भारतीय संचारले धानेको गाउँ


जिर्मले, ११ वैशाखः इलामका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको जिर्मलेका केही वडाका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । 
नेपाली भूमि भएर पनि सलकपुरमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन् । जिर्मलेको १, २ र ३ नम्बर वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको छ । ‘तीन वडा सञ्चारकै पहुँच बाहिर छन्,’ स्थानीय शमशेर राईले भने, ‘अरुतिर सामान्य भइसकेको मोबाइल सेवा यहाँ भने विस्तार हुनै सकेको छैन ।’  नेपाली मोबाइलको सेवा नपाएपछि सलकपुरवासीले विकल्पको रूपमा भारतीय कम्पनीको मोबाइल प्रयोग गर्छन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै भए पनि भारतीय मोबाइलको नेटवर्क पनि खासै राम्रो छैन । सलकपुरमा पहाडी क्षेत्र बढी भएकाले भारतीय नेटवर्क समेत प्रभावकारी नभएको स्थानीयबासीको भनाइ छ । कतैकतै नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाइने गरिएको स्थानीयवासी यामप्रसाद अधिकारीले बताए । तीन सय ५० भन्दा बढी घरपरिवार रहेको सलकपुरका १, २ र ३ का बासिन्दाले वर्षौंदेखि मोबाइल सेवा नपाएपछि भारतीय मोबाइलकै भर पर्नुपरेको छ । अधिकारीले भने, ‘भारतीय मोबाइल भएपनि जिल्लाकै अन्य ठाउँमा फोन गर्नुपर्यो भने निकै दुःख झेल्नुपर्छ । नेपाली कम्पनीको मोबाइलमा भारतीय कम्पनीको मोबाइलबाट फोन गर्दा सम्पर्क नहुने समस्या भएकाले सानो कामको लागि पनि धाउनुपर्ने बाध्यता छ ।’ 
कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयबासीको गुनासो छ । उनीहरु महङ्गो भएपनि भारतीय सिमकार्ड चलाउन बाध्य छन् । गाउँमा भारतीय मोबाइलको रिचार्ज कार्ड व्यापारीले महङ्गोमा बिक्री गर्ने गरेका छन् । ‘यहाँ भारु १० को कार्ड खरिद गर्दा ३० रुपैयाँसम्म तिर्नुपर्छ,’ स्थानीयबासी कुमार मोक्तानले भने । झापाको काँकडभिट्टामा रिचार्ज कार्ड पाइने र मोबाइलमा ब्यालेन्स सकिँदैपिच्छे किन्न जाने झन्झटले पनि स्थानीय जनता महङ्गोमा कार्ड किन्न बाध्य भएका हुन् । 
सलकपुरमा सीमापारिको रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोनजस्ता मोबाइल कम्पनीको नेटवर्क आउँछ । तर, नेपालको नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क आउँदैन । मोबाइल सेवा नभएपछि गाउँमा उत्पादित कृषिउपज बिक्री गर्न समेत बाधा उत्पन्न हुने गरेको यहाँका किसानको दुखेसो छ । 
नेपाल टेलिकम इलाम शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले चालु आर्थिक वर्षमा जिल्लाका पाँच ठाउँमा बिटिएस टावर राख्ने र यसमा सलकपुरलाई पहिलो प्राथमिकता दिने बताए । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment