दिभरी पूर्वमा के भयो, समाचारहरुको संगालो,ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ताप्लेजुङमा एक पुरुष मृत भेटिए

ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सुम्बेक, २९ वैशाख (चियाबारी संवाददाता)ः इलामको सुम्बेकमा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर सिदिन–५ का १९ वर्षीय उज्वल सुब्बा रहेका छन् । मे.१त १७११ नम्बरको ट्याक्टरमा सवार सुब्बाको ट्याक्टरको ‘ब्रेक फेल’ भएर पल्टिँदा मृत्यु भएको र ट्याक्टर धनी बरबोटे गाविस निवासी गजेन्द्र अधिकारी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए  । मृतकको शव परीक्षणका लागि इलाम जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर चालक गोदक–१ का चन्द्र मगरलाई नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङमा एक पुरुष मृत भेटिए
ताप्लेजुङ, २९ वैशाख (चियाबारी संवाददाता)ः ताप्लेजुङको पाथिभरा क्षेत्रमा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाथिभरा–सुकेटार सडक खण्ड अन्तर्गत फावाखोला र फुरुम्बु गाविसको सिमानामने छातेढुङ्गा नजिकैको जंगलमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । एउटा खुट्टा नभएको र शव सडेको अवस्थामा फेला परेकाले पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । स्थानीयले मंगलबार दिउँसो करीव चार बजे सडेको अवस्थामा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । डोरी सानो रुखको हाँगामा बाँधेको र अनुहारमा चोट साथै एउटा खुट्टा नभएकाले हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनले लगाएको मंहगो जुता, कपडा, क्यामराको खोल लगायतका सामाग्री शव नजिकै फेला परेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मरब अखिलमा मानबहादुर 
इलाम, २९ वैशाख (चियाबारी संवाददाता)ः अनेरास्ववियु मरब क्याम्पस इलामको २७औं क्याम्पस सम्मेलनले मानबहादुर गुरुङलाई अध्यक्षमा चयन गरेको छ । ३९ सदस्यीय कमिटीको उपाध्यक्षमा विशाल राई, सचिवमा रविन बस्नेत, सह–सचिवहरुमा वर्षा बास्तोला, चन्द्रकला लुइटेल, शोभित शंकर र कोषाध्यक्षमा अर्जुन लिम्बु चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विमला तामाङ्ग, सन्त शेर्मा, अर्पना राई, हिमाल खनाल, बालचन्द्र भण्डारी, मुना धिताल, गजेन्द्र लिम्बु, किरण चौलागाई, बिना अधिकारी, दर्शन राई, अनमोल पौड्ेल, कैलाश दवाडी, विशाल कार्की, सुस्मिता राई, कमल ढकाल, कुबेर, मन्जिला कटुवाल, अनिता राना मगर, हेमन्त गौतम, तारा घिमिरे, पुण्यराज आङदाम्बे, समिता कार्की, पुष्पा लिम्बु, पासाङ डोल्मा शेर्पा, बबिता अधिकारी, उषा प्रधान, टिका थापा मगर, सविन बस्नेत, टम शाही, समेश गौतम लगायत चयन भएको इश्वरी तामाङले जानकारी दिएका छन् । 
महानन्द जन्म जयन्ती स्थगित
इरौटार, २९ वैशाख (चियाबारी संवाददाता)ः भाषा शास्त्री महानन्द सापकोटाको १२० औं जन्मजयन्ती कार्यक्रम स्थगित भएको छ । महानन्द स्मृति प्रतिष्ठान इरौटार र शान्तिनगरले प्रत्येक वर्ष वैशाख ३० गते सापकोटाको जन्म जयन्ती मनाउने गरेको छ । उनको जन्मस्थल दक्षिणी इलामको इरौटार–८ देवानछापमा १२०औं जन्म जयन्ती मनाउने तयारी भईरहेको बेला प्रतिष्ठानका उपाध्यक्ष मानबहादुर लिम्बेल (मगर)को सोमबार असमायिक निधन भएकाले सापकोटाको जन्म जयन्ती मनाउने कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानका सचिव सोमनाथ पौडेलले जानकारी दिए ।
वडा कमिटी गठन
फाकफोक, २९ वैशाख (चियाबारी संवाददाता)ः फाकफोक गाविसको वडा नं. ९ मा एकीकृत नेकपा माओवादीको वडा कमिटी गठन भएको छ । फाकफोकमा मंगलबार भएको एक भेलाले वृहस्पति ढुङगानाको अध्यक्षतामा १५ सदस्य कमिटी गठन गरेको हो ।  कमिटीको उपाध्यक्षमा गंगावहादुर खत्री, सचिवमा मनबहादुर राई, सहसचिवमा मगेन्द्र शर्मा चयन भएका छन् । नयाँ समितिलाई नेकपा एमाओवादीका जिल्ला कार्यालय सचिव जीवन शर्मा, जिल्ला सदस्य तथा फाकफोक इन्र्चाज भोजबहादुर बोहरा, गाउँ कमिटी सचिव नरेश तामाङ, रुद्रप्रसाद शर्मा लगायतले बधाई तथा शुभकामना दिएका थिए । 
पानीका मुहान सुक्दा काकाकुल बन्यो ताप्लेजुङ
ताप्लेजुङ, २९ वैशाख (चियाबारी संवाददाता)ः ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्लामा दैनिक जसो साँझपख पानी परे पनि खानेपानीका मुहान सुक्न थालेपछि पिउने र सिंचाई गर्ने पानीको हाहाकार हुन थालेको छ । ताप्लेजुङ नगरपालिका सहित हाङ्देवा, फुरुम्बु, लिङ्खिम, लेलेप, लगायत माथिल्लो क्षेत्रमा दैनिक साँझपख पानी परिरहे पनि यस क्षेत्रका सबै ढुङ्गेधारा, सधै बगिरहने खोल्सा र पोखरी पनि सुक्न थालेको स्थानीयले बताएका छन् । खानेपानीको मुहाननै सुकेपछि यस क्षेत्रका स्थानीय घण्टौँ लगाएर खोला र सुक्न बाँकी रहेका मुहानबाट खानेपानी ल्याउन बाध्य भएका छन् भने पानीको अभावमा जिल्लाकै मुख्य नगदे बाली अलैंची र खाद्यन्न बाली पनि सुक्न थालेको स्थानीय प्रेमप्रसाद बरालले बताए । सदरमुकाम फुङ्लिङमा वितरण गर्दै आएको खानेपानी पनि पर्याप्त नहुँदा दैनिक एक घण्टा मात्र वितरण गरिदै आएको छ । गाउँका घर घरमा पु¥याईएका धारा र नालामा पानी आउन छाडेपछि बजार क्षेत्र भन्दा गाउँमा रहेका स्थानीयको जनजीवन कष्टकर बनेको दोखुका स्थानीय खगेन्द्र पुरीले बताए । खडेरीले तल्लो क्षेत्रमा मुहानहरु सुकेका छन् भने माथिल्लो क्षेत्रका हिमालहरु नांगा देखिन थालेका छन् । पुस माघमा परेको हिउँ जेठ असारसम्म हिमाल रहने भए पनि यो वर्ष भने फागुन–चैत देखिनै हिमाल सुख्खा र फुस्रो देखिएका छन् । हिमाल नै रितिन थाले पछि खोलाहरुमा पनि पानीको मात्र घटेको छ । पानी परिरहे पनि घाम पनि निरन्तर लागेकाले वाष्पिकरणका कारण परेको पानी सुक्ने भएकाले अहिलेकै मौसममा मुहान नरसाउने पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका प्रमुख विष्णुप्रसाद न्यौपाने बताए ।
विन्डोज १० निःशुल्क सेवा बन्द हुँदै
माइक्रोसफ्टको एक ब्लगका अनुसार केही समयपछि नै विन्डोज १० डाउनलोड गर्नका लागि १ सय १९ डलर तिर्नुपर्नेछ । माइक्रोसफ्ट विन्डोजका कर्पोरेट उपाध्यक्ष युसुफ मेहदीले एक ब्लगमा लेखेका छन्ः माइक्रोसफ्ट विन्डोज १० प्रयोगकर्ताका लागि अहिलेसम्म निशुल्क थियो । तर यो अफर जुलाई २९ मा सकिँदैछ । त्यसपछि प्रयोगकर्तालाई नयाँ डिभाइसमा मात्र विन्डोज १० प्राप्त हुनेछ भने यसको होम भर्सनका लागि १ सय १९ डलर तिर्नुपर्नेछ । माइक्रोसफ्टका अनुसार विन्डोज १० अपरेटिंग सिस्टम अहिलेसम्म विश्वभरका ३० करोड डिभाइसहरुमा प्रयोग भैरहेको छ । जसमा कम्प्युटरका साथै स्मार्टफोन पनि छन् । उपाध्यक्ष युसुफका अनुसार माइक्रोसफ्टको पर्सनल असिस्टेन्ट कोर्टानाले अहिलेसम्म विन्डोज १० मा ६ अर्ब प्रश्नहरुको जवाफ दिइसकेको छ । त्यसका साथै विन्डोज १० मा अन्य विन्डोज संस्करणमा भन्दा प्रयोगकर्ताले बढि गेम खेल्ने गरेका छन् । अहिलेसम्म विन्डोज १० मा ९ अर्ब घण्टा गेम खेलिएको छ । माइक्रोसफ्टका अनुसार उसको पछिल्लो ब्राउजर एज निकै लोकप्रिय बनिरहेको छ । गत मार्च महिनामा मात्रै प्रयोगकर्ताहरुले एज ब्राउजरमा ६३ अर्ब मिनेट बिताएका छन् । जुन अघिल्लो वर्षको भन्दा ५० प्रतिशत बढि हो । एजेन्सी
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment