खानेपानीमा राजनीति नगरौं

सम्पादकीय

इलाम नगरपालिकामा खानेपानीको चरम अभाव भएको वषौं भएको छ । यसको निराकरण गर्न कुनै पहल भएको छैन । साना शहरी खानेपानी आयोजनाको आशाले इलाम बजारबासीको मुख रसाएको थियो । स्थानीय दलहरुको अकर्मण्यताले यसको कुरा समेत उठ्न छोडेको छ । इलाम  खासगरी नगरपालिका भित्र कुनैपनि क्षेत्रमा विकासमा सरोकार राख्नेहरुमा प्रतिवद्धताको खाँचो देखिने गरेको छ । दलका कार्यकर्तामा भएको अहमले अर्को कुनै दल हाराहारीमा रहेको छ भन्ने बिर्सने परम्परागत शैलीले जनता र जनताका आवश्यकताका कैयन विषयलाई ओझेलमा पारेको छ । विश्व बैंकले लगानी गर्ने भनिएको खानेपानी आयोजना स्वीकृत हुनु अगावै यसको विरुद्धमा उजुरी प¥यो र विश्व बैंकले हात झिक्यो भनियो । पछि उजुरी परेको होइन र इलामका कसैले उजुर गरेकै छैन भन्ने सुनियो । यी जोगिने कुरा मात्र हुन् । वास्तवमा किन हो विकास निर्माणका कामहरुमा इलामका स्थानीय राजनैतिक कर्मीहरु बीचमा मतैक्यता छैन् । इलाम नगरपालिका उप महानगरपालिकाको सपना देखिरहेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिए पनि नगरको अवस्था देखिए जस्तो छैन् ।
हाल इलाम नगरपालिकाले वितरण गर्ने गरेको खानेपानी ४८ घण्टामा एक पटक छोडिने गरेको छ । माइमझुवाको भाँडी र गिताङ खोलाबाट धेरै वर्ष अगाडि ल्याइएको पानी हाल इलाममा १२ लिटर प्रतिसेकेण्ड झर्ने बताइएको छ । ४८ घण्टामा २० लाख ७३ हजार लिटर पानी २ हजार ७ सय ५० घारामा १ पटक वितरण हुँदा १६ लाख ७० हजार लिटर खपत भएको देखिन्छ । प्रत्येक दिन २ लाख १ हजार लिटर पानी चुहावट हुने गरेको प्रष्ट छ । हाल नागरिकहरुको धारामा आउने गरेको पानीले एक व्यक्तिलाई एक दिनलाई पुग्ने गर्छ । वर्षादको समयमा छत र छानाबाट झर्ने पानीले शौचालय र लुगाधुने गरिएको छ । कतिपय धाराहरुमा हावामात्र आउने र ४÷५ लिटरभन्दा बढी पानी आउदैन । भाडामा बस्ने र संयुक्त परिवार भएका घरमा पानीको कति सङ्कट रहन्छ भन्ने ब्यथा दोहोर्याइ रहनु पर्दैन । होटल र रेष्टुरेन्टहरु ट्याङ्करले दिने मुल्यवान पानीको भर परेका छन् । नपामा खानेपानीका मात्र कर्मचारीहरु ३५ जना रहेको बताइएको छ । उनीहरुको तलबभत्तामा नगरबासीले तिरेको महसुल खर्च हुने गरेको छ । उपभोक्ताले भने लगभग पानी उपभोग गर्न नपाएको प्रष्ट छ । 
इलामको खानेपानीको यो अभावलाई यसरी नै छोडिराखेमा छिटै भयावह अवस्था सृजना हुने देखिन्छ । स्थाई बसोबास गर्ने नागरिकहरु पलायन हुने र आगन्तुकले पाइला नहाल्ने अवस्था आउने छ । स्वच्छ र सुन्दर इलामको परिकल्पना साकार हुन असम्भव हुने छ । यसकारण जसरी जुन बजेट खर्च गरेर भएपनि नपा, जिविस र जिल्ला स्तरका हरेक सरकारी कार्यालय र प्रत्यक्ष सरोकार राख्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कानमा तेल हालेर नबसुन् । साथै जनताको नाम नजपी भात नपच्ने राजनैतिक दलका नेताहरुले एकमतले इलाममा खानेपानी आपूर्ति सहज बनाउन कस्सिनु पर्छ । खानेपानीमा राजनीति नखेलियोस् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment