इलाम, १९ जेठः वि.सं. १९९६ वैशाख ११ गते इलाम नगरपालिका वार्ड नं. ८ मा जन्मिएका वेदप्रसाद पोखरेलको बाल्यकालको अनुभव सुन्दा लाग्छ बाल्यकालमा उनले दुख र पिडा बाहेक अरु केही पनि भोगेनन् । पोखरेलले आफनो बुबा आमालाई बाल्यकालमै गुमाए । जन्मेको ४ महिना हुँदा आमा गुमाए, त्यसको दुई महिना पछि पिता । इलाम नगरपालिकाको सिङफिरिङमा उनको मावली घर थियो, मावली घरमानै उनको जन्म भएको हो । माता पिताको मृत्यु पछि उनको पालनपोषणको गर्ने काम मावलीहरुले नै गरे । उनको मावलमा छोरीहरु मात्रै थिए त्यसैले पनि होला उनले मावलमा छोराको जत्तिकै माया ममता पाए । मावली घरमानै उनको बाल्यवस्था बित्यो, यौनावस्था पनि । पोखरेलले इलामको शिक्षा क्षेत्रमा लामो योगदान गरेका छन् । ३२ वर्ष सम्म लगातार शिक्षण पेशामा आफूलाई समर्पण गरेका पोखरेल वि.सं. २०५६ सालमा रिटायर्ड भए । यस पटकको हाम्रो सिनियर सिटिजन स्तम्भमा तिनै पोखरेलको बाल्यवस्था र जीवन अनुभुति प्रस्तुत गरेका छौ ।
मेरो जन्म इलाम नगरपालिकाको वार्ड न. ८ मा भएको हो । मैले आफू चार महिना हुँदा आमा र ६ महिनाको हुँदा बुबा गुमाएँछु । मेरो लालनपोषणको सम्पूर्ण काम मेरो मावलका हजुरबुवा, हजुरआमाले नै गर्नुभएको हो । मेरो मावलमा छोराहरु कोही पनि थिएनन् । हजुरबुवा, हजुरआमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मैले बुवा आमाको स्नेह र माया त्यति पाएको होइन । म मावलका हजुरबुवा, हजुरआमालाई बा आमा भनेर सम्बोधन गर्थे । मलाई औधी माया गर्नुहुन्थ्यो बा, आमा । बा, आमाले हामीलाई सानो छँदा दिनको एकपटक मात्र खेल्न दिनुहुन्थ्यो । हामी केटाकेटी पाङग्रा खेल्थ्यौ । माइखोलासम्म हामी गाईवस्तु चराउन जान्थ्यौ, गोठालो हाम्रो दिनचर्या थियो ।
म बाह्र ते¥ह वर्षको भए पछि स्कूल जान थालेको हुँ । तर त्यतिखेरसम्म मैले शिक्षाको सामान्य ज्ञान लिइसकेको थिएँ । गौरीशंकर घिमिरेका बालाई राणाहरुले इलाममा पुराण भन्न ल्याएका थिए । हामी माइला बा भन्ने गथ्र्यौ उहाँलाई । म पनि माइला बासँग क, ख सिक्न जान्थे । बिहान बेलुका क, ख पढ्ने दिउँसो गोठालो यस्तै थियो मेरो बाल्यवस्था । केटाकेटी हुँदा सँधै म बा, आमाकै छेउमा नै बस्नु पर्ने । फोहोरी कुरा खानु हुँदैन, बिग्रनु हुँदैन भन्दै सम्झाउनुहुन्थ्यो ।
वि.स. २०११ सालमा म हालको आदर्श माविमा कक्षा दुईमा भर्ना भए । काठको पाटी बनाएर कालो दल्थ्यौ अनि हामी त्यही लिएर स्कूल जान्थ्यौ । बजारमा दुधखरी किन्न पाइन्थ्यो त्यसले नै लेख्ने गर्थे म । मेरा कति साथी त दुधखरी खान्थे पनि । दुधखरी खाँदा मिठो पनि हुन्थ्यो । दुई कक्षामा पास भएर म तीन कक्षामा भर्ना भएँ ।
वि.सं. २०१४ साल असोजमा मलाई अर्को ठूलो समस्या आइलाग्यो । मेरी आमा अर्थात हजुरआमाको मृत्यु । बिहीबारको दिन थियो, म विद्यालय गएको थिएँ । बिहीबार बिहान पढाई हुन्थ्यो । आमाले त्यो दिन मलाई बजार लगेर लुगा किनिदिने कुरा थियो । म विद्यालयबाट फर्केर आउँदा आमा घरमा हुनुहुन्थेन । बासँग सोध्दा खेतमा पानी हाल्न गएकी छ भन्नुभयो । आमा त्यहाँबाट ढिलो सम्म पनि आउनु भएन । आमा खोज्न म खेततिर लागेँ । खेतमा पानी पनि हालेको छ तर म आमालाई कतै पनि देख्दिन । खोज्दै जाँदा त आमा खेतमा लडिरहेको देखेँ । कञ्चटबाट रगत बगिरहेको थियो । खुट्टा छोपेको थियो । आमाले सुनको चुरा लाउनु भएको थियो, त्यो थिएन । मारबाडी पनि थिएन । फुली चै लगाइरहेको अवस्थामा नै थियो ।
यो घटना पछि म चौकी गएँ । चौकी हालको माइस्थानमा थियो । चौकी गएर मैले मौखिक रुपमा नै उजुरी गरेँ । त्यतिखेर मौखिक उजुरी गर्दा पनि हुन्थ्यो । गोलाखर्कका मानसिंह भुजेल प्रहरी थिए । उनकै कमाण्डमा हाम्रा केही छिमेकी र मलाई समेत प्रहरीले पक्रेर लग्यो । उ कडा किसिमको थियो । हामीलाई हप्काइरहन्थ्यो । मानप्रसाद घिमिरे (विष्णुप्रसाद घिमिरेका बुवा, बरबोटे) त्यहाँका इञ्चार्ज हुनुहुन्थ्यो । उहाँले हप्काउन दिनु हुन्नथ्यो । सर्जिमीन फूलपातीको दुई दिन अघि थियो । सर्जिमीन पछि हामी सबैलाई प्रहरीले छोडदियो, दाहसंस्कारको लागि स्विकृति भयो । हामीले आमालाई खोला लगेंनौ । जमिन खनेर गाड्यौ । लास बोक्न सक्ने अवस्थामा नै थिएन । आमाको दाहसंस्कार मैले नै गरें । आमाको मृत्युको मुद्दा अदालतमा चलिरहेको थियो, २०१७ सालमा पोलिसाबुत गर्न नसकेको भन्दै उल्टै मेरो विरुद्धमा अदालतले फैसला ग¥यो । मैले दुई वर्ष छ महिना जेल सजाय काट्नु पर्ने फैसला सुनायो अदालतले । म त्यतिखेर कक्षा ४ मा पढ्थे ।
अदालतले मेरो विरुद्धमा फैसला गरेपछि मैले विद्यालयमा निशुल्क पढ्न पाउनु पर्ने आशयका साथ निबेदन हालेँ । त्यो बेला भक्तबहादुर कोइराला, सूर्य रञ्जितकार, नन्द शिवाकोटी लगायतका शिक्षकहरु थिए । कमल पराजुली प्रधानाध्यापक हुुनुहुन्थ्यो । विद्यालयको संरक्षक बडाहाकिम हुन्थे । मेरो निवेदनको बारेमा विद्यालयमा ब्यापक छलफल भएछ, जहाँ तत्कालिन बडाहाकिम सन्तवीर लामा पनि थिए रे । सन्तवीर लामाले अदालतका सुब्बा रामबहादुर नेम्बाङलाई (सुवाष नेम्बाङको बुबा) तत्काल खबर गरेर मेरो बारेमा जानकारी लिएछन् । सन्तवीर लामाले रामबहादुर नेम्बाङलाई जोे आमाको मृत्यु भएर खोज्न आएको छ त्यसैलाई थुन्ने भन्दै हप्काएछन् । यो केटालाई तुरुन्त प्रक्रिया मिलाएर छोड्नु भनी रामबहादुर नेम्बाङलाई निर्देशन गरेछन् ।
बडाहाकिमले मलाई बोलाएर सोधे “ओइ तेरो को आफ्नो मान्छे छ ? तेरो आफ्नो मान्छे लिएर आइज” । मेरो सानोबुवा होमनाथ बास्तोला तिल्केनीमा हुनुहुन्थ्यो । उहाँलाई लिएर आएँ र उहाँको जमानीमा मलाई छोडे । म सिधै घर गएँ । घरमा बा एक्लै हुनुहुन्थ्यो । पछि २०२२ सालमा मैले म्याङ्लुङमा पुनरावेदन हाले र त्यहीबाट मेरो पक्षमा फैसला भयो ।
वि.सं.२०२४ सालमा म कक्षा ६ मा भर्ना भए । २०२५ सालमा सात कक्षा उतिर्ण गरें । २०२६ सालमा एस.एल.सी. दिएँ । त्यो बेला ग्रयाजुएटले एस.एल.सी दिन सक्छ भनी सिफारीस गरेको अवस्थामा एस.एल.सी.को परिक्षा दिन सकिन्थ्यो । मलाई केदारनाथ बास्तोलाले सिफारिस गर्नुभयो र मैले एसएलसी दिएँ तर परिक्षामा असफल भएँ । तर एसएलसी दिनु भन्दा पहिले नै मैले नर्मल तालिम लिइसकेको थिए । सात कक्षा पास भएको मान्छेले इलाममा त्यो तालिम लिन पाइन्थ्यो । एक वर्षको तालिमपछि म नर्मल तालिममा पास भए ।
मैले वि.सं. २०२४ सालदेखि नै शिक्षण पेशा गरेको हु । मैले २०२४ सालदेखि जनकल्याण प्रावि सिङफिरिङमा प्रधानाध्यापकको रुपमा काम गर्न थाले । विद्यालयलाई मैले नै बाह्र आना जग्गा पास गरिदिए । मैले पढाएका विद्यार्थी जनक प्रसाई, बालकृष्ण भट्टराईहरु नामुद डाक्टरहरु छन् । उनीहरुका बारेमा सुन्दा खुसी लाग्छ । २०२७ सालमा यहाँबाट सरुवा भएर म जिर्मलेको रम्भ्याङ सरुवा भएर गए । त्यहाँ पनि म प्रधानाध्यापक नै थिए । जिर्मलेमा म बसेको ठाउँमा बाक्लो राई बस्ती थियो । म स्थानीयलाई पढ्न प्रेरणा दिन्थे । उनीहरु पढ्न त्यति मन गर्दैन थिए । म त्यहाँ जाँदा विद्यालय स्विकृति भएको थिएन । विद्यालय स्विकृतिको लागि पनि पहल गरें । अन्तत विद्यालयले पनि स्विकृति पायो । रम्भ्याङमा एक जनाको मात्रै दरबन्दी थियो । स्थानीयबासी र मेरो समेत पहलमा लोकबहादुर घिमिरेलाई महिनाको पचास रुपैंयाँ दिने गरी नियुक्ति दियौं । अहिले त्यो विद्यालय माविमा परिणत भएको छ । खुसी लागेको छ । २०३० सालमा नयाँ शिक्षा लागु भए पछि म फेरि सरुवा भएर पुरानै स्थानमा आएँ र लगातार रुपमा २०५६ साल सम्म त्यही पढाएँ ।
हाम्रो पालामा शिक्षकहरु कति धेरै मेहनती थियौ । मेहनतले पढाउने गथ्र्यौ । विद्यार्थीहरु शिक्षकहरु सँग डराउँथे, सम्मान पनि गर्थे । मैले त विद्यार्थीको दिशा समेत धोइदिएको छु । थोरै पढेका शिक्षक भए पनि पढाइ राम्रो हुन्थ्यो । शिक्षकहरु पनि विद्यार्थीलाई माया गर्ने गथ्र्यौ । अहिले त विद्यार्थीले शिक्षकसँग मागेर खैनी खाने चलन छ । शिक्षा क्षेत्र विकृत हुँदै गएको छ । विद्यार्थीले पनि शिक्षकलाई नटेर्ने चलन चलेको छ । यस्तो कुरा सुन्दा दुख लाग्छ ।
0 comments:
Post a Comment