इलाम, २९ वैशाखः आदर्श उच्च माविको कक्षा १० मा अध्ययनरत सन्ध्या (नाम परिवर्तन)लाई औपचारिक शिक्षामा उति चाख लाग्दैन अचेल । खाना खाइवरी बेलुका ९ बजेसम्म परिवारसँग टिभी हेर्छिन्, ९ देखि १० सम्म होमवर्क अनि त्यसपछि रातको १ नबजेसम्म सामाजिक सञ्जालहरुमा छाउन पुग्छिन् । सामाजिक सञ्जालमा अनलाईन भएका साथीहरुसँग गफिनुमा उनको समय बित्न थालेको भखैरै तीन महिना मात्र भयो । हुनपनि तीन महिना अघि मात्र उनले फेसबुक ‘अकाउण्ट क्रिएट’ गर्न पाएकी थिइन् । भन्छिन्, “कति बेला रातको १० बजोस् जस्तो लाग्छ ।”
फिक्कल उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने संयोग (नाम परिवर्तन)लाई ‘ह्वाटएप्स’को लत छ । उनी कक्षामा अल्छी लाग्यो भने पनि ह्वाटएप्स चलाएर बस्छन् । उनी पनि रातको १२ बजेसम्म साथीहरुसँग गफिन्छन् । बिहानको उठाईचाहि अबेर नै हुन्छ । उनी भन्छन– ‘कलेजमा सबैजना नै स्मार्टफोन चलाइरहेकै हुन्छन् नि, म मात्र कहाँ हो र ।’ संयोगका अनुसार उसका साथीहरुमध्ये ९० प्रतिशतले राती १२÷१ बजेसम्म च्याटिङ गर्ने गर्छन् ।
इलाम जिल्लामा रहेका पाँच उच्च माविका २० जना विद्यार्थीमा गत हप्ता चियाबारी दैनिकले गरेको अध्ययनमा ८५ प्रतिशत विद्यार्थी मध्यरातमा सामाजिक सञ्जालमा रमाउने गरेको बताएका छन् । १४ देखि २२ वर्ष उमेर समुहका विद्यार्थीहरुसँग मात्र गरिएको कुराकानीको आधारमा यो डरलाग्दो तथ्य फेला परेको हो । १७ जना विद्यार्थीहरुले राती सामाजिक सञ्जालमा आफु रमाउने बताएका थिए । बाँकी २ जनाले दिउँसो मात्र सामाजिक सञ्जालको प्रयोग गर्ने बताएका थिए भने एक जनाले सामाजिक सञ्जाल प्रयोग नै नगरेको बताएका थिए । सामाजिक सञ्जाल उनीहरुमध्ये १७ जनानै फेसबुक प्रयोग गर्ने गरेको बताए । एकैसाथ फेसबुक, ह्वाटएप्स, स्न्यापच्याट, आएमओ र भाइबर प्रयोगकर्ता ३ जना भेटिए । कम्तिमा २ प्रकारको सामाजिक सञ्जाल प्रयोग गर्नेमा १५ जना विद्यार्थी थिए ।
सामाजिक सञ्जालको प्रयोग गरि ‘रेष्पोण्डेण्ट’मध्ये सबैले नै च्याट गर्ने गरेको बताएका थिए । सामाजिक विषयमा च्याटका क्रममा कुरा हुन्छ भनेर उत्तर ७५ प्रतिशतले दिए, च्याटमा राजनीतिक विषयमा छलफल हुन्छ भन्ने ५ प्रतिशतको मात्र उत्तर थियो । च्याट गर्दा ८५ प्रतिशतले ‘अपोजिट सेक्स’सँग बढि समय खर्चिने बताएका थिए भने बाँकीले “बोथ” मा सहमति जनाएका थिए । “च्याटमा यौन सम्बन्धि चर्चा हुन्छ” भन्नेमा ८८.२३ प्रतिशत सहमत भएका थिए । सामाजिक सञ्जाल प्रयोगको विषयमा अध्ययन गर्न अन्तर्वार्ताको लागि १० पुरुष र १० जना महिलाहरुमात्र राजी भएका थिए । ‘¥याण्डम स्याम्प्लिङ मेथोड’बाट चयन गरिएका ३५ जना विद्यार्थीहरुलाई अन्तर्वार्ताको लागि प्रस्ताव गरिएको थियो ।
चियाबारी दैनिकले गरेको यस अध्ययनबाट के पुष्टि हुन्छ भने इण्टरनेटको पहुँचसँगै सबैको हातमा उपलब्ध स्मार्टफोनका कारण बालबालिका तथा युवाहरु ‘भर्चुअल’ दुनियाँका अंग भईसकेका छन् र आफ्नो उर्जाशील समयलाई अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका छन् । व्
यस्त बाटोमा हिडिरहेको समयमा, गाडीमा यात्रा गरिरहेको समयमा वा खाना खाईरहेको समयमा होस्, स्मार्टफोन चलाएका मानिसहरु इलाममै पनि बल्र्गेती देखिनुले पनि सामाजिक सञ्जालको लतलाई पुष्टि गर्दछ । भर्चुअल दुनियाँमा रमाउनेको संख्या दैनिक बढ्नुले विकृतिलाई पनि बढवा दिइरहेको छ । इलामका किशोर किशोरीहरु रातभर अनुत्पादक क्षेत्रमा आफ्नो समय खर्चिनुको पछाडी अभिभावक नै मुख्य दोषी भएको बताउँछन्, भगवती माविका विज्ञान विषयका शिक्षक राजु कट्टेल । उनी भन्छन्– “केटाकेटीलाई स्मार्टफोन किनिदिने अनि रातबिरात के गरिरहेछ भनेर हेरविचार नगर्ने अभिभावकका कारण नै किशोर किशोरी सामाजिक सञ्जालको कुलतमा लागेका हुन् । यसको समाधानका लागि लागि अभिभावक जागरुक हुनुपर्छ ।” रातभर सामाजिक सञ्जालमा घोत्लिने किशोरकिशोरीलाई सामाजिक ‘काउन्सिलिङ’को आवश्यकता पर्नेमा उनी जोड दिन्छन् ।
आदर्श उच्च माविका शिक्षक भरत अधिकारीले सामाजिक सञ्जालमा किशोर किशोरीबीच हुने यस्ता गतिविधिले समाजमा अपराध समेत बढ्न सक्ने बताए । उनले भने, “परिवार र समाजले नै समाजिक सञ्जालको दुरुपयोगको विषयमा चेतना जगाउनुपर्छ । अनि आफ्ना घरमा हुर्केका किशोर किशोरीहरुको क्लोज मोनिटरिङ पनि ।”
0 comments:
Post a Comment