विद्यालमा शिक्षक विद्यार्थीबीच कुटाकुट


पाँचथर, ३ जेठः विद्याको मन्दिर विद्यालयमा शिक्षकले विद्यार्थीलाई पढाउने हो । अनि विद्यार्थीले शिक्षकबाट ज्ञान आर्जन गर्छन् । तर, पाँचथर सदरमुका फिदिम स्थित मेची बोर्डिङ स्कुल सोमबार रणभूमि जस्तै भयो । 
विद्यालयका शिक्षक र विद्यार्थीबीच कुटाकुट भएपछि विद्यालयको शैक्षिक वातावरण खलबलिएको छ । विद्यालय प्रशासननले यहाँ कार्यरत नेपाली शिक्षक बलराम कोइरालालाई हटाएर विज्ञान शिक्षक जिमी याक्खाकी श्रीमतीलाई भर्ना गरेको विषयमा विद्यार्थीले असन्तुष्टि पोखेपछि चुलिएको विवाद साम्य नहुँदा शिक्षक विद्यार्थीबीच कुटाकुट भएको हो । केहीदिन अघिमात्रै विद्यालय प्रशासनले नेपाली शिक्षक कोइरालालाई हटाएर विज्ञान शिक्षक याख्खाकी श्रीमती माया राईलाई नियुक्ती गरेको थियो । सोहि विषयमा कक्षा १० का छात्रछात्राले पुराना शिक्षक हटाउन नमिल्ने भनेपछि विवाद मिलाउन सोमबार बिहान विद्यालय प्रशासन र शिक्षक स्टाफहरुको बैठक बोलाइएको थियो ।
बैठक चलिरहेकै बेला विद्यार्थीहरुले शैक्षिक सत्र चलिरहेका अवस्थामा शिक्षक परिवर्तत गर्दा समस्या हुने विषयमा जोड दिएपछि विज्ञान शिक्षक जिमी याक्खाले कक्षा १० का विद्यार्थी डेनिस विष्टलाई लखेटी लखेटी लात्तीले हानेको प्रत्यक्षदर्शीहरुले चियाबारी दैनिकलाई बताएका छन् । ति शिक्षकले डेनिस सहित थप २ जना विद्यार्थीलाई लात्तीले हानेपछि अन्य सहपाठीहरुले याख्खा विरुद्ध प्रतिकार गर्दा विद्यालय क्षेत्र तनावग्रस्त भएको हो । तनाव बढेपछि विद्यालय प्रशासनले स्कुल नै बिदा गरेर मिलाउन कोशिश गरेको थियो । घटनापछि विद्यालय पुगेका अभिभावक समक्ष शिक्षकले गल्ती भएको स्विकार्दै माफी मागेको बताइएको छ । विवाद टुंगोमा भने नपुगेको विद्यालयका सहायक प्रिन्सिपल कुलराज लिम्बूले जानकारी दिए । शिक्षककै गल्तीका कारण यस्तो घट्ना भएको उनको भनाई छ । शिक्षक अभिभावकहरुले पनि शैक्षिक सत्र चलिरहेका बखत बिना कारण कार्यरत शिक्षकलाई हटाएर दोस्रो मान्छे नियुक्ती गर्नु विद्यालय प्रशासनको कमजोरी रहेको टिप्पणी गरेका छन् । अर्को शिक्षकलाई हटाएर नियुक्ती गरिएकी आफ्नी श्रीमतीको पढाई राम्रो नभएको भन्दै असन्तुष्टि पोख्ने विद्यार्थी माथि उल्टै जाईलागेर याख्खाले गल्ती गरेको भन्दै उनलाई कार्वाही गर्न अविभावकले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment