प्रवासका अनुभूतिहरु...........

आफ्नो उज्वल भविष्यको खोजीमा विश्वको कुना–कुनामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अनि स्वदेशमै रहनुहुने सम्पूर्ण नेपालीजनहरुमा पराई भुमि (परदेश) बाटै भएपनि दश औंला जोडी नमस्कार ।    चियाबारी दैनिक पत्रिकाको प्रवासको अनुभूति स्तम्भ मार्फत मेरो विगतको केही तिता मिठा अनुभुतिहरु तपाईहरु समक्ष राख्न गईराखेको छु । परदेशको मेरो अनुभूति केही तिता, केही मिठा र केही अवस्मरणीय पनि बन्न पुगेको छ । परदेशी जीवन मैले सन् २००८ बाटै शुरु गरेको हुँ । मेरो जीवनमा परदेशको अनुभूतिहरुको विषयमा एउटा लामै कथा छ तर त्यस मध्ये मैले मलेसियाको बसाईमा भोगेका केही अनुभूतिलाई यहाँहरु माझ प्रस्तुत गर्नु लागि रहेको छु ।
म सन् ०४।०९।२०१३ मा नेपालको इसओएस मेनपावरबाट मेलेसिया छिरेको हुँ, अब तीन वर्ष पुरा हुनु लाग्यो । मैले सो मेनपावरमा नेपाली रुपैयाँ १ लाख ५० हजार तिरेर यो पराई भूमि मलेसिया आएको हुँ । मेरो परदेशको यात्रा यहाँबाट शुरु भएको भने पक्कै हैन, मलेसियाको यात्रा तय हुनु अगावै म सन् २००८मा गल्फ मुलुकमा गएर फर्किएको हुँ । मेरो यो विशेष मलेसिया बसाईको अनुभुतिहरु धेरै भएकोले यहाँको केही तिता मिठा अनुभुतिहरु राख्न गईरहेको छु ।
मैले एसओएस मेनपावरलाई रु.१ लाख ५० हजार तिर्दै गर्दा त्यो मेनपावरका दलालहरुले भनेका थियो कि यो ःथ्म्क्ष्ल् ःइज्ब्ःभ्म् ज्इीम्क्ष्ल्म् क्म्ल् द्यज्म् भन्ने मलेसियाको चर्चित सुपरमार्केटमा नेपाली रुपैंयाँ ४० देखि ४५ हजार सम्म कमाउन सकिन्छ । यो कम्पनी राम्रो सेवासुविधावाला हो, भन्दै मलेसिया आउन ललाई फकाई ग¥यो । मैले पनि तिनीहरुको लहैलहैमा लागेर उसैको कुरामाथि विश्वास गर्दै यो परदेशी भूमि छिरे ।
शुरुको केहि महिना ऐजेन्टले भनेकै जस्तो सेलरीमा काम पनि गरियो, भनेकै काम पाईयो र राम्रै भयो । तर अलिक पुरानो कामदार भए पछि पहिला म काम गर्ने मार्केट भन्दा अलि सानो मार्केटमा मेरो सरुवा गरिदियो । यसरी नै भएपनि परदेशको दिनहरु बिताउन बाध्य भए । मैले यो ३ वर्षको अवधिमा धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग भेट्न पुगे । यस्तै भेटघाटको क्रममै मैले यहाँ धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीसँग सुखदुःखको भलाकुसारी गर्ने अवसर पाए । चिरपरिचित हुने क्रममा मैले धेरै श्रमिक दाजुभाईहरु दुःख पाएर हिडिरहेको र बसिरहेको पनि पाए ।
मलेसियामा हामी नेपालीहरुलाई कम्पनी भित्र भाषाको अनभिज्ञता, कामको अनुभव नहुनु अनि आफ्नो क्षमता भन्दा बाहिरको काम गर्नुपर्ने जस्ता समस्या त छदैछ, तर त्यसमा पनि यहाँको स्थानिय बासिन्दा, लुटेराहरुको समूह (मले र काले)हरुले दिनदहाडै लुट्ने, कुटने र अंगभंग बनाउन सक्ने पनि ठुलो भयावह स्थितिको सामाना गर्नुपरेको छ । यहाँको सुरक्षा निकाय अन्तर्गतका गस्ती पुलिसहरुले नै पनि पासपोर्ट र परमिटको बहानामा धेरै दुःख दिने गरेका छन् । अझ भाषा नजान्नेको लागि त त्यो पुलिसहरु काल नै सावित हुन्छ । जे जति भएको नगद तथा जिन्सी त्यो पुलिसलाई जिम्मा नदिई धरै पाईदैन् । माथि उल्लेखित कतिपय घटनाहरु मैले मेरै आँखाको सामु देखेको छु तर प्रतिवाद गर्नु भनेको आफै माथि दशा ल्याउनु सरह हुने हुँदा म त्यस समय मूकदर्शक बनेको छु, यो मेरो बाध्यता हो । अझ अलिक गाउँबस्ती तिरको कम्पनीमा पर्ने नेपालीहरुले यो दुःख र समस्या बढी नै झेल्नु परेको छ भन्दा फरक नपर्ला ।  मलेसियामा विदेशी कामदारहरु माथि लुटेराहरुबाट भोग्नुपर्ने समस्याहरु (लुट्ने, पिट्ने, अंगभंग बनाउने देखि मृत्यूवरण हुने कुरा) त सामान्य जस्तै बनेको छ ।
हामी परदेशीलाई नेपालको मेनपावरले दिएको आश्वासन जस्तै तलब सुविधाहरु नपाउनु, परदेश लाग्दा लिएको साहुको ऋण समयमा तिर्नु नसक्नु, घरमा परिवार (बुबाआमा, छोराछोरी र श्रीमती)बाट टाढिनुको पिडा अनि यहाँको मान्छेहरुको अनैतिक व्यवहारले हामी परदेशमा नमर्नु न बाँच्नु भईराखेका छौ । यी विविध समस्याहरु परदेशमा आएर भोग्नुपर्दा हामी हाम्रो नेपाल सरकारलाई सम्झन्छौ, यदि नेपालमा बन्दहडताल मात्रै नभईदिए सुखदुःखका साथ नेपालमा नै गरिखाने थियौ भनेर । हाम्रो देशमा हुने बन्दहडतालजन्य काम कहिलेबाट अन्त होला भनेर कल्पना गरिरहेका छन । अनि हाम्रो आफ्नै देशमा औद्योगिक विकासका कामहरु भएको भए, हामीलाई यसरी नै आफ्नै देशमा बसेर काम गर्ने वातावरण राज्यले बनाई दिएको भए हामी किन परदेश लाग्ने थियौ र ? यि विविध प्रश्नहरु मानसपटलमा घुमाई रहेका छन् आज परदेशिएका श्रमिकहरु परदेशको कुनाबाट......।
यस प्रवासमा हामीहरुले दुःख पाउनुको कारण यति मात्र हैन कि हामीहरु स्वयमले पनि दुःखको बाटोहरु जान अन्जानमा निमत्याई रहेकाछौ । हामी कतिपयले हाम्रो घरपरिवार नै भुलेर–बिर्सेर यहाँ कुलतको बाटोमा लागेका छौ । म जस्तै धेरै युवा दाजुभाई तथा दिदीबहिनीहरु त्यस्ता बाटोहरुमा हिडेका मैले देखे र भेटेको पनि छु । आखिर किन गर्छौ हामी यस्तो कुलतको काम ? किन हिड्दै छौ ति कुलतको बाटोमा ? हामी यहाँ के का लागि आएका हौ ? यो गर्नु राम्रो हो कि हैन ? मैले मेरो भोलीको भविष्य र घरपरिवार सम्झिने कि नसम्झिने ? यो प्रश्नहरु हामीले आफुले आफैलाई कहिलै गर्दैनौ । मलेसिया बसाईको अवधिमा मैले घेरै जना उद्देश्यविहिन परदेश लागेका झै लाग्ने नेपालीहरुको भिड पनि आफ्नै आँखाले देखेको छु । 
मलेसिया भित्रको धेरै तिता मिठा अनुभुतिहरु मैले यहाँको बसाईमा भोगेको छु र देखेको छु । साथीहरुमा कुलतको बाटो त्यागेर असल बाटोमा हिड्नु पर्छ भन्ने भावना भएकाहरु भने यो परदेशी भुमिमा कमै मात्रमा भेटिन्छ । म त भन्छु परदेश आएपछि केही पैसा कमाऔ, हैन भने स्वदेश मै बसेर केही गरेर केही बनौ भन्छु । कतिपय परदेशिएका साथीहरुले दुःख कष्ट सहदै कमाई गरेको पैसाको सदुपयोग गर्न सकेको छैनन् । कुलतको बाटोबाट हामी जति सक्दो बाहिर रहौ पनि भन्न चाहान्छु । परदेशीनु हाम्रो रहर हैन बाध्यता हो । त्यसकारण पनि हामीले केही गर्नु पर्छ । सबैको दुःख आ–आफ्नै ठाउँमा छ, त्यसैले यो हाम्रो परदेशको ठुलो दुःखबाट आर्जेको रकमलाई सही तरिकाले सदुपयोग गरौ भन्ने आव्हान गर्दछु । 
आज हामी श्रमिक छौ, भोलीको दिनमा हामी मालिक बन्नुपर्छ भन्ने सोच राखौ, विदेशमा संचय गरेको रकमले स्वदेश फर्केपछि कुनै उद्यम थालौ । अन्त्यमा जतिपनि यो मलेसियाको भुमिमा आउन चाहाने र आउदै हुनुहुन्छ ? सकभर यस ठाउँमा आउन अगाडी मलेसिया कुन र कस्तो कम्पनी हो भन्ने पहिचान गरौ, ऐजेन्टको भनाईमा विश्वस्त नबनौ । मलेसिया हाल श्रमिकहरुको निम्ति सुरक्षित गन्तव्य होईन भन्ने कुरा विभिन्न संचार माध्यम र अनलाईनबाट उजागार भईरहेको छ । यहाँहरु माझ मेरो सानो सन्देश राखिसकेको छु । यहाँ आएर पाउने दुःख (भोग्नु पर्ने)हरु भनेको तपाई, हामीले नै हो, ऐजेन्टले होईन । त्यसैले यि कुराहरु मध्यनजर गर्नु पनि पर्छ र गर्न पनि जरुरी छ । अनि दुःख भोगी सकेका हामी जस्तो परदेशीएकाहरुले यो कुरा बुझाउन पनि जरुरी छ । हामी जही जाऔ, कर्तव्यलाई नभुलौ । अवैधानिक नबनौ । सामाजिक भावनालाई उजागार गरौं ।   धन्यवाद ! यस प्रवासका अनुभूति स्तम्भका सम्पादक ः बुद्धिमान राई ‘मुर्ख’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment