जिर्मले, १४ जेठ: विगतका वर्षमा अत्याधिक काँक्रा उत्पादन गरेर आम्दानी र चर्चा कमाएका जिर्मलेका किसानहरुलाई कहि कतैबाट पनि सहयोग प्राप्त नभएपछि यस वर्षका उत्पादनको मुख्य सिजनमा उत्पादन शुन्य जस्तै भएको छ ।
विगत चार पाँच वर्ष अघिदेखी व्यवासायिक रुपमा उत्पादन गर्न थालिएको स्थानिय जातको कालो काँक्रोबाट एक वर्षमा नै लाखौ रुपैयाँ भित्राउन सफल रहेको किसानहरुमा यातायातको असुविधा, बजार मूल्यको अज्ञानता, रोगको प्रकोप र उत्पादनमो समयमा राजनैतिक दलहरुले गर्ने यातायात बन्दको आव्हानको कारण निरासा जागेकोले उत्पादन घटेको हो ।
जिर्मले चार र पाँच नम्बर वडाहरुमा अत्याधिक मात्रामा उत्पादन हुने गरेको काँक्रा झापाको बाहुण्डाँगी, काकडभिट्टा, चारआली र भारतको नक्सालबाडी सम्म लगेर बेचिने गरेकोमा हर्कटे धजे मोटरबाटो अन्र्तगत गाजले खण्डमा गत वर्षको असार पन्ध्र गते देखि पहिरोको कारण सडक अवरुद्ध रहेकोले किसानले डढाल्नोमा बोकेर घण्टौ सम्म हिडेर झापाको निन्दा सम्म पु¥याउनु पर्ने भएकोले किसानहरुले यसको खेती छाडेका हुन् । यसैगरी गर्मीको समयमा झपाका बजारहरुमा अत्याधिक माग हुने काँक्राको उत्पादनको मुख्य सिजनमा गत वर्ष संविधान घोषणाको सहमती र असहमतीको बिच राजनैतिक दलहरुले लामो समय सम्म गरेको बन्दको कारण किसानले उत्पादन गरेको काँक्रा बारीमानै कुहिएर गएको कारणले पनि यसको खेती गर्न छाडेको किसानहरुको भनाइ रहेको छ ।
कम मेहनत र थोरै लगानीमा धेरै उत्पादन गर्न सकिने काँक्राबाट मनग्गे आम्दामी गर्न सकिने भएर किसानको आकर्षण बढेकामा रोगको कारण पनि किसानहरु पीडित बनेका छन् । अन्य खासै रोग नभए पनि मुख्य गरेर काँक्रा बाङ्गो भएरमा उपभोक्तले नरुचाउने समस्या रहेको छ । उक्त रोगको मुख्य कारण झिँगाको प्रकोप रहेको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालय इलामका कार्यालय प्रमुख प्रकाशकुमार डाँगी सहितको प्राविधिक टोलीले किसानको बारीमा नै पुगेर अवलोकन गरेको र रोग नियन्त्रणको लागि सहयोग गर्ने वचन दिएको तर कुषि सेवा केन्द्र फिक्कलमा पुगेका किसानहरुले कुनै सहयोग नपाएको किसानहरुको गुनासो रहेको छ ।
गत वर्ष जिर्मले चार रम्भ्याङ्गबाट मात्रै काँक्राको आम्दानी पच्चीस लाख रुपैंयाँ भन्दा बढी रहेको र एक किसानले मात्रै एक लाख रुपैंयाँ सम्म भित्राएको जिर्मले चारका किसान रुद्र रिजालको भनाइ रहेको छ ।
हालसम्म कुनै रासायनिक विषादी र हर्मोनको प्रयोग नगरिएको काक्राँमा झिँगा नियन्त्रणको लागी फेरामेन्टको प्रयोग उपयोगी मानिन्छ । तर यसको अभावमा काँक्राको आकार बाङ्गो हुने, काँक्रामा झिँगाले औंसा (किरा) पार्ने र उपभोक्ताले नरुचाउने समस्या रहेको छ ।
कृषि प्रधान मुलुकमा निर्यातमुखी खेतीलाई प्रवर्धन गर्न नसकिएको कारण निरासा बढेर दिनै हजारौ युवाहरु विदेशिएर गाउँनै रित्तो भइरहेको बेलामा गाउँमै सानातिना लगानीका व्यवसायहरुमा सरकारले सहयोग गर्न सके स्वरोजगार र स्वावलम्वी समाजको स्थापना गर्न सबैले ध्यान दिनु जरुरी देखिन्छ ।
0 comments:
Post a Comment