सोयाङको तीन वडाका कुरा पुर्नसंरचना निर्माण समितिले सुनेन


राजेश पराजुली
इलाम, २३ साउन: इलाम जिल्लाको पुर्नसंरचना निर्माण समितिले जिल्लामा स्थानीय तहको गाउँपालिका तथा नगरपालिका निर्माण गर्दा सोयाङबासीको मागलाई मध्यनजर नगरेको आरोप स्थानीयहरुले लगाएका छन् । राजनैतिक दलहरुले तय गरेको आठ वटा तह अन्र्तगत सोयाङ गाविसलाई नयाँबजार केन्द्र रहने गरी बन्ने निकायमा समावेश गरेपछि इलाम नगरपालिकासँग सीमाना जोडिएको सोयाङ गाविसको वडा नं. पाँच, छ र सातका बासिन्दाहरुले प्रत्यक्ष सम्बन्ध राख्ने, सम्पुर्ण कामकाजहरु गर्न सहज र गरिरहेको हुनाले इलामसँग सम्माहित हुने पर्ने माग गरेका छन् ।
सोयाङ गाविसको उक्त तीन वटा वडाका बासिन्दाहरुले इलामसँग जोडिन पाउँ भनि गाउँ तथा जिल्ला स्तरका राजनैतिक दलहरुलाई ज्ञापन पत्र बुझाए पनि यस विषयमा कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ । स्थानीयबासीहरुले हस्ताक्षर संकलन गरी गत असार ३० गते जिल्ला विकास समिति इलामको प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी समक्ष पनि जिविसको ५५९५ दर्ता नम्बरमा ज्ञापन पत्र बुझाएका थिए तर यस बारे कुनै सुनुवाई नभएपछि आईतबार पुनः वडाबासीहरु इलाम जिल्ला स्थित ठुला राजनैतिक दलको ढोका चहार्न पुगेका छन् ।
आईतबार इलाममा डेलिगेशनको रुपमा जिल्ला विकास समिति आएका सोयाङ गाविसस्थित एक राजनैतिक दलका प्रतिनिधीले भने सोयाङ ठुला दलहरुका लागि घाँडो भएको बताए । उनले नाम नछाप्ने शर्तमा चियाबारी दैनिकसँग भने– ‘सोयाङ, नामसालिङ गाविस इलाम नगरपालिकामा गाँसिदा कांग्रेसलाई नगरमा रहेको आफ्नो वर्चस्व गुम्ने डर हुन्छ भने एमालेलाई गाउँस्तरको नेता इलाम नगरपालिका भने घटुवा भएर वडा स्तरको मात्र नेता हुने पिर रहेको छ, यसैका कारण हामीले दिएको ज्ञापन पत्र उपर कुनै दलले चासो देखाएनन् ।’ उनी थप्छन्– ‘नेताहरुले आफ्नो भोटको सुविधा हेर्नु भएन, जनताको वास्तिवक समस्या हेर्नु प¥यो । हामी इलाम नपा छेउका बासिन्दा कसरी नयाँबजार पुग्नु ? नयाँबजार एकपटक पुग्दा तीन पटक इलाम ओहोर दोहोर गरीसक्छौं । भनेपछि हामी नयाँबजारमा जानेकी इलाममा ?’
विभिन्न आवस्था, भौगोलिकता तथा माईखोलामा भर्खरै बनेको पक्की पुलले पनि सोयाङलाई इलामसँग झनै नजिकियाएको छ । कुनै बेला इलाम नगरको ताजा तरकारीको मुख्य स्रोत भनेर सोयाङलाई नै चिनिन्थ्यो । तर हाल आएर घनिष्ठ सम्बन्ध रहेको सोयाङ र इलामको सम्बन्धलाई पारपाचुके गर्न लागिएको मन परेको छैन सोयाङ निवासी भीम संजेललाई । उनी भन्छन्– ‘हाम्रो मागलाई राजनैतिकरण नगरियोस् । जनताको वास्तविक समस्यालाई मध्यनजर गरेर मात्र पुर्नसंरचना गर्न राम्रो हुन्छ, नत्र भविष्यमा पछुताउनु शिवाय केही बाँकी रहदैन् ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment