जर्नादनले अलैंची नर्सरीबाट जगाएको आशा


ताप्लेजुङ, २१ असार ः आफ्नो जीवनको करिब सड्तीस वर्ष शिक्षण पेशामा संलग्न रहेर अनिवार्य अवकास पाएका ताप्लेजुङको हाङ्पाङका जनार्दन प्रसाईले यो वर्ष करिब एक लाख ५० हजार बढी अलैंचीको बिरुवा उत्पादन गरि बिक्री गरेका छन् । 
गत २०५८ सालमा जागिरबाट बाहिरिए पछि घर छेउमा रहेको आफ्नै १३ रोपनी क्षेत्रफलको जग्गामा २०७० सालमा नर्सरी शुरु गरी यो वर्ष बिरुवा बिक्री गरेका हुन् । २०७० सालमा जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङको सहयोगमा प्रसाईले नर्सरी शुरु गरेका हुन् । लामो समय सम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख रुपैँयाँ नसमाएका प्रसाईले बिरुवा उत्पादन पछि चार लाख बढी नगद समात्न पाउदा गौरव लागेको बताए । प्रसाईले उत्पादन गरेको बिरुवा सिन्धुपाल्चोक सम्म पुगेको छ ।
सिन्धुपाल्चोक मेलम्चीका रमेश ढुंगानाले एकै पटक ८५ हजार बिरुवा लगेको प्रसाईले बताए । ढुंगानाबाट एकै पटक चार लाख २५ हजार पाउदा प्रसाईले गौरव लागेको सुनाएका छन् । उनले भने ‘३७ वर्ष सम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख समात्न पाएको थिईन, तर नर्सरी गरेर बिरुवा बेच्दा मोटो रकम समात्न पाए गौरव लाग्यो, यो पैसा समाज सेवामानै खर्च गर्छु’ । गाँउघरमा प्रति गोटा १० देखि १५ रुपैँयाँका दरले बिक्री वितरण हुँदै आएको अलैंचीको बिरुवा प्रसाईले ५ रुपैँयाँका दरलेनै बिक्री गरेका छन् । धेरै लानेलाई ५ रुपैँयाँका दरले नै दिएको र थोरै मात्रामा लानेलाई ८ रुपैँयाँ सम्ममा बिक्री गरको उनले बताएका छन् । 
केही बिरुवा गाउँमा बिक्री भएको र अब बाँकी रहेको करिब १५ हजार बिरुवा जिल्ला कृषि विकास कार्यालयलाई दिने तयारी भईरहेको उनले बताए । बिरुवा उत्पादन तथा बिक्री गरेर जम्मा भएको पैसा समाज सेवामानै खर्च गर्ने बताउदै आएका प्रसाईले २०५८ साल देखिनै स्थाीनय सरस्वती उच्च माविको बाल कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई दैनिक खाजा खुवाउदै आएका छन् ।
केही रकम त्यही खाजा खुवाउने कार्यमा खर्च गर्ने र बाँकी रहेको रकमले त्यही विद्यालयमा छात्रवृत्ति अक्षकोष निर्माण गर्ने प्रसाईले बताएका छन् । नर्सरी गरेर अलैंचीको बिरुवा उत्पादन गर्न कम्तिमा ३२ महिना लाग्ने साथै यो कार्य झन्झटीलो भए पनि मेहनत गरे राम्रै आम्दानी लिन सकिने प्रसाईको बुझाई छ । उमेरले ६० वर्ष नाघेका प्रसाईले अब ५ वर्ष सम्म नसरी गर्नमै समय खर्च गर्ने सोच बनाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment