लोगो प्रयोग गर्न चिया निर्देशिका तयार गरिदै


इलाम, २७ असारः चिया तथा कफिको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको आफ्नै लोगो लागू गर्न निर्देशिका बनाउन थालेको छ । 
रासायनिक मलखाद्य प्रयोग गर्दै आएका र अग्र्यानिक चिया उत्पादन गर्दै आएका उद्यमीबीच लोगो प्रयोग गर्ने र नगर्ने विषयमा विवाद देखिएपछि लोगो लागू गर्न निर्देशिका बनाउन थालिएको बोर्डले जनाएको छ । 
चिया तथा कफी विकास बोर्डको बैठकले लोगो लागू गर्न निर्देशिकानै आवश्यक पर्ने ठहर गर्दै निर्देशिका निर्माणका लागि बोर्डसहित, उद्योगी, केन्द्रीय चिया सहकारी संघका प्रतिनिधिसहितको एक समिति गठन गरेको छ । सरकारले उद्योग विभागमा एक वर्षअघि ‘नेपाल टी क्वालिटी फ्रम द हिमालय’ नामक लोगो दर्ता गरेको थियो । 
समितिमा बोर्डका योजना अधिकृत गौरव लुइँटेल, केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई, नेपालका चियाविज्ञ चन्द्रभूषण सुब्बा, राजु शेर्मा, महेश्वर घिमिरे र सुनिल राई रहेका छन् । लोगो दर्ता भएको एक वर्ष बितिसक्दा पनि कसरी र कसले लोगो प्रयोग गर्ने भन्नेमा चिया व्यवसायी अन्योलमा पर्दा निर्देशिकाको खाँचो परेको जनाउँदै चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुइँटेल भने, ‘निर्देशिका निर्माणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई समेत राखेका छौँ । अब निर्देशिका आएपछि लोगो कार्यान्वयनको अन्योल चाँडै हट्छ ।’  यसअघि अर्थोडक्स चियाका लागि मात्र सहमतिमा लोगो दर्ता गरिएको भए पनि अब चियाको गुणस्तर हेरेर मात्र लोगो प्रयोग हुने उनले बताए । 
लोगो प्रयोग गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर जाँच गर्ने सरकारी प्रयोगशाला रहेकाले त्यही प्रयोगशालामा चियाको गुणस्तर जाँच्न सकिने लुइँटेल बताउँछन् । इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने २० वटा ठूला चिया कारखाना छन् । त्यसमध्ये फिक्कल सुन्दरपानीको गोर्खा टी स्टेट, साँखेजुङको साङ्ग्रिला, माइपोखरीको सन्दकफू चिया कारखानाले अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन् । 
केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालले भारतीयले चलाएको कारखानाबाट भारतीय लोगोमै तेस्रो मुलुकमा चिया जाने भएकाले अब नेपालको अग्यानिक चियालाई पहिचान दिने गरी निर्देशिकाले तयार हुने बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment