पाँचथरका सबै गाविसका सबै वडामा सडक पुग्यो


पाँचथर, २३ असारः पूर्वी नेपालको मध्यपहाडी जिल्ला पाँचथर सडक विकासको हिसाबमा निकै अगाडी छ । सडक सञ्जालको विकासमा देशमै तेस्रो स्थान ओगटेको पाँचथरमा यो वर्षदेखि सबै गाविसका सबै वडामा सडक पुगेको छ । अग्ला पहाड, कडा चट्टान र भिरालो जमिनमा सडक विस्तार गर्नु सजिलो छैन । यस्ता हरेक चुनौतीहरुलाई पार गर्दै यो आर्थिक वर्षदेखि जिल्लाका सबै गाविसका प्रत्येक वडामा सडक पु¥याईएको छ । 
सदरमुकाम फिदिमदेखि ५५ किलोमिटर पूर्वमा रहेको प्राङबुङको वडा नं. ६ चित्रे र फलैँचाको वडा नं. ९ बर्मेमालाई यो वर्ष सडकले छोएको हो । त्यस्तै सदरमुकाम फिदिम देखि २२ कोष टाढा दक्षिण क्षेत्रको निकै दुर्गम दुर्दिम्बाको वडा नं. ६ हिबुवामा पनि यसै साल सडक पुगेको हो । यी वडाहरुमा सडक पुगेसँगै पाँचथरका सबै गाविसका सबै वडामा सडक सञ्जालले छोएको हो । जिल्लामा एक नगरपालीका र ३८ गाविसहरु छन् । ३८ गाविसका ३५३ वडामै सडक पुगेको छ । त्यस्तै फिदिम नगरपालिकाका ११ वडामा अघिल्ला बर्षहरुमै सडकको विकास भएको थियो ।
जिल्ला विकास समितिका प्रमुख ईञ्जिनियर भानु बरालका अनुसार जिल्लामा तीन किसिमका सडक छन् । दुई प्रकृतिका सडकको विकास जिल्ला भित्रैबाट गरिन्छ । ग्रामिण र जिल्ला सडकको विस्तार जिल्लाभित्रैबाट गरिएको हो । ग्रामिण र जिल्ला सडक गरि जम्मा दुई हजार दुई सय किलोमिटर सडक जिल्लामा विस्तार भएको छ । हजार किलोमिटर जिल्ला सडक र एक हजार दुई सय किलोमिटर ग्रामिण सडक विस्तार गरिएको हो । “२६ ओटा जिल्ला सडकहरु छन्,” बरालले भने “ग्रामिण सडकले प्रत्येक वडामा पुगेको हो ।”
ग्रामिण सडकको तुलनमा जिल्ला सडकहरु अलि स्तरिय छन् । जिल्ला सडकहरुमा हिउँद बर्खा गाडी गुड्न सक्छ । ग्रामिण सडकमा भने बर्षातको समयमा सवारी चलाउन जोखिम हुन्छ । प्रत्येक वडामा ग्रामिण सडक विस्तार भएका हुन् । अन्तर गाविसहरु जोड्ने सडकहरुलाई जिल्ला सडकको नाम दिईएको हो । जिल्ला सडककमा पर्यटकिय र धार्मिक सडकहरुलाई पनि गनिएको हो । जिल्लामा दुई ओटा पर्यटकिय तथा धार्मिक सडकको विस्तार गरिएको छ ।  मेची राजमार्ग र मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय स्तरका सडकले पनि पाँचथरलाई छोएको छ । मध्यपहाडी लोगमार्गको ७० किलोमिटर पाँचथर खण्डमा पर्छ ।  च्याङथापु, फलैँचा, ओयाम, थर्पु, नागी र फिदिम गाविस हुँदै यो लोकमार्ग विस्तार भएको छ । त्यस्तै मेची राजमार्गको ९३ किलोमिटर सडक खण्ड पाँचथरमा पर्छ । चिलिङदिन गाविसको राँके बजारदेखि पौवासारताप, रानीटार, फिदिम, भारपा, सुभाङ पञ्चमी, नागी र अमरपुर गाविस हुँदै मेची राजमार्गको विस्तार गरिएको छ । यी सडकबाट दर्जन गाविसहरु लाभान्वित भएका छन् । जिल्लामा विस्तार गरिएका ग्रामिण सडक र जिल्ला सडकहरु जिल्ला विकास समितिको आन्तरिक स्रोत, जिल्लाका सांसदहरुको सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकमबाट विस्तार गरिएको हो । कतिपय ग्रामिण सडकहरु स्थानीय मानिसहरुको आफ्नै लगानीमा समेत खनिएको छ । ग्रामिण क्षेत्रको विकासको आधार नै सडक भएकाले जिल्ला विकास समितिले सडक विकासमा ध्यान दिएको पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला बताउँछन् । “सडकको विकास गर्नुपर्छ,” धमलाले भने “तर, पाँचथरमा विस्तार भएका कतिपय ग्रामिण सडकहरु लहडका भरमा खनिएको छ ।” आँउदो वर्षमा जिल्ला विकास समितिले नयाँ सडक विस्तारका लागि बजेट नछुट्याउने योजना रहेको धमला बताउँछन् । “प्रयाप्त सडकहरुको विकास भएको छ,” उनले भने “आगामी वर्षमा खनिएका सडकहरुको स्तरोन्नति गर्ने काम हुन्छ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment