खर्च गरेको सो कार्यालयको वार्षिक पुस्तिकामा उल्लेख छ । सो कार्यालयले तलब, भत्ता र प्रसारका नाममा वर्षमा दुई करोड रुपैंयाँ खर्च गर्ने गरेको छ । कार्यालयको खर्च भने वर्षेनी बढ्दै गएको छ ।
२०६८÷६९ मा कृषि प्रसारका १२ शिर्षकमा खर्च गर्न ३९ लाख ८५ हजार रुपैंयाँ खर्च भएको थियो । कार्यक्रममा तरकारी खेती आयोजना देखि माटो परिक्षण शिविर सम्म गरेको उल्लेख छ । तर ३० मन अदुवा बारीमै कुहिएको बताउने साङ्रुम्वा १ का किसान झरेन्द्र राय भन्छन्– ‘हामीलाई सेवा दिन त निजी विषादी पसले मात्र आउने गरेका छन् ।’

0 comments:
Post a Comment