पाँचथर, ३१ जेठ ः पाँचथर जिल्लामा गर्भपतन गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७१÷७२ मा एक हजार तीन सय ९४ जना महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा एक हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा तीन सय ४९ जनाले गर्भपतन गराएका हुन् । आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार आ.व. २०७२÷७३ साउनदेखि वैशाखसम्म जिल्ला अस्पतालबाहेक अन्यत्र आठ सय ८३ जनाले गर्भपतन गरेको पाइएको छ । पछिल्लो समय गर्भपतन गराउने क्रम बढेपछि त्यसको न्यूनीकरणको निम्ति भन्दै जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति पाँचथरले जिल्लामा रहेका औषधी पसललाई औषधी व्यवस्था विभागमा सूचीकृत गराएर मात्रै गर्भपतन सम्बन्धी औषधी बिक्री वितरण गर्न दिने र गैरकानुनी रुपमा गर्भपतन गराउने विज्ञापन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बाह्र हप्तासम्मको गर्भ, हाडनाता र जबर्जस्ती करणी भए १८ हप्तासम्म, महिलाको ज्यान खतरामा पर्ने वा शारीरिक वा मानसिक रुपमा गम्भीर असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्यता प्राप्त चिकित्सकको सुझाव अनुसार गर्भपतन गराउने व्यवस्था रहेको संयोजक भण्डारीले बताए ।
गर्भनिरोधक सामग्रीको प्रयोग नगरेका कारण पनि गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि भएको हुन सक्ने उनको भनाइ छ । अहिले जिल्लामा ३२ प्रतिशत महिलाले मात्रै गर्भनिरोधक सामग्री र औषधीको प्रयोग गर्दै आएका छन् ।
0 comments:
Post a Comment