चियाबारी डेस्क
तस्वीरः विमल धिमिरे
इलाम, २६ वैशाखः इलामको साक्फारा वडा नं. २ र मोरङको टाँडी वडा नं. ७ चुली पोखरीको सिमानामा २२ दिन अघि गएको पहिरोका कारण लावा खोला थुनिएपछि तल्लो भेगका जनता आतंकित भएका छन् । मोरङ र इलामको सीमा भएर बग्ने लावा खोला पहिरोले थुनिएको हो ।
प्रिमनसुन शुरु भएका कारण उत्तरी इलाम र पश्चिमी पाँचथरको मिक्लाजुङ भुभागमा बर्षा भएपछि सो खोलामा पानीको चाप बढ्दै गएको छ । पानी बढ्दै गएपछि पहिरो गएर खोला थुनिएको क्षेत्रमा ताल निर्माण भईसकेको स्थानीय भक्त श्रेष्ठले जानकारी दिएका छन् । १५ दिन अघिनै जिल्ला प्रशासन कार्यालय इलाममा पहिरोको विषयमा जानकारी आएपछि मोरङ प्रमुख जिल्ला अधिकारीलाई घटनाको विषयमा जानकारी गराएको इलाममा प्रमुख जिल्ला अधिकारी जनकराज दहालले बताए । सो समयमानै इलामबाट सो क्षेत्रमा खटिएको टोलीले पहिरो र त्यसका कारण निर्मित तालका कारण उच्च जोखिम नभएको प्रजिअ दहाललाई जानकारी गराएको थियो । त्यसयता पहिरो र त्यसबाट निर्मित तालको विषयमा जिल्ला प्रशासन कार्यालय इलामलाई कुनै जानकारी नभएको प्रजिअ दहालले जानकारी दिए ।
ताल फुट्ने डरले स्थानीयहरु चिन्तित भएपछि मोरङ स्थित प्रमुख जिल्ला अधिकारी तोयम राया नेतृत्वको जिल्ला दैवीप्रकोप उद्धार समितिका पदाधिकारीहरुले सो क्षेत्रको शनिवार स्थलगत निरीक्षण गरेको छ । पहिरो फुट्ने सम्भावना कम भएकाले डराई हाल्नुपर्ने अवस्था नरहेको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताए । पहिरो गएको क्षेत्रमा ठूला ठूला चटटन झरेको र त्यसलाई पन्छाउन असम्भवप्राय भएको उनले जानकारी दिए । चियाबारी दैनिकसँग कुरा गर्दै रायाले भने, “ढुंगाले २० मिटरजति क्षेत्र ढाकेको छ, सो बाँध भएको क्षेत्रमा ठूला ठूला पहरा भएको कारण जान नसकिने अवस्था छ र त्यहाँ पहिरो हटाउन मेसिन लाने कुनै ठाउँनै छैन ।” यसअघि पनि सशस्त्र प्रहरी उर्लाबारी बेसबाट पनि पटक पटक अनुगमनमा गएको त्यहाँका प्रहरी नायब उपरिक्षक भोलाप्रसाद कुसुवाहाले चियाबारी दैनिकलाई बताए । उनले भने, “स्थिति उति जटिल छैन, सुख्खा पहिरो गइनैरहेको भएपनि पानी बग्ने निकास भएकोले उति डराउनु पर्दैन ।” लावा खोला मोरङको नुनसरी खोला हुदै बक्राहा खोलामा मिसिन्छ ।
निरीक्षणमा मोरङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरु, स्थानीय विकास अधिकारी र जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए । बाढीको मौसम शुरु हुन लागेको र मोरङ तर्फबाट गएको पहिरो पन्छाउन अत्यन्त कठिन भएको बारे गृह मन्त्रालयमा जानकारी गराईसकिएको प्रमुख जिल्ला अधिकारी रायले जानकारी दिए । प्रहरीका अनुसार उर्लाबारी र टाँडीका केही वडा जोखिममा रहे पनि मधुमल्लाको २ नम्बर वडाबाहेक सबै वडा, मोरङका टाँडी, मधुमल्ला र उर्लाबारी गाविस जोखिममा रहेको साक्फारा तोरीबारीकी निर्मला घिमिरेले बताइन् । पहिरोका कारण स्थानीय आतंकित बनेको उनले बताईन् । ताल बनेको ठाउँबाट भर्खरै फर्किएका विमल घिमिरेले तालले अझै ठूलो आकार लिनसक्ने बताए । उनले भने, “पानी एकदमै कम मात्र ओभरफ्लो भईरहेको छ, आफै पानीको सतह घट्ने सम्भावना कम छ ।” तालको गहिराई लगभग १०÷१५ मिटर जति गहिरो भइसकेको हुनसक्ने उनले जानकारी दिए ।
0 comments:
Post a Comment