प्रवासमा भोगेको आफ्नो अनुभूतिः


नामः– महेशराज भट्ट
ठेगानाः– कन्चनपूर, दैजी, विजयनगर बगुन 
फोन नम्बरः– ०१४२१३६३०५
अचेलः– क्वालालाम्पूर, संगाईवेशी मलेसिया 

म साधारण परिवारमा जन्मेको व्यक्ति हुँ । म घरको जेठा छोरा भएको हुँदा आमा–बाबाको दुःखमा मैले पनि कृषिजन्य पेशामा साथ दिदै परिवारमा सहकार्य गर्दै आएको थिए । खेती गर्ने जग्गा जमिन पनि कमि भएको कारण खेतीपातीको समय सके पछि भारत तर्फ रोजगारीको निम्ति हरेक वर्ष जाने गर्दथे । गाउँघरका अग्रज दाजुहरु तेस्रो मुलुक गएको देख्दा मैले पनि अब भारतको रोजगारी भन्दा तेस्रो मुलुक जाने सोच बनाएर घर परिवारमा कुरा चलाए । मैले गाउँघरबाट वैदेशिक रोजगारमा जानेहरुको बारे बुझ्दा भारतमा भन्दा विदेशमा अलिक राम्रो कमाई हुने कुरा बुझे त्यसैकारण पनि मलाई विदेश जाने रहर अझ तिब्र रुपमा बढ्यो । 
घरमा खेतीपाती गर्दै भारत जाने क्रम गर्नुभन्दा केही वर्ष अन्य देश जान पाए आर्थिक अवस्था दर्बिलो गर्ने कल्पनाको साथ घरमा आमा–बाबु र श्रीमतिसँग छलफल गरे, तर आमा बाबुले त विदेश नजा यही जस्तो पाक्छ त्यस्तै खाउला भन्नुहुन्थ्यो । तर देशमा जहिले बन्द, हडताल हुने हुँदा नेपालमा नै रोजगारीको अवसरमा कहिले भने जस्तो गरी काम गर्ने अवसर भएन, त्यसैले पनि म लगायत गाउँका युवाहरु अनेकौ सपना बोकेर विदेश जाने भएको हुँदा मैले पनि मेरो आमा–बाबु र परिवारको निम्ति पछिको दिन सुखमय बनाउनु पर्छ भनेर घरपरिवारमा कुरा राख्दै आमा–बाबुको सल्लाहलाई वेवास्ता गर्दै विदेश जाने अडानको साथ पासपोर्ट बनाए ।
हामी निम्न आय भएको मान्छेहरु ऋणपान गरेर विदेश जाने चलनलाई मैले पनि निरन्तरता दिन पुगे । जिवित देवी, देवतारुपी आमा–बाबुको कुरालाई मैले नकारेर नै छाडे । देशमा भईरहने बन्द, हडतालकै कारण देशको कुना काप्चाबाट लाखौंको संख्यामा वयस्क युवाहरु विदेश पलायन भएको हो भन्दा फरक नपर्ला । म पनि त्यसैको प्रतिनिधि पात्र बन्नु पुगे । इलामबाट प्रकाशित हुने चियाबारी दैनिक अनलाईनमा हेर्ने अवसर मिल्यो, त्यहाँ प्रवासमा बस्नेहरुको अनुभूतिहरु प्रकाशन भएको देख्दा म सुदुरपश्चिममा बस्ने प्रवासीको अनुभव पनि पुर्वेली समुदायमा प्रकाशन गर्ने इच्छा लागेर यो अनुभूति लेखेको हुँ ।
मेरो प्रवासको अनुभूतिः– 
मैले आफ्नो घरपरिवारसँग विभिन्न प्रलोभन देखाउदै सुन्दर भविष्य खोज्नुको लागि पासपोर्ट बनाए । मसँगै गाउँका साथीहरु वैदेशिक क्षेत्रमा पलायन हुनका लागि राम्रो ऐजेन्सीको खोजी गर्दै घरबाट काठमाडौं तर्फ लाग्यौ । भनिन्छ “बिरानो ठाउँमा आफ्नो मान्छे पनि देवता ठहर्छ“ हो मैले पनि घरबाट हिडेपछि काठमाडौं पुग्दा नजिकको नाता पर्ने मान्छे भेटे । उहाँसँगको भलाकुसारी पछि राम्रो देश बहराईनमा काम लगाईदिने प्रलोभन देखाउदै कुरा राख्नुभयो । 
हामीले पनि नातेदार नै ऐजेन्ट पायौ, यो बिरानो ठाउँमा “ढुङ्गा खोज्दा देवता मिलेको“ जस्तै भान गरेर उहाँलाई नै पासपोर्ट जिम्मा लगायौ । तर तीन महिना पर्खाए पछि त्यो कम्पनी को भिषा लागेन भन्यो । उहाँले नै मलेसियाको चिल्ली रेष्टुरेन्टको भिषा छ चाँडै आउनु अन्तर्वाताको लागि भनेर कल गरयो । हामी पनि ऐजेन्टको फोन आएपछि अन्तर्वाता दिन काठमाडौं आयौ । निश्चित दिन अन्तर्वाता पनि दियौ तर त्यहाँ नाम निकाल्न सकेनौ । पुनः अर्को कम्पनीको लागि भिषा लगाईदिनु भनेर सल्लाह गरेर हामी घर तिर फर्कियौ । एकमहिना पछाडि पुःन ऐजेन्टले ‘लु भिषा आयो, मेडिकल गर्नुपर्ने भो चाडै आउनुहोस’ भन्यो । त्यो फोन आए पश्चात हामी सबैजना ऐजेन्ट कहाँ गयौ । त्यसबेला मेडिकल गरायौ । 
केही दिनमा मेडिकलको रिपोर्ट त आयो तर राम्रो भएन भनेर पून अर्को पटक मेडिकल पास भए । मेडिकल गरेपछि आज र भोली भन्दै करिब डेढ महिना पछि भिषा आयो । हामीलाई पटक–पटक दुःख दिएको कारण हामीले पनि भिषा आएर उडान हुने दिन पैसा बुझाउने बेला मोलमोलाई ग¥यौ । अन्तिममा एकलाख पच्चिस हजार रुपैंयाँ बुझाएर २४ अक्टोबर २०१४ मा काठमाडौं देखि थाईल्याण्ड बाह्र घण्टाको ट्रान्जिटबाट मलेसिया आयौं । मलेसियामा बेसिक र ओटी गरेर मासिक ११९४ रिंगेट हुन्छ भनेर ऐजेन्टले भनेको थियो । ऐजेन्टले ‘यसै कम्पनीमा ६ सय जना पठाई सक्यौ कसैको कम्प्लेन परेको छैन्’ भनेर विश्वास दिलाएको थियो । हामीले पनि होला नै भन्ने कुरामा विश्वस्त बन्यौ । 
हामी आएको कम्पनी ठुलै थियो । हामीलाई त्यो कम्पनीबाट पार्टनरशिपमा खोलिएको अर्को कम्पनीमा काम निम्ति खटाईयो । 
आएको तीन महिना सम्म हरेक दिन ओटी दिदै ऐजेन्टले भने बराबर कै तलब ११९४ रिंगेट दियो । त्यो ११९४ मा १०४ रिंगेट लेवी काटिन्थ्यो, तर चौथो महिनाबाट हामीलाई बेसिक ९०० रिंगेटमा काम लगाउन थाल्यो । यसबाट १०४ रिंगेट काटेर ७९६ रिंगेट मात्रै पाउन थाल्यौं । ऐजेन्टहरु यति बाठो हुँदा रहेछन कि, कानुनी रुपले हामीलाई तल पार्नुको लागि तीन महिनासम्म सम्झौता अनुसारको तलबहरु उपलब्ध गराउदो रहेछ । यो तीन महिना अवधि पार गरेपछि ऐजेन्ट विरुद्ध हामीले वैदेशिक रोजगारमा ठगी मुद्दा हाल्दा नसकिने रहेछ किनकि ऐजेन्ट उपर उजुरी हाल्नुलाई वैदेशिक रोजगार गएको तीन महिना पार हुनु हुदैन रहेछ । यहाँ आएको चौथो महिना तलब थाप्दा हामीले मुद्दा हाल्ने म्याद गुज्रिसकेको हुँदो रहेछ । 
यसरी ऐजेन्टले चलाखीपुर्ण तरिकाले पनि वैदेशिक क्षेत्रमा जानेहरुलाई ठग्दो रहेछन् । के गर्ने वैदेशिक रोजगारबाट आफ्नो सपना पुरा गर्नु पनि कल्पना मात्रै सावित हुन गयो । हामीले ७९६ रिंगेटबाट खाना र खाजा खाएर आउँदा लागेको १ लाख २५हजार रुपैंयाँ उकास्नु परेको हुदाँ बाध्यत्मक रुपले कम्पनीको अधिनतामा रहनु परयो । आफ्नो त भाग्य नै खोटो रहेछ, वैदेशिक क्षेत्रमा पसेको तीन महिनामा नै आफ्नो भाग्यविधाता साक्षात भगवानरुपी मेरो पूजनिय बाबाले पनि भौतिक शरीर त्याग्दै भगवानको घरमा जानुभयो । आफु परदेशमा अर्काको अधिनतामा रहेको हुँदा साथै परदेश पनि भर्खर पसेको हुँदा मैले मेरो बाबाको पार्थिव शवयात्रामा समावेश हुन सकिन । बाबाको असामयिक निधनले परदेशमा स्तब्ध बन्न पुगे । परदेशमा रहेको कारण बाबुको निम्ति मैले तीन दिनसम्म बिदा मिलाएर कोरामा बसे। परदेशबाट बाबालाई भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु शिवाय अरु केही रहेन । भगवान सामु म प्रार्थना गर्छु कि यो परदेश बस्नेहरुले परदेश बसिन्जेल आफ्नो कोही पनि प्रिय ब्यक्तित्व गुमाउनु नपरेको होस् । 
म साँच्चै दुःखी कर्मवाल रहेछु । किनकि एकातिर आफ्नो बाबा गुमाए, अर्को तिर खासै आम्दानी नहुने कम्पनी पर्नाले आएको लगानी पनि मरेर डेढ वर्षमा चुक्ता गरियो । न म आफूले सोचे जस्तो कमाउनु सके मैले क्रियाशिल समयलाई बर्वाद गरे । यो परदेश बसाई मेरो निम्ति अति दुखदायीसँग बिताउनु परेको छ । यो परदेश हाम्रो निम्ति भाषा अभावको कारण काम गर्नु धेरै गाह्रो हुँदो रहेछ । म बसेको कम्पनीमा नेपाली साथीभाई भएको हुँदा केही सहज भयो । यो परदेशमा हरेक प्रकारको घटनाहरु देख्न पाईयो, नजिकबाट न्याल्न पाँए । यो मलेसिया बसाई मेरो जीवनको अविस्मरणीय क्षण बन्नु पुगेको छ । 
परदेशमा परेको पीडाहरुलाई साझेदारीता गर्नुलाई सामाजिक संघ, संस्थामा आवद्ध हुन सक्दा धेरै नै राहत हुने कुरा पनि यो प्रवासमा बुझेर हामीले पनि सुदुरपश्चिमेली युवा समाज गठन गरेको छौं । परदेश बसाईमा आईपर्ने विपत्तिहरुमा सामूहिक प्रयत्नबाट श्रमिकहरुमा परिआएको पीडालाई सामूहिक रुपले समाधान गर्ने लक्ष्य लिएको छौं । विशेषत मलेसियामा पैसा कै कारण कतिपय श्रमिकहरुले अंगभग हुनु परेको तथा कतिपयले लुटेराको प्रहारबाट मृत्यूवरण नै गर्नु पर्ने अप्रिय घटनाहरु घटेका छन् । मलेसियामा कार्यरत प्रवासी श्रमिकहरु मध्ये थोरैले मात्र राम्रो काम र दाम पाउन सकेका छन्, अन्यले कष्टकर जीवनयापन गर्नुपरेको छ । ऐजेन्टले जति नै पोलिसी लगाए पनि साधारण लेवरले यो मलेसिया मा अब ५०० रिंगेट पनि बचाउन धौ धौ पर्दछ । 
परदेश लाग्न चाहनेहरुको निम्ति मेरो सन्देशः
समग्रमा भन्नुपर्दा हालको परिवेशमा मलेसिया वैदेशिक रोजगारको लागि एकदमै असुरक्षित गन्तव्य क्षेत्र बन्नु पुगेको छ । यहाँ आउदा लागेको लगानी उठाउन समेत धौ धौ पर्दछ । तसर्थ कोही पनि नेपाली दाजुभाई, दिदीबहिनीहरुले  वैदेशिक रोजगारको निम्ति जाने सोच बनाउन लाग्नु भएको छ भने तपाईहरुले यो मलेसिया बाहेक अन्य देश नै रोज्नु हुन सादार अनुरोध गर्दछु । वैदेशिक रोजगार जाँदा आफ्नो सीप अनुसारको भिषामा मात्रै जानुहोस् । दक्षताको आधारमा काम गर्न जान सकियो भने मात्रै पनि कामको कारण पीडा भोग्नु पर्दै् न। परदेश पुगेपछि सबैले आ–आफ्नो जिल्लावासी संस्था वा अन्य नेपाली संघसंस्थामा आवद्ध बन्नुहोस् । या त नजिकको दुतावासमा आफ्नो बायोडाटा बुझाई दुतावाससँग सम्पर्कमा रहनुहोस् । अवैधानिक बनेर कोही पनि काम नगर्नुहोस भन्ने सविनय अनुरोध पनि गर्दछु । 
अन्तमा, प्रवास बसाई सबैको सुखमय होस भन्ने कामना गर्दछु ।  जय सुदुरपश्चिमेली । जय श्रमिक ।
यस प्रवासका अनुभूति स्तम्भका सम्पादक ः बुद्धिमान राई ‘मुर्ख’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment