प्रवासमा भोगेको आफ्नो अनुभूतिः

मेरो नामः– ओमप्रकाश आचार्य 
नेपालको ठेगानाः– श्री अन्तु ३, इलाम 
मलेसियाको ठेगानाः– जोहरबारु, कुलाई 
फोन नम्बरः– ०१३७१८२०६०
प्रवासी शब्द सुन्दै पनि कताकता मन चसक्क हुन्छ । घरपरिवार, साथीसंगीहरु र जन्मभूमिलाई छाडेर प्रवासी बन्ने रहर शायद कसलाई पो होला र ? तर पनि कोही गुणस्तरी पढाईको लागि, कोही आर्थिक रुपमा सबल बन्नुको लागि प्रवासिनु बाध्य बनेका छन् । त्यसरी प्रवासिनेहरुमा अधिकांस यूवायुवतीहरु सीप विकास तालिम र अनौपचारिक शिक्षा बिना नै घरपरिवारको भविष्यका निम्ति खाडीमुलुक पस्नेको अवस्था निक्कै दयनीय रहेको छ । 
म पनि आजभन्दा करिब चार वर्ष अगाडी विदेसिनेको लर्कोमा परे । हातमा डिप्लोमा गरेका मानिसहरु प्राईभेट बोर्डिङ स्कूलमा जगिरे हुनुपर्ने बाध्यता भएको मेरो देशमा सरकारी जागिरको लागि त सोझासिधा परिवारका युवाहरुले नसोचे पनि हुन्छ । जसको प्राप्तिको लागि राजनैतिक नेताको आशिर्वाद वा त घुस दिनु बाध्यात्मक जालोले जकडिएको अवस्था छ । 
सरकारी जागिर हामी जस्ता परिवारको लागि, “लंकामा सुन छ, काम मेरो बुच्चो“ भने झै अवस्था छ । देशमा विद्यमान बेरोजगारका कारण विदेशिनेहरु दिनदिनै बढेर गएको छ । त्यसै विदेशिनेहरुको माझ म पनि एक बने । 
मैले पनि आफ्नो घरपरिवार, साथीसंगीहरु र प्राण भन्दा प्यारो जन्मभूमिबाट केही समय टाढा रहने सोचका साथ आफ्नो स्वर्णिम योजनाको लागि २०७०।३।१० मा मलेसिया जाने तय गरे । 
प्रवास भन्नु साथ मेनपावरले चलखेल गर्ने खर्क भन्दा फरक नपर्ला, अनि मेनपावरहरु चाहि वैधानिकता पाएको मानव बेचविखन गर्नु पाउने मानव तस्कर भन्दा फरक नपर्ला । किनकि यी मेनपावरहरुको कारण आज धेरै श्रमिकहरु विदेशमा दुख पाएका छन् । 
मैले पनि मेनपावरसँग सामसुङ कम्पनीको लागि भनेर भिषा प्रोसेसिङ गराए । साम्सुङ कम्पनीको निम्ति अन्तरवार्ता पनि दिईकन घर फर्किए । केही समय (महिना) पछि मेनपावरले मलाई कल गरेर भन्यो, लु तपाई झट्ट पैसा लिएर आउनुहोला तपाईको भिषा झरेको छ ।“ म पनि परदेशिनुलाई हतारमा थिए, ऐजेन्टको फोन आएपछि पैसाको चाँजोपाजो मिलाएर म घरपरिवारसँग बिदा लिएर काठमाण्डौ हानिए । जब म काठमाण्डौमा ऐजेन्टको सम्पर्कमा पुगे तब पो म झस्किए । किनकि मैले सामसुङ कम्पनीको लागि एप्लाई गरेर अन्तरवार्ता दिएको थिए तर मेरो भिषा सामसुङ नभएर अन्य कम्पनीको थियो । 
ऐजेन्टसँग मैले धेरै विवाद गरे तर ऐजेन्टले अनेकौ बहाना सुनाउदै सामसुङ कम्पनी जस्तै यो कम्पनी छ भनेर मलाई सम्झाई बुझाई गर्न थाल्यो । मैले पनि सोचे– म घरबाट बिदावारी लिएर हिडीसकेको मान्छे के घर फर्किनु आ... होस् है भन्ने सोचेर ऐजेन्टलाई पैसा बुझाएर उडानको समय पर्खेर बसे । 
ऐजेन्टले प्रवासीने पहिलो खुडकिलामा नै मलाई त्यसरी झुक्कायो । जब उड्ने दिन भयो, हामी एकैलटका सबै भेला भएर एयरपोर्ट पुग्यौ । मलेसिया एयरपोर्ट आईपुगे पछि श्रमिकहरुले भोग्नुपरेको कठिनाई वर्णन गरी साध्य छैन् । भाषाको अज्ञानताले एयरपोर्ट प्रतिक्षालयमा ऐजेन्ट पर्खिदा धेरै श्रमिकहरुलाई त्यहाँ कार्यरतहरुको रेला प्रहरीहरुले गाली र लात हान्ने जस्ता दुव्र्यवहार गरेको देखियो । कतिपय साथीहरु हप्तादिन, पन्ध्र दिन देखि भोकप्यास सहेर बसेकाहरु थिए । 
त्यो अति दयनिय अवस्था देख्दा ऐजेन्टलाई त्यसै मानव बेचविखन गर्ने भनेको होईन रहेछ भन्ने जो कोहीले पत्याउनेछन् । म त्यस ठाँउमा चौबीस घण्टा बिताउदाको क्षण सम्झनु पनि चाहान्न् । मैले पनि एयरपोर्टमा चौबीस घण्टा पर्खिनु परयो । हामीलाई लिन कम्पनीको मान्छे आएपछि, कानूनी प्रकृया सकेर हामी कम्पनी तर्फ जान जान लाग्दा ती एयरपोर्टमा भएको साथीहरु निरिह प्राणी झै हामीलाई हेरिरहेका थिए । उनीहरुलाई भावनात्मक सहानुभूति र हौसलाका साथ मैले आफूसँग बचेका खानेकुरा (चिउरा, बिस्कुट र चाउचाउ) दिएर कम्पनीको मान्छेसँग लागे । 
हामीलाई कम्पनीमा ल्याएर होस्टेल पु¥यायो । कम्पनीले पनि अन्तरवार्ता लिने गरेको रहेछ, हामी सबैसँग अन्तरवार्ता लियो । म अंग्रेजी भाषा बोल्नुका साथै ईलेक्ट्रिक काममा पनि अनुभव भएको कारण मलाई राम्रो स्थानमा कम्पनीले काम दियो, मेरो डिपार्टमा सुपरभाईजर पनि मिलनसार पाए साथै मसँग रहेका साथीहरु पनि अति मिलनसार पाउनु परदेशी जीवनमा मेरो अहोभाग्य नै ठाने । मैले मेरो ईष्टदेवतालाई धन्यवाद दिनैपर्छ, कारण यो परदेशमा अतिकष्टर जीवन यापनको सामाना त्यति गर्नुपरेन मैले । तसर्थ भगवानलाई धन्यवाद छ । 
मसँगै आएका साथीहरु अन्य डिपार्टमा परे जहाँ ति साथीहरुले नरकीय जीवन झै कष्टकर कामको सामना गर्नुपरेको छ । हामीलाई ऐजेन्टले विभिन्न ईन्सेन्टिभ र राम्रो तलब पाउने कुरा गरेता पनि त्यो बिना आधार गरेको थिएछ भन्ने कुरा हाम्रो पहिलो सेलरी बाटै प्रमाणित भयो । 
हामीसँगै आएको साथीहरुले न्यून पारिश्रमिक र कष्टकर काम गर्नु पर्ने हुदाँ मानसिक पिडा भोग्दै जादा दुईजना साथीहरु मानसिक सन्तुलन बिग्रिएर नेपाल फर्किनु परयो । विचरा तिनीहरुको परिवारमा कस्तो समस्या भयो होला परदेश लाग्दाको ऋण अनि त्यस माथी उपचारको भार.....। हैट् ऐजेन्टले यसरी कतिको जीवन बर्वाद पारेको होला ? 
कतिपय अवैधानिक बन्नुपरेको घटनाहरु अलग छन् । उनीहरु एक प्रतिनिधि पात्र मात्रै हुन । परदेश एकदमै कष्टकर छ । तसर्थ सकभर स्वदेशमा नै गरिखाऔं । परदेश सकभर पस्नै नपरोस भन्ने कामना साथ आफ्नो घर फर्किने दिन को कुराईमा रहेको छु । 
परदेशिने सोच भएका साथीहरु लाई मेरो सन्देशः– सकभर नेपाल मा नै रोजगारीताको विकल्प खोजौ । परदेशिनै पर्ने भए सीप सिकौ, अनि त्यहि सीप अनुसारको काममा एप्लाई गरौं । जुन देश जाने हो त्यस देशको भाषा सिकौं । कुलत र विसंगतिहरुमा नफस्ने दृढ सोच बनाऔं । आफ्नो लक्ष्य र घरपरिवारको भविष्यलाई अन्तिम विन्दु बनाऔं । परदेशमा लुटपाट हुने स्थानहरु, साधनहरु पहिचान गरेर बेलैमा सजक बनौं । परदेश लागेपछि त्यो ठाँउमा संगठित बनेको जिल्लाबासी संघसंस्थामा सदस्यता लिएर संस्थामा आवद्ध बनौं । तब तपाईहरुको परदेशी जीवन कष्टकर हुनेछैन् । 
जय इलाम, जय श्रमिक ।
यस स्तम्भका सम्पादक ः बुद्धिमान राई ‘मुर्ख’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment