माईपोखरी, २० वैशाखः उत्तरी इलामको सुलुबुङ र माईपोखरी गाविसमा रहेको नेपालकै कान्छो सिमसार क्षेत्र तथा रामसारमा सूचिकृत माईपोखरीमा घुमन्ते र पाहुना चरा देखिन थालेका छन् ।
पछिल्लो समय खडेरी र तराईमा गर्मी बढेसँगै शीतलको खोजीमा विभिन्न प्रजातिका चरा माईपोखरीमा आउन थालेका हुन् । तातोपन बढेपछि माईपोखरी क्षेत्रमा आगन्तुक चरा बढेको स्थानीयबासीले बताएका छन् । रामसार क्षेत्रमा चराको अनुगमन गर्दै आएका स्थानीय कमल मुखियाले यतिबेला धेरै टाढा–टाढाबाट चरा आउन थालेको बताए । विगत सात वर्षको भन्दा यसपटक धेरै चराहरु माईपोखरी भित्रिएको उनी बताउँछन् ।
पित्तमुहार, बुलकुल, सानो सिविया, चिचिन्कोटे लगायतका फिरन्ते प्रजातिका चराहरु माईपोखरीमा देखिएका छन् । तातो क्षेत्रमा पाइने चरा पनि आजकल यस क्षेत्रमा देखिएका छन्, कहिल्यै नदेखिएका चरा पनि क्रमशः देखिन थालेका छन्, ‘चरा हेर्न जिल्लाबाट आन्तरिक पर्यटक समेत भित्रिन थालेका छन् ।’ मुखियाले भने । तराईमा पाइने बकुल्ला, असकोटे, कलकले पनि लेकाली क्षेत्रसम्म पुगेका छन् । नेपालबाटै लोप भइसकेको भनिएका चरा पनि यहाँ आउने गरेको मुखिया बताउँछन् । लोप भइसकेको भनिएका हङरायो पनि यहाँ आउन थालेको छ । यसरी आएका चरा माईपोखरीमा लामो अवधि बसेर जाने गरेका छन् । झापाको दोमुखादेखि इलामको सन्दकपुरसम्म माईखोलाको बीचमा पर्ने क्षेत्रमा चराको नियमित रूपमा अनुगमन गर्ने गरेको उनी बताउँछन् । माईपोखरी क्षेत्रमा पहेँलो चिचिन्कोटे, कोइली, चाँचर, भ्याकुर र लाहाँचे लगायतका रैथाने चरा छन् । माईपोखरीमा गर्मीको समयमा तराईबाट र जाडोको समयमा लेकाली क्षेत्रबाट चरा आउने गरेको जानकारले बताएका छन् । तीन हजार पाँच सय मिटरभन्दा माथिको उचाइबाट पनि दुई हजार एक सय मिटरको हाराहारीको उचाइमा रहेको माईपोखरीमा चरा झर्ने गरेको पाइन्छ । लेकाली क्षेत्रबाट आएका चरा तीन महिनासम्म सिमसार आसपासमा बस्ने गरेका छन् । जिल्लाको माई जलाधार क्षेत्रमा पर्ने माईपोखरी, माइमझुवा, जमुना, प्याङ, जोगमाईलाई चराको मुख्य स्थानका रूपमा लिइन्छ ।
सिमसार क्षेत्रमा साना आगन्तुक चरा आउने गरेको भए पनि ठूला चरा र स्तनधारी जीव भने विस्थापित हुँदै गएको सरोकारवाला बताउँछन् । रासस
0 comments:
Post a Comment