इलाम ९ जेठः साङ्गरुम्बाको पहिरोलाई रोक्न जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले तीन वर्षअघि तारजाली, पर्खाल र बाँस लगाउने काम ग¥यो । यो पहिरो नियन्त्रणका नाममा मात्र अहिलेसम्ममा आधा करोड बढी खर्च भई सकेको छ । जमिनले नै थेग्न नसक्ने पहिरोलाई बाँसको भाटा, तारजाली र पर्खाले थेग्न सकेन ।
वर्षदिन नबित्दै जस्ताको तस्तै भयो । पहिरो जाने क्रम रोकिएको छैन । साङ्गरुम्बाका सनबहादुर राईले भने ‘पैसा मात्र खेर गयो । कतै बाँसको भाटाले पहिरो रोकिन्छ ?’ साङ्गरुम्बा पहिरोको मात्र यो समस्या होइन । जिल्लाका अधिकाशं पहिरो नियन्त्रणको काम अलपत्र परेका छन् । छुट्टिएको थोरै बजेटले तारजाली, पर्खाल, बाँस लगाउने काम बाहेक अरु काम हुन सकेको छैन । नियन्त्रणको यो कामले वर्षादमा बग्ने पहिरोलाई थाम्न नसकेपछि, एक वर्खासँगै पहिरो नियन्त्रणको काम जस्ताको तस्तै अलपत्र हुने गरेको स्थानीयवासी बताउँछन् ।
वर्षेनी पहिरो बढ्ने क्रम नरोकिएकोले पहिरोको समस्यामा परेका स्थानीय जग्गा खरिद गरेर सुरक्षित स्थानमा सर्ने क्रम रोकिएको छैन । जिल्लामा वर्षेनी २५ सय घर परिवार पहिरोको जोखिममा पर्ने गरेको जिल्ला भूसंरक्षण कार्यालय इलामले जनाएको छ ।जिल्लाको साङ्गरुम्बा, इभाङ्ग, चिसापानी, गोदक, कोल्बुङ, लक्ष्मीपुर, बाँझो लारुम्बा, साकफारा, देउमाई नगरपालिकाको धुसेनी, दानाबारी लगायत गाविसमा चार दशक पुरानो पहिरो नियन्त्रण नहुँदा स्थानीयबासीको समस्या ज्यूँका त्यूँ छ । पहिरो नियन्त्रण कार्यक्रम बजेटको कारण प्रभावकारी हुन नसकेको हो । बजेट अभावकै कारण पहिरो नियन्त्रणको माग बढी हुने र काम कम हुन थालेको छ । जिल्लामा बजेट भन्दा पहिरो नियन्त्रणको काम धेरै भएकाले सोचे अनुसार काम हुन नसकेको हो । अझैपनि पहिरो सम्बन्धी विस्तृत अध्ययन गरी तथ्याङ्क संकलन हुन सकेको छैन । वर्षेनी पहिरो बढ्ने तर नियन्त्रणको बजेट नबढ्ने भएकोले पहिरो नियन्त्रणको काम सोचे अनुसार अगाडि बढ्न नसकेको भूसंरक्षण कार्यालय इलामका विजेन्द्र कृष्ण सिंहले बताए । यो वर्षको अहिलेसम्ममा दुई सय बढी पहिरो नियन्त्रण गरिदिन निवेदन परेपनि चार स्थानमा मात्र पहिरो नियन्त्रणको काम भइरहेको छ । कार्यालयको नाममा एक आर्थिक वर्षमा १५ लाख मात्र बजेट पर्दछ । यो बजेटले जिल्लाको इलाम नगरपालिका, गोदक र चिसापानीको पहिरो, बाँझो लारुम्बामा मात्र पहिरो नियन्त्रणको काम भई रहेको छ । चार दशक अघिदेखि नरोकिएको साङ्गरुम्बाको पहिरोले मात्र अहिले सम्ममा १२ घर दलित परिवार सहित १० घर राई परिवार पूर्ण रूपमा विस्थापित भइसकेका छन् ।
पहिरोबाट ६० परिवार आन्तरिक रुपमा विस्थापित भएका छन् । २०२५ सालबाट शुरु भएको पहिरो बर्षेनी बढ्दै गएका कारण त्यहाँको वडा नम्वर १, २, ३, ४ र ६ को ५० प्रतिशत भाग बगेको स्थानीय बताउँछन् ।
२०१२ सालमा केही लच्किएको पहिरोले २०२५ सालमा ठूलै रूप लिएको बताइन्छ । पहिरोले करिब १५ सय रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । क्षेत्रफलको हिसावले जिल्लाकै सबैभन्दा ठूलो पहिरो मानिएको साङ्गरुम्बाको पहिरो गएको क्षेत्र भौगोलिक रुपमा बस्ती योग्य मानिन्छ ।
बाँझो लारुम्बा र साकफारा क्षेत्रमा केही भाग चुरे क्षेत्र भएकोले वर्षेनी माटो बग्ने गर्दछ । अन्य गाविसको पहिरोले भने मानव वस्तीलाई क्षति नगरेपनि भूक्षयको जोखिम बढ्दै गएको छ । यसले हजारौँ रोपनी खेतियोग्य भूमि मरुभूमीमा परिणत हँुदै गएको छ । पहिरो नियन्त्रणमा बजेट बढाई काम प्रभावकारी बनाउन सके मरुभूमीकरण हुनबाट जोगाउँदै खेतियोग्य भूमि बढाउन सकिने पहिरो पीडितहरुले बताउँदै आएका छन् । नयाँबुलन्द डटकम
0 comments:
Post a Comment