इलाम सदरमुकाममै पाठ्यपुस्तकको चरम अभाव

इलाम, ११ जेठः इलाम सदरमुकायमा लगायत इलाम जिल्ला भित्रका विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव भएको छ । इलाममा वैशाख अन्तिम साता सम्म पुस्तकको अभाव देखिएको थिएन । तर जेठको पहिलो सातासँगै विद्यायलयमा पठनपाठन शुरु भएसँगै पाठ्यपुस्तकको अभाव भएको हो । 
विद्यालयको शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा नपरे पछि अब के गर्ने हो भनेर विद्यार्थी अन्यौलमा परेका छन् । जिल्लामा अहिले कक्षा ६ र ७ का सबै विषयहरुको पाठ्यपुस्तक अभाव रहेको छ भने कक्षा ९ र १० का सबै विषयहरु पनि अभाव रहेको छ ।
नेपालको आधिकारिक पाठ्यपुस्तक बिक्रेता जनक शिक्षा सामाग्रीमा नै पाठ्यपुस्तक नभएकाले अभाव भएको हो । इलाममा सम्बन्धित निकायले पुस्तकको विषयमा पहल नगर्दा पनि अभाव खड्केको अभिभावकहरुको गुनासो रहेको छ ।
इलाममा पाठ्यपुस्तक बिक्रेता तेह्रथुम बुक्स सेन्टरका टंक धमलाका अनुसार अहिले जनक शिक्षा सामाग्रीले नै बिक्रेतालाई पुस्तक नदिएकोले पुस्तक अभाव भएको हो । इलाममा चैतमा बिल गरेका पुस्तकहरु पनि अहिले सम्म नपठाएकाले अभाव खड्केको हो । साथै जिल्ला शिक्षा कार्यालय इलामले यस विषयमा चासो नदेखाएकाले पनि अभाव भएको हो । अन्य जिल्लामा शिक्षा कार्यालयले पुस्तक दिवस मनाउने गरेको, सम्पुर्ण सरोकारवालालाई बोलाएर जानकारी गराउने गरेको र सहयोग माग्ने गरेको छ । तर इलाममा अहिले सम्म कसैसँग पनि पाठ्यपुस्तकको विषयमा छलफल तथा जानकारी नलिएको पनि उनको भनाई छ ।
इलामका अर्का पुस्तक पसल मेची पुस्तक पसले यक्ष लम्सालका अनुसार अहिले जनक शिक्षा सामाग्रीले २५ प्रतिशत पनि पाठ्यपुस्तक नपठाएको र पुराना स्टकबाट पुस्तक बिक्री गर्नु परेको जानकारी गराउँदै । विद्यालयमा पुस्तक आपुर्ति गर्न नसक्दा व्यवसायलाई नै असर गर्ने गरेको उनको भनाई छ ।
इलाम सदरमुकाममा रहेको आदर्श उमाविका प्राध्यापक कुमार पौडेलका अनुसार विद्यालयमा कक्षा ७ मा ७० प्रतिशत विद्यार्थीलाई पुस्तकको अभाव छ, अन्य कक्षाहरुका विद्यार्थीलाई पुराना पुस्तकहरु भेला गरेर भए पनि पुस्तक दिएकोले अभाव छैन । तर कक्षा ९ का ऐच्छिक विषयहरुमा भने अभाव देखिएको छ । इलामकै भगवती माविमा कक्षा सताका सबै विषयहरुको पाठ्यपुस्तक अभाव छ । त्यहाँ ३० प्रतिशत विद्यार्थीको हातमा मात्र पुस्तक पुगेको छ । कक्षा ९ मा पनि अर्थशास्त्र विषयको पाठ्यपुस्तक विद्यार्थीहरुले पाएका छैनन् ।
नयाँबजारको अमर कल्याण उमाविका शिक्षक गणेश आचार्यका अनुसार कक्षा ६ र ७ का ४५ प्रतिशत  विद्यार्थीले मात्र पुस्तक पाएका छन् । कक्षा ८ का विद्यार्थीले ऐच्छिक विषयको पाठ्यपुस्तक पाएका छैनन् ।
इलामको बरवोटेको अमर उमाविमा पनि ६० प्रतिशत विद्यार्थीहरुलाई मात्र पाठ्यपुस्तक पुगेको प्रध्यापक तुलाराम पुरीले जनाकारी गराए । यसरी हेर्ने हो भने इलाम जिल्लामा भएका विद्यार्थीहरु मध्ये ४५ प्रतिशत विद्यार्थीहरुको हातमा पनि पाठ्यपुस्तक पुगेको छैन । शैक्षिक सत्र शुरु भएको एक महिना बितिसक्ता पनि विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् । नेपाल सरकारको नीति अनुसार कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट नछुटुन भनेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहे तापनि विद्यार्थीको हातमा पुस्तक पु¥याउन भने असफल भई रहेको छ ।
जिल्ला शिक्षा अधिकारी रामप्रसाद पण्डेका अनुसार इलाम जिल्लामा पाठ्यपुस्तकको अभाव भएकै हो । यसलाई सरलीकरण गर्नको लागि बिक्री केन्द्रले सबै विद्यायहरुलाई मिलाएर पुस्तक वितरण गर्नुको विकल्प नरहेको बताए । पाठ्यपुस्तकको अभाव नहोस भनेर जिल्ला शिक्षा कार्यालयले पनि विभिन्न सरोकारवाला निकायलाई बेलाबेला घच्घच्यायी रहेको बताएका छन् । शिक्षा कार्यालयले पाठ्यपुस्तकको लागि दिनु पर्ने रकम विद्यालयहरुलाई फागुनमै निकासी गरिसकेको र अभाव भएका बिल पेश गरे अनुसारको रकम पनि उपलव्ध गराउने जानकारी दिए ।
जिल्लाका सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेको र जनक शिक्षा सामाग्रीले अहिले तत्काललै पुस्तक पठाउन सक्ने अवस्था पनि नरहेकोले पाठ्यपुस्तकको समस्याले विद्यार्थीको पठनपाठनमा ठूलो असर गर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment