मनिषा चम्लागाई
मंगलबारे, २६ वैशाखः नरेन्द्र सुवेदी पेशाले प्राध्यापक हुन् । उनी भानुभक्त उमाविमा अध्यापन गराउँछन् । मानिसले जुनसुकै पेशा र व्यवसाय सञ्चालन गरेपनि आर्थिक उपार्जन गर्नै पर्छ । जीवन चलाउन आर्थिक मानिसलाई अत्यावश्यक वस्तु हो । धेरैले त्यही आर्थिक कमाउने बाटो देख्दैनन् र भौँतारिएर विदेसिन्छन् । तर गर्न सके यही आर्थिक उर्पाजन गर्न सकिन्छ भन्ने उदाहारण दिएका छन् उनै सुवेदीले ।
सुवेदीको दुवै हातमा लड्डु छ यतिबेला । ताकि उनी शिक्षण पेशासँगै अलैँची नर्सरी ब्यवसाय सँगसँगै लिएर अघि बढेका छन् । उनले शिक्षण पेशासँगै देउमाई नगरपालिकामा अलैँची नर्सरी फर्म पनि सञ्चालन गरेका छन् । उनी बिहानको समय कक्षामा हाजिर हुन्छन्, दिउसो फुर्सदको समय सदुपयोग गर्दै अलैँची फर्ममा उत्तिकै खट्छन् ।
उनलाई जति चिनाएको छ शिक्षण पेशाले त्यति नै चिनाएको छ अलैँची नर्सरी फर्मले पनि । ताकि उनले उत्पादन गरेको अलैँचीको विरुवा जिल्लाका विभिन्न गाविस र अन्य जिल्लासम्म पुग्ने गरेको छ । सुवेदीले देउमाई नगरपालिका तीनमा अलैँचीको नर्सरी फर्म व्यवस्थित रुपले संचालन गर्दै आएका छन् । नमूना अलैँची नर्सरी फर्म दर्ता गराएर संचालनमा ल्याइएको सो फर्मका विरुवा किसानले उत्तिकै माग गर्दै आएका छन् । सुवेदीसँगै शिक्षण पेशामा आवद्ध इलाम इरौँटारका मुकुन्द पौड्याल पनि भानुभक्त उ.मा.वि.मा नै अध्यापन गर्छन् । उनी पनि सो फर्ममा आवद्ध छन् । उनले पनि शिक्षण पेशाबाट बचेको समय सोही फर्ममा बिताउँछन् । उनी हाल परिवार सहित मंगलबारेमा नै छन् । घर गएको समयमा छिमेकी गाविस जिर्मलेमा किसानहरुले थोरै जग्गाबाट धेरै आम्दानी गरेको देखेर उनले मंगलबारेमा पनि सोही पेशा अपनाएका हुन् । उनी यस व्यवसायबाट सन्तुष्ट छन् । उनी भन्छन्– ‘एक्लैले गर्ने हो भने शिक्षण पेशा भन्दा यतैबाट राम्रो हुने रहेछ ।’ परम्परागत खेती छाडेर आधुनिक तरिकाबाट गर्न सके हुने रहेछ भन्ने सन्देश मिलेको उनले बताए ।
त्यस्तै देउमाई नगरपालिका तीनका नेत्र खनाल पनि सोही नर्सरी ब्यवसायमा उत्तिकै संलग्न छन् । उनी पूर्व भारतीय सैनिक हुन् । भारतीय सैनिकमा रहँदा क्याप्टेन समेत बनिसकेका उनलाई देख्नेले पेन्सनबाट आएकै रकमले खान र लाउन राम्रैगरी पुग्छ । तर पनि उनको मेहनत र खटाई देख्नेहरुले केहि न केहि पाठ अवश्य नै सिक्छन् । उनीहरुले सुरुवातको बेला करिब एकलाख पचास हजारको लागतमा फर्म सञ्चालन गर्न थालेको बताए ।
खोल्साको कालो सुन उपनामले परिचित अलैँची अन्य बालीको तुलनामा उच्च मूल्यमा बिक्री हुन्छ । उनीहरुले सञ्चालन गरेको फर्ममा जिर्मले (पाखे), घोर्लाङ लगायत स्थानीय गोलसाई र रामसाई जातका विरुवाहरु उत्पादन हुन्छ । नमुना फर्म गत २०७० सालबाट सुरु भएको हो । सुरु गरेको एकै वर्ष अर्थात ७१ सालबाट विरुवा उत्पादन गर्न थालिएको उनीहरु बताउँछन् । उत्पादनको पहिलो वर्ष दुई लाख विरुवा उत्पादन गरि जिल्लाका विभिन्न गाविसमा बिक्री गरेको फर्म सञ्चालक पौड्यालले बताए । उत्पादनको पहिलो वर्ष नै उनीहरुले करिब सात लाख मुल्य बराबरको विरुवा बेचेको बताए । २०७२ सालको उत्पादनमा जिल्ला कृषि कार्यालय इलामले एक लाख विरुवा खरिद गरि अनुदानको रुपमा कृषकहरुलाई वितरण गरेको थियो । यसै वर्ष उत्पादित अन्य एकलाख पचास हजार विरुवा प्रति गोटा ८ रुपैंयाँका दरले इलाम तथा पाँचथरका किसानहरुलाई वितरण गरिएको सुवेदीको भनाई छ । उनीहरुले उत्पादनको दोस्रो वर्ष पनि १३ लाख माथीको कारोवार गरेको बताए । यस वर्ष पनि करिब चार लाख विरुवा उत्पादन हुने उनीहरुले आश लिए पनि खडेरीका कारण घट्न सक्ने उनीहरु बताउँछन् । करिब १५ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको उक्त फर्म संचालन गर्दा सुरुमा जिल्ला कृषि विकास कार्यालय इलामले नर्सरीको लागि बिऊ वितरण गरेको थियो । प्राङ्गारिक, भर्मिङ (गँडयौले मल), कम्पोट मलद्धारा स्वस्थ्य बिजु विरुवा उत्पादन हुँदै आइरेहेको उनीहरुको दाबी छ । सुपारी फल्ने ठाउँ सलकपुर (जिर्मले) देखि गुराँस फुल्ने सम्मको भौगोलिक क्षेत्रमा यसको उत्पादन राम्रोसँग भइरहेको किसानहरु बताउँछन् । साथै फर्मको नर्सरी र उत्पादनमा जनशक्ति आवश्यक पर्दा स्थानीय युवाहरुले रोजगारी समेत पाएका छन् ।
0 comments:
Post a Comment