अपाङ्गता भएका आलोकको अझै पढ्ने टुंगो लागेन


इलाम, २० असारः गतवर्षको एसएलसी परीक्षामा ३ दशमलव ५० जिपिए ल्याएका आलोक खतिवडालार्ई अपाङ्ग मैत्री विद्यालयको व्यवस्था नहुँदा उनको थप अध्ययनका लागि समस्या भएको छ । गत असार १५ गतेको कान्तिपुर दैनिकका पत्रकार मकर श्रेष्ठले आलोकका अभिभावक भुवन खतिवडाले काठमाडौंमा अपाङ्ग मैत्री विद्यालय खोजी गरेको तर त्यस्तो विद्यालय फेला नपर्दा उनी निराश भएको समाचार प्रकाशित गरेका थिए । चियाबारी दैनिकले भुवन काठमाडौंबाट इलाम फर्किएपछि उनीसँग छोराको अध्ययनको विषयमा कुनै व्यवस्था भए नभएको जानकारी लिदा त्यस्तो कुनै व्यवस्था हालसम्म नभएको बताए । चियाबारीले कान्तिपुर दैनिकका पत्रकार श्रेष्ठसँग सम्पर्क गर्दा हालसम्म काठमाडौंमा पनि आलोक अध्ययन गर्ने विद्यालयको टुङ्गो नलागेको बताए । प्राथमिक तह गाउँको घरमा नै अध्ययन गरेका आलोकले  कक्षा छ यता ह्विलचियरको सहायताले विद्यालय जाने अवसर पाए । सदरमुकामको मालापथ डेरा गरेर करिब दुई सय मिटर टाढाको ज्योतिविद्या मन्दिरमा ह्विलचियरको सहायताले विद्यालय धाएका आलोकले भर्खरै प्रकाशित एसएलसी परीक्षाको नतिजा अनुसार विद्यालयकै तर्फवाट प्रथम स्थान ओगटे । तर ३ दशमलव ५० जिपिए ल्याएका आलोकलाई थप अध्ययनका लागि समस्या भएको छ । सदरमुकाममा अपाङ्ग मैत्री विद्यालय नभएकै कारण विज्ञान पढ्ने सोच बनाएका आलोकको थप अध्ययन अन्यौलमा परेको हो । दुवै खुट्टा नचलेपछि अर्काको साहारामा मात्र यताउता गर्न सक्ने आलोकका दाजु भुपालको अवस्था पनि उस्तै छ । दुई वर्षअघि एसएलसी उतीर्ण गरेका उनले डेराको सानो कोठामा नै बसेर उच्च मावि तहको अध्ययन पूरा गर्नु प¥यो । ‘विद्यालय जान सके सोचे अनुरुप नतिजा ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘म त एसएलसीपछि विद्यालय जान सकिन अब भाईको पनि त्यही अवस्था हुने भयो ।’ भूपालले कक्षा ११ मा ५८ प्रतिशत अंक ल्याएका छन् ।

आलोक र भूपाल दुवैको कम्मर मुनिको भाग चल्दैन । यी दुवैलाई बुवाआमा र साथीभाईले नियमित ह्विल चियरमा राखेर विद्यालय पु¥याउने गरेका थिए । सदरमुकाममा थुप्रै उच्च मावि भए पनि उनीहरु जस्ता विद्यार्थीका लागि सहज व्यवास्था छैन । अधिकांशमा विद्यालय परिसरसम्म ह्विलचियर पुग्दैन ।  स्थानीय आर्दश उच्च माविमा भूपाललाई भर्ना गरिए पनि एकै दिन पनि विद्यालय पु¥याउन नसकिएको बुवा भुवनले बताए । ‘ठूलोले जसोतसो घरमा नै मेहनत ग¥यो,’ उनले थपे, ‘आलोकको पढाई पनि राम्रो छ । तर नियमित कक्षा लिन वातावरण मिलाउन कठिन भयो ।’
आर्थिक अवस्था कम्जोर भएकाले पनि पढाईमा समस्या भएको भुवनको भनाई छ । सब्जी पसल गरेर अपाङ्गता भएका दुई छोरालाई अहिलेसम्मको शिक्षा–दिक्षा दिन सफल भुवन अव भने कसरी नानीहरु पढाउने भन्ने चिन्तामा छन् । भुपालको सोच व्यस्थापन पढ्ने थियो । तर कक्षा लिन नपाउने भएपछि उनले मानविकी पढे ।  ‘विद्यालय पुग्न सके साथीभाई र गुरुहरुसँगको हिमखिमले पढाई राम्रो हुन्छ र मन बुझाउन पनि सजिलो हुन्छ,’ भुपालले भने, ‘२४ घण्टा नै कोठामा बस्नुपर्दा पढ्न मन नलाग्ने र आलस्य हुने गरेको छ ।’
शारीरिकरुपमा अशक्त भएपनि जमुनाका यी दुई बालकले अहिलेसम्म पढाईलाई निरन्तरता दिएका छन् । आलोक कक्षा ८ को जिल्लास्तरीय परीक्षामा जिल्ला प्रथम भएका थिए । गाउँमा छोराहरु पढाउन असम्भव भएपछि कमजोर आर्थिक अवस्थाका भुवन छ वर्षअघि सदरमुकाम झरेका हुन् । निःशुल्करुपमा ज्योतिविद्या मन्दिरले दुई जनालाई पढाएर भुवनकी श्रीमती तेजकुमारीलाई सानोतिनो काम दिएको छ ।
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पससम्म पुग्न सडकको अवस्था राम्रो भएपनि स्नातकदेखि मात्र पढाई हुन थालेपछि उनीहरु यसमा ठगिएका हुन् । अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले पटकपटक आवाज उठाएपनि अपाङ्ग मैत्री विद्यालय बन्न सकेका छैनन् । ‘सदरमुकाममा त यस्तो अवस्था छ अझ विकट गाउँ क्षेत्रमा अपाङ्गता भएकाहरुको शैक्षिक अवस्था कस्तो होला,’ अपाङ्गता भएकाहरुका लागि कार्यरत प्रकाश थापाले भने । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment