शिविरमा चारसय मुटुरोगी लाभान्वित

इलाम २५ बैशाखः जिल्ला अस्पताल इलाममा मुटु रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा मुटु रोगका विरामीहरुलाई मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालासहित १२ जना चिकित्सकहरुको टोलीले सेवा दिएको थियो । शिविरमा इकोकार्डियोग्राफी (मुटुको भिडियो एक्सरे), इलेक्ट्रोकार्डियोग्राफी (मुटुको इलेक्ट्रिकल गतिविधि मापन वा इसीजी) तथा अन्य प्रक्रियाबाट मुटुपरीक्षण गरी औषधी वितरण गरिएको थियो । शिविरमा उपचार सम्भव नभएकाहरुलाई सघन उपचारको लागि विर्ता सिटी अस्पताल विर्तामोड तथा गंगालाल हृदयरोग निवारण केन्द्र काडमाण्डौमा बोलाईएको छ । शिविरमा इलामसहित पाँचथर र ताप्लेजुङका विरामीहरुले मुटु परिक्षण तथा उपचार गराएका थिए । डाक्टर भगवान कोइरालालाई नै नियमित परिक्षण गराईरहेका मुटुरोगीहरुले कोइरालाबाट इलाममै सेवा पाउदा दङ्ग थिए । सोयाङ इलामका नितेस खत्रीले आफ्नो बुबाको उपचार भगवान कोइरालाले इलाममै गरेकोमा खुसी देखिए । उमेर धेरै पुग्नुभएको मानिसलाई काठमाण्डौ ल्याउनु लानुको झण्झटबाट मुक्ति दिएकोमा आयोजकलाई उनले धन्यबाद दिए । शिविरमा अर्का बरिष्ठ तथा चर्चित मुटु रोग विशेषज्ञ डाक्टर अनिल बस्नेतले समेत सेवा दिएका थिए । कोइराला र बस्नेतकै नामका कारण पनि शिविरमा मानिसहरुको भीड लागेको थियो । 
शिविरमा स्वास्थ्य जाँचका लागि चार सय बढीले नाम दर्ता गराएका थिए । शिविरमा एकसय भन्दा बढीको इको कार्डियोग्राफी, दुई सय भन्दा बढीको मुटुको इसिजी तथा तीन सय भन्दा बढीलाई निःशुल्क औषधी वितरण गरिएको करूणा फाउण्डेशन नेपालका कार्यक्रम निर्देशक योगेन्द्र गिरीले जानकारी दिए । 
करुणा फाउण्डेसन नेपालको आयोजना र मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं, इलाम अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यलय, इलाम उद्योग वाणिज्य संघ तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा शिविर सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment