पाँचथरमा असार अन्तिमसम्म एक करोड चौबीस लाख बजेट सक्न धौ–धौ


पाँचथर, २१ असारः ठुलो परिमाणको रकम फ्रिज हुने सम्भावना बढेपछि पाँचथरको फिदिम स्थित नयाँ शहर आयोजनाले १४ असारमा आठवटा उपभोक्ता समिति गठन गरेर १ करोड २४ लाख रुपैंयाँको काम गराउन योजना सम्झौता ग¥र्यो । २४ असार भित्रै काम सम्पन्न गर्ने सर्त सहित सम्झौता गरिएका ती योजनाको काम असार १५ देखि शुरु भएका छन । मध्य असारमा सम्झौता गरिएका योजनामा कतै तीनवटा स्काभेटर लगाएइको छ भने कतै ज्यामी लगाएर धमाधम नालीपेटी निर्माण गरिँदैछ ।
नयाँ शहरसँग उपभोक्ताले २४ असार भित्र सक्नेगरी १४ गते सम्झौता गरेका योजनाहरुमा फिदिम–२ पल्लोटार एक्लेवरबाट जोरसाल जोड्ने सडक स्तरोन्नतीमा ३० लाख, तुम्देनचोकबाट थाङसाङखोला हुँदै जल्पादेवी जोड्ने सडकको स्तरोन्नतीमा १५ लाख, फिदिम ४ वेलफेयर चिसापानी फलाँटे हुँदै जोरसाल जोड्ने सडक स्तरोन्नतीमा २५ लाख, बसपार्कबाट बुलबुले सम्म नाला निर्माणमा १४ लाख, फिदिम–२ बसपार्क स्थित जलकन्यादेवी क्षेत्र परिसर सुधार १५ लाख, फिदिम–५को थाक्ले जाने सडक स्तरोन्नती र मन्दिर परिसर सुधारमा १० लाख, सशस्त्र क्याम्पबाट फिदिम–२ थाङसाङखोलासम्म नाला निर्माणमा ५ लाख र फिदिम–२ स्थित मोटरबाटोमा पर्ने जामुने खोल्सीमा कल्भर्ट निर्माणमा १० लाख रुपैंयाँ छन् ।
नयाँ शहर मात्रै होइन फिदिम नगरपालिका मार्फत सम्झौता गरिएका पुतलीचौक–फलाँटे–केराबारी हुँदै पावर हाउस जोड्ने मोटरबाटो, मझिटे–त्रिकोण सडक निर्माण तथा मर्मत र मायालुमोड–तिनमौले पात्ले भञ्ज्याङ आदी सडक खण्डमा समेत १५ असारसम्म दिन–रात स्काभेटर लगाइदैछ । यस्तै जिविस र जिल्ला प्राविधिक कार्यालय मार्फत सञ्चालन गरी सम्झौता गरिएका डेढ दर्जन बढी योजनाको काम हुन नसकेकाले असार मसान्त सम्ममा आर्थिक र भौतिक प्रगति देखाउने उद्देश्यले काम गरिँदैछ ।
अन्तिम असारमा हामीलाई सडक स्तरोन्नतीका लागि रकम विनियोजन भएको छ, २४ गतेभित्र काम सक्ने भए सम्झौता गरौं, नत्र सबै रकम फ्रिज हुन्छ भनेर नयाँ शहर आयोजनाका प्रमुख ललित नेपालले जानकारी गराउँनासाथ सम्झौता गरेर काम थालेको वेलफेयर–चिसापानी फलाँटे हुँदै जोरसाल जोड्ने सडकको स्तरोन्नती गरिरहेको उपभोक्ता समिति अध्यक्ष प्रताप लावतीले बताए । २४ असार भित्र सबै काम गर्ने शर्त सहित गरिएको उक्त सम्झौता अनुसार लावतीको समितिले २५ लाख लागतमा करिब ४ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । सम्झौता मितिदेखि १० दिनभित्र काम सक्नुपर्ने उक्त आयोजनामा रातारात ४ वटा स्काभेटर पु¥याइएको छ ।
आर्थिक वर्ष शुरु भएको एघार महिनासम्म चुपचाप बसेको नयाँ शहर सहित जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, नगरपालिका र गाउँ विकास समिति मार्फत सञ्चालन हुने अधिकांश योजनामा यतिखेर धमाधम स्काभेटर, जेसिविसँगै ग्रेडर र रोलर जस्ता उपकरण लगाइदैँछ । यी निकाय मार्फत सञ्चालन हुने भौतिक मात्रै नभएर लक्षित वर्गका लागि छुटिएको बजेट मार्फत सञ्चालन हुने क्षमता अभिबृद्वी आदी शिर्षकका तालिम र गोष्ठीहरु पनि यतिखेरै सञ्चालन गरिँदैछन । बजेट फ्रिज हुने नदिने उद्देश्यले मात्रै आर्थिक वर्षको अन्त्यमा हतार हतार मेसिन लगाउँदा जेनतेन चलिरहेका सडक हिलाम्ये भएर कामै नदिने अवस्थामा पुगेका छन भने सर्वसाधारणले लगाएको बालीनाली र घरमा समेत क्षति पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment