‘बालबालिकाको विकास र सहभागीताका लागि सबैपक्ष मिलेर लाग्नुपर्छ’

याम माबोहाङ 

इलाम, २३ साउन । इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बालबालिकाको विकास र सहभागिताका लागि सबै पक्ष मिलेर लाग्नु पर्नेमा जोड दिएका छन् । मानव अधिकार मञ्च नेपालले आइतबार बाल अधिकार तथा शान्ति शिक्षा विषयमा जिल्लाका सरोकारवालसँग गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन् । उनीहरुले सरकारी र गैरकारी निकायबाट बाल अधिकारका पक्षमा गरिएको गतिविधि सन्तोषजनका नभएकोले सबै मिलेर जान सकेको खण्डमा मात्र बाल अधिकारलाई संस्थागत गर्न सकिने सुझाएका छन् । 
छलफलमा विद्यालय जाने बालबालिकालाई मात्र होइन विद्यालय भन्दा बाहिरकालाई समेत समेटेको खण्डमा मात्र बालवालिकोको विकास र सहभागिता बढाउन सकिने वक्ताहरुको भनाई छ । उनीहरुले गाउँमा भन्दा पनि शहरी क्षेत्रमा बाल श्रम शोषण बढ्दै गएको बताउँदै हुँदा खाने भन्दा हुँने खानेले बाल श्रम शोषण गरेकोले यसको नियन्त्रण गर्न त्यही तहको सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले विद्यालयबाटै बालबालिकाको बारेमा जानकारी दिन सकेको खण्डमा बाल अधिकार हननलाई न्यून बनाउन सहयोग मिल्ने बताए । उनले यसको लागि सरकारी तथा गैर सरकारी सबै संघसंस्थाले जिल्ला शिक्षा कार्यालयसँग मिलेर जान सकेमा प्रभावकारी हुनेमा जोड दिए । इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बालबालिकाको कुन क्षेत्रमा समस्या छ त्यो ठाउँ पत्ता लगाएर समाधानको खोजी गर्न सकिने बताउँदै यसको लागि सबै क्षेत्र मिलेर जानु पर्नेमा जोड दिए । छलफलमा नेपाली कांग्रेसका उर्मिला सुवेदी, नेकपा एमालेका नवराज शंकर, माओवादी केन्द्र उर्मिला तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ बास्तोला संघीय समाजवादी फोरमका बखतबहादुर आङ्देम्बेले, मानव अधिकर सञ्जाल तथा शान्ति कार्य समूहका प्रकाश अधिकारी, भीम कुलुङ राई, महिला कल्याण समाजका गंगा भट्टराई लगायतले बाल अधिकारको बारेमा बोलेका थिए । 
कार्यक्रममा बालबालिकाको शारीरिक मानसिक बौद्धिक तथा संवेगात्मक विकासमा सहयोग पु¥याउने, स्थानीय निकाय तथा सरोकारवालालाई बाल अधिकारको पक्षमा काम गर्न उत्प्रेरणा जगाउने, बालबालिकाको समस्या समाधान गर्दै विद्यालयलाई शान्ति क्षेत्र बनाउन सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको प्रमुख ठाकुर श्रेष्ठले जानकारी दिए । परियोजनाको यी उद्देश्य पुरा गर्न बालबालिकाको क्षमता विकास, सचेतना, सामाजिक परिचालन, सेवा प्रदान गर्ने, समन्वय र सहकार्य, विद्यमान नीतिगत पैरवी र उपलब्धीको आदान प्रदान, प्रकाशन तथा वितरणको काम गर्दै कामको अनुगमन र मूल्याङ्कन हुने परियोजना प्रमुख श्रेष्ठले जानकारी गराए । मानव अधिकार मञ्च नेपालका तर्फबाट बाल अधिकार तथा शान्ति शिक्षा परियोजना प्रमुख श्रेष्ठले परियोजनाको बारेमा जानकारी गराएको कार्यक्रममा मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतमा भएको थियो । परियोजना अहिले इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटामा सञ्चालन भईरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment