चन्दा र ऋणबाट जीतपुर–महमाई–दानाबारी–झापा सडक संचालन

जीतपुर, २७ वैशाखः विकास निर्माण गर्दा होस् वा जुनसुकै कार्यका लागि सरकारी मुख ताक्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ । 
सधैँभरि विकास निर्माणमा सरकारी मुख ताक्नुपर्ने प्रथाको अन्त्य गर्दै जिल्लाको पश्चिमी जीतपुर गाविसका बासिन्दाले ऋण काढेर सडक निर्माण गरी उदाहरण प्रस्तुत गरेका छन् । गाउँमा बस चलाउन जीतपुरबासीले प्रत्येक घरबाट चन्दा उठाएर सडक निर्माण गरेका हुन् । ८४ लाख रुपैंयाँको लागतमा जीतपुर नवमीदेखि लिङ्दिन हुँदै फुलुङ्गी दोभानसम्मको करिब १३ किलोमिटर सडक स्थानीयले चन्दा सङ्कलन र ऋण काढेर निर्माण गरेका हुन् । 
सडक बनाउन आधा जति रकम चन्दाबाट सङ्कलन गरेका छन् भने आधा जति ऋण लिएको सडक निर्माण तथा उपभोक्ता समिति अध्यक्ष गङ्गाप्रसाद प्याकुरेलले बताए । ‘सबैले आआफ्नो क्षमताअनुसार पाँच हजार देखि एक लाख आठ हजार रुपैंयाँ सम्म चन्दा दिए’, अध्यक्ष प्याकुरेलले थपे,– ‘चन्दाबाट मात्रै ३२ लाख रुपैंयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।’ सडक खन्न पैसा दिनेलाई किरात धर्मगुरु आत्मानन्द लिङ्देनले ताम्रपत्रसहित आशीर्वाद दिने भएपछि जिल्ला बाहिरबाट समेत बाटो निर्माणका लागि चन्दा सङ्कलन भएको छ । 
सडक बनाउन जीतपुरका श्याम खजुमले एक लाख आठ हजार रुपैंयाँ चन्दा दिएका छन् । झापाका दीपक मगरले ९० हजार रुपैयाँ बराबरको इन्धन उपलब्ध गराए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द गिरी, समिति अध्यक्ष प्याकुरेलले ५०–५० हजार रुपैयाँ बाटोमा चन्दा दिएका छन् । 
सामुदायिक वन उपभोक्ता समूह, किरात धर्मगुरू आत्मानन्द लिङ्देनले पनि सडकका लागि चन्दा दिएका छन् । इलाम पाँचथर, ताप्लेजुङ र धरानका मानिसले पनि चन्दा दिएका छन् । सडक निर्माणका लागि अपुग रकम स्थानीयसँग सापटी लिएको निर्माण समितिले जनाएको छ । 
सडक निर्माणका लागि सबैभन्दा बढी धर्मगुरुबाट ३१ लाख रुपैंयाँ सापटी लिएको र अपुग रकम अन्यबाट लिइएको छ । पहिले सात फुट चौडाइको सडक थियो । त्यसलाई तीन गुणाभन्दा बढी बढाएर २४ फुटको बनाइएको छ । १३ किलोमिटर सडकमा तीन किलोमिटर नयाँ ट्रयाक बनाइएको छ । २०७० चैत २८ गतेदेखि निर्माण थालिएको बाटो २०७२ चैत २३ गतेसम्म निर्माण गरिएको थियो । चन्दा र ऋण काढेर डोजरको सहायताले सडक बनाइएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment