नामः– कमला ढकाल (चौलागाई)
ठेगानाः– लक्ष्मीपूर–६
दाहालटार इलाम ।
मलेसियाः– पासिर गुडाङग जोहोरबारु, मलेसिया
म इलाम लक्ष्मीपूर निवासी हुँ, मैले मेरो स्थानिय गाउँ–ठाउँमा एउटा किराना पसल चलाउदै आएको थिए । मैले अन्य सीप विकासको तालिम पनि लिएको थिए, जस्तो कि सिलाई–कटाई र ब्यूटीपार्लर । तर समयसापेक्षित हुन सकेन, त्यसमा पनि मेरो आफन्तहरु पनि धेरैजना विदेश तिर नै कार्यरत हुनुहुन्छ । मैले गाउँमा पसलको साथै अभियान नेपाल र सहारा नेपाल नामको बचत संस्थामा सचिवको पदमा सम्मिलित थिए । देशको परिस्थितिले स्वदेशमा रोजीरोटीको अन्य भरपर्दो कुनै उपाय थिएन ।
हाम्रो पसलको आम्दानीबाट गुजारा गर्न सक्थ्यौ, तर आफ्नो परिवारको निम्ति सुनौला भविष्य निर्माण गर्नलाई गाह्रै हुने सम्भावना मध्यनजर गर्दै, हामी रथको दुईपाङग्रा (श्रीमान् र मैले) आ–आफ्नो विचारलाई राख्दै मनथन गरेर केही समय विदेशिने कुरामा सरसल्लाह ग¥यौ । विदेशमा कार्यरत हाम्रा आफन्तले पनि परिवार सदस्यहरुलाई राम्रो सुझावहरु दिनुभयो । तसर्थ परिवारको राय–सुझाव अनुसार मैले पनि विदेश जाने सोच बनाएर पासपोर्ट बनाए । पासपोर्ट बनाएर झापाको बिर्तामोडस्थित डायमण्ड एचआर ओभरसिजमा गए, त्यहाँ आएका आवश्यक कामदारको लेटर हेरे ।
उक्त ऐजेन्सीले भन्यो यो कम्पनी राम्रो छ । (म हाल कार्यरत छु) यसमा सेवा, सुविधा सुरक्षा राम्रो छ, कमाई पनि राम्रै छ भन्यो । मैले पनि, ल यसै कम्पनीमा प्रोसेस गरीदिनु भनेर पासपोर्ट बुझाए । पासपोर्ट बुझाएको केही समयमा भिषा लाग्यो भन्ने खबर आयो । ऐजेन्टसँग कबोलित रकम एकलाख चालीस हजार रुपैंयाँ तयार गर्दै म अब आफ्नो घरगाउँबाट कर्मभूमि मलेसियाको लागि तयार भए । घरपरिवार, आफन्त र छिमेकीहरुसँग बिदाईको हात हल्लाउदै निघारमा टिका, गलामा लामो माला र झोलीतुम्बी लिएर गहभरी आँशु लिएर गन्तव्य स्थान तिर (ऐजेन्ट कहाँ) लागे ।
बिर्तामोड ऐजेन्सीमा पुगेर त्यहाँ भेला भएका अन्य साथीहरुका साथ काठमाडौं तिर लाग्यौ ।
काठमाडौंको मेनपावरले हामीलाई दुईदिने कार्यगोष्ठीमा सहभागी गरायो । साथै बिमा र श्रमको प्रोसेस सकेपछि हामीलाई भोलिपल्ट नै मलेसिया पठाउने भयो । हामीले मलेसिया आउन लाग्दा लाग्ने रकम एकलाख चालीस हजार रुपैंयाँ मेनपावरलाई डिपोजिट ग¥यौ । ऐजेन्टले हामीलाई २०७१ चैत्र २८ गते मलेसियाको निम्ति फ्लाईड कन्र्फम गरिदियो ।
प्रवासको मेरो अनुभूतिः–
आफ्ना र परिवारको सुनौलो भविष्य निर्माणको लागि भनेर घरबाट हिडेको केही दिनमा नै मलेसिया जाने समय भयो । हामीले काठमाडौंबाट चैत्र २८ गते मलेसियाको लागि उडान गरयौ । चार घण्टाको उडान पछि मलेसिया एयरपोर्ट आईपुग्यौ ।
यहाँ एयरपोर्टमा हामीलाई लिन कम्पनीको मान्छे आईसकेको रहेछ । मलेसिया एयरपोर्टमा आईपुग्दा त्यहाँ भेला भएको श्रमिकहरुको भिड त्यो एउटा मेलाबजार जस्तै लाग्दथ्यो । कोही हप्तादिन देखि ऐजेन्ट पर्खिने, कोही तीनदिन देखि ऐजेन्ट पर्खी रहेको छौ भन्ने कुरा गरिरहेका थिए । तर हामीलाई भने समयमा नै कम्पनीको मान्छेले सरकारी कागजात पुरा गरेर हाम्रो कम्पनी तर्फ लिएर गयो । क्वालालाम्पूरबाट पाँच घण्टाको दुरीमा रहेको सिंगापूर नजिकको जोहोरबारु भन्ने शहरमा हाम्रो कम्पनी रहेछ । कम्पनीमा पुगेर यात्राको थकान मेटनलाई पुगेको दिन आराम गरयौ । हामीलाई ऐजेन्टले भनेनुसार कै कम्पनी र होस्टेलको सुविधा पाउदा खुशी भयौ । हामीले काम गर्ने कम्पनीमा धेरै नै कामदार रहेछन् । ऐजेन्टले काम आठ घण्टा भन्थ्यो तर हामीले १२–१४ घण्टा काम गर्नुपर्ने रहेछ । कम्पनीमा उभिएर काम गर्नुपर्दा पहिला पहिला धेरै नै कष्ट मान्यौ । तर बानी पर्दै जादाँ बिमार अवस्थामा बाहेक अन्य दिन सामान्य नै लाग्यो ।
जब हामीले काम गरेको तलब पायौ, त्यतिखेर पो थाहा भयो कि ऐजेन्टले हामीहरुलाई भनेको सेवासुविधा वास्तवमा होईन रहेछ । हामीले पाउने तलब र ओटी जोडेर पाएको पैसा ९०० रिंगेट दिईने रहेछ । त्यसमा पनि १५४ रिंगेट रुमभाडा र लेवी वापतको रकम काट्दो रहेछ बाँकी ७४६ रिंगेटमा चित्त बुझाउनु पर्ने रहेछ । हामीले हाम्रो सम्झौता अनुसार तलब सुविधा नपाएपछि हामीले काम गरेनौ । हामी सबैले दुतावास मलेसियासँग हारगुहार माग्यौ । दुतावासको पहलमा कम्पनी, ऐजेन्ट र हामी वर्कर बिच भद्र सहमति गराईयो ।
त्यसपश्चात कम्पनीले हामीलाई २६ दिन काम गरेको ९०० रिंगेट दिने । ३० दिन काम गरे १२०० रिंगेट दिने भनेर हाम्रो मागलाई सम्बोधन गरेपछि हामीले कामलाई निरन्तरता दियौ । मलेसियामा काम गर्नलाई समस्याहरु विशेषत भाषाको कठिनाई हुने रहेछ । भाषाको अज्ञानताले गर्दा हामीले कतिपय काम गल्ती गर्नसक्ने प्रवल सम्भावना हुँदो रहेछ । त्यसमा पनि सुपरभाईजरहरु स्थानिय परेको खण्डमा झन गाह्रो हुँदो रहेछ । मलेसिया आएको पनि करिब दुईवर्ष हुन लाग्यो । यस ठाउँमा लोग्ने मान्छेहरुलाई त घेरै समस्या रहेछ, झन हामी छोरीचेलीलाई अझ बढी समस्या रहेछ ।
यो मलेसियामा स्थानियहरुले वैदेशिक क्षेत्रमा आउने प्राय धेरैलाई लुटपाट गर्दो रहेछन् । कतिपय कम्पनीको होस्टेलमा दिनदहाडै चोरी, डकैती हुँदा रहेछन् । हाम्रो कम्पनीमा भने सुरक्षाको दृष्टिकोणले एकदम ठिक छ । होस्टेलबाट बाहिर जानुपर्दा पनि वार्डेन आफैले लिएर जाने गर्दछन् । तर कतिपय कम्पनीको होस्टलमा सुरक्षा फितलो छ । म यस प्रवासमा आएपछि प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियासँग सम्बद्ध हुने अवसर पाए । यो हाम्रो मञ्च अनलाईन ग्रुप चार्टबाट हरेक सदस्यहरुको दुःख पिडामा सहकार्य गर्ने गरेको छ । यसै संस्थाको सहकार्यतामा परदेश लागेका श्रमिकहरुको सुखदुःखका दिनचर्याहरु बुझ्ने अवसर पाएको छु ।
मलेसियामा अत्याधिक रुपमा अवैधानिक बन्नेहरुको पनि लर्को रहेछ । ति अवैधानिक बन्नेहरुमा ज्यादा जसो ऐजेन्टको झुटो आश्वासनले गर्दा आफ्नो लगानी उठाउन भनेर अवैधानिक हुँदो रहेछन । तर त्यसरी अवैधानिक बन्दा कतिपयले मालिकबाट पारिश्रमिक नपाउदा झन ठुलो पिडा भोग्नु पर्दो रहेछ । मैले यस मलेसियामा देखेका श्रमिकहरु माझ आईपरेका समस्याहरु घेरै प्रकारको देखे ।
स्वयम सृजित समस्याः– यस प्रकारको समस्याहरुमा चाहि विशेषत ऐजेन्टले भनेको सेवा–सुविधा नपाएपछि नेपालमा रहेका ऐजेन्टलाई जानकारी गराउदा पनि ऐजेन्सीले श्रमिकको समस्या उपर चासो नराखिदिने गरेकोले कम्पनीको काम छाडेर भागे पछि आईपर्ने समस्या, दोस्रो कुलतमा फसेका साथीसंगीहरुले लहैलहैमा अवैधानिक बनाउदा भोग्नुपर्ने समस्या मूलरुपमा देखे ।
भवितव्य समस्याः– कम्पनीमा कार्यरत रहदा रहदै भूलवस मेशिनहरुबाट चोटपटक लागेर आउने समस्या तथा दैविक प्रकोप आगलागी, वा मेसिनरी सामानको खराबी भएर करेन्ट सर्टहुनु नै हो । यो मलेसियामा कतिपयले आफ्नो लक्ष्य बिर्सेर विसंगतमा लागेर पनि बिग्रिएकाहरु प्रशस्त देखिएका छन् । त्यो समस्या दाजुभाईहरुमा मात्रै हैन, दिदीबहिनीहरुमा पनि रहेछ । कतिपय दिदीबहिनीहरुले आफु आउनुको मूल लक्ष्य भुलेर केटा साथीहरु बनाएर उनीहरु मार्फत नै अवैधानिक बन्दा रहेछन् ।
मलेसिया खुल्ला परिवेश भएको देश रहेछ, यहाँ कतिपय ऐजेन्टले दिएको फोस्रो आश्वासन र भाषाको कठिनाई तथा आफ्नो क्षमता भन्दा बाहिरको काम गर्नु पर्ने पिरले अवैधानिक बन्दो रहेछन् । अवैधानिक बने पछिको दिन अझ गाह्रो हुन थालेपछि कुलतमा परेका साथीसंगीहरुसँग फस्नु जाने रहेछन् । घरबाट जुन उद्देश्य लिएर आएका हुन्छन त्यो उद्देश्य पुरा नहुने भएपछि मान्छेहरु विचलित बन्दै दिनदिनै कठिन मोड तिर धकेलिदै जानेहरु अत्याधिक रुपमा यस मलेसियामा रहेछन् ।
मलेसियामा हाल स्थानियबाट मात्रै हैन नेपालीहरु बाटै पनि ठगिन थालेका छन् । अवैधानिक हो भन्ने थाहा पाए नेपाली दाजुभाईले राम्रो काम लगाईदिने बहानामा नगद रकम कमिशन लिएर हिड्ने, कम्पनीमासँगै काम गर्नेको सापटी रकम नतिरी भाग्ने, साथीहरु काम गर्न गएको मौका पारेर साथीहरुको राम्रा राम्रा सामानहरु नै लिएर भाग्ने गरेका छन् ।
यि विविध कारणहरुले यो मलेसियामा जतिपनि कामदारहरु छन सबैले कुनै पनि हालतमा अवैधानिक नबनौ । आफ्नो कार्यविधि पुरा गरौ । अवैधानिक बनेर बस्दा भवितव्य प¥यौ भने स्वास्थ्य उपचारको लागि ठुलो समस्या हुने रहेछ । पासपोर्ट बिना ठुलो अस्पतालले उपचार गर्न नमान्ने हुँदा कोही पनि अवैधानिक नबनौ भन्ने सुझाव दिन चाहन्छु । साथै अब कोही कसैले विदेश जाने सोचमा हुनुहुन्छ भने, सीप र दक्षता अनुसारको भिषामा मात्रै वैदेशिक रोजगारको लागि तयार हुनुहोस् ।
मलेसियाको हकमा भन्ने हो भने व्यापार ब्यवसायमा मन्दी आएको हुँदा हाल कम्पनीहरुले उत्पादन घटाएका छन् । मलेसियामा कम्पनीहरु खासै चलेको छैनन् । कतिपय कम्पनी बन्द हुने अवस्थामा छन् । चलेका कम्पनीहरुले पनि कामदारलाई अतिरिक्त समय काम दिन सकेका छैनन् । तसर्थ बेसिक तलबमा काम गरेर लगानी उठाउन गाह्रो हुने अवस्था छ तसर्थ सोच विचार गर्नुहुन पनि सहस्र अनुरोघ गर्दछु । परदेश लागेपछि समूहमा रहँदा कतिपय समय समस्याहरुको निराकरण गर्नलाई सहज हुने हुँदा सामाजिक संघसंस्थाहरुमा आवद्ध हुन समेत आग्रह गर्दछु । धन्यवाद ।
अनुभूतिकार कमला चौलागाई, प्रवासी ईलामेली जनसम्पर्क मञ्चको मूलसमिती सदस्य छिन् । यस प्रवासका अनुभूति स्तम्भका सम्पादक बुद्धिमान राई ‘मुर्ख’
0 comments:
Post a Comment