बिनय तिम्सीना
इलाम, २५ साउनः जिल्ला सदरमुकाम इलाम बजारमा विगत एक महिना देखि खानेपानीको अभाव सिसर्जना भएको छ । असार लागे सँगै खानेपानी वितरण गर्दै आएको नगरपालिकाले एक सूचना प्रकाशन गरी इलाम सदरमुकाममा खानेपानी वितरणको तालिका चौबीस घण्टेबाट अठ्चालीस घण्टे बनाएको हो । इलाम सदरमुकाम २० एम.एम.को पाइपबाट पैतालीस मिनेट पानी वितरण भईरहेको नगरपालिकाका सब इन्जिनियर राधाकृष्ण घिमिरेले जानकारी गराए । उनका अनुसार पाइपमा प्रेसरमा पानी आउँदा ०.२२५ लिटर पानी प्रतिसेकेन्ड आउने गरेको छ । यसरी आएको पानी ग्राहकको घरमा पैतालीस मिनेटमा छ सय सात लिटर पानी अठ्चालीस घण्टा अर्थात दुई दिनको लागि आउने गरेको छ । सामान्यतया एक जना मानिसलाई एक दिनमा नित्यकर्म, सरसफाई गर्न, पिउन आदीको लागि दुईसय लिटर पानीको आवश्यकता पर्ने एक अध्ययनले देखाएको छ । इलाम सदरमुकाममा एउटा घरमा कम्तीमा पनि तीन परिवार बस्ने गरेका छन् । परिवार संख्या चार जनाको दरले हुन आउँदा पनि एउटा धाराको पानी बाह् जनाले प्रयोग गरिरहेका हुन्छन् ।
यसरी हेर्दा एक जना मानिसलाई कम्तीमा पनि दुइ सय लिटर आवश्यक्ता पर्दछ भने दुई दिनमा चार सय लिटर पानीको आवश्यक्ता पर्दछ र एउटा धाराको उपभोक्तालाई चार हजार आठ सय लिटर पानीको आवश्यक्ता पर्छ तर अहिले इलाम सदरमुकाममा नगरपालिकाले वितरण गरेको पानी पिउन पनि पुग्दैन । त्यसमा पनि नगरपालिकाको वितरण प्रणाली एकनासको नभएकोले कुनै कुनै धारामा थोपा थोपा मात्र पानी चुहिने गरेको गुनासो इलाम नगरपालिका सिंहवाहिनीका प्रदिप दाहालको गुनासो रहेको छ । बजारमा धेरै जसो घरहरुमा पानी धारामा आएको समयमा मोटरको प्रयोग गर्ने गरेकोले पनि सबै धारामा समान रुपमा पानी नआउने गरेको गुनासो इलाम मालापथका पशुपति भट्टराईको रहेको छ । इलाम बजारमा माईमझुवाको भाँडी खोला र गिताङ खोलाको मुहानबाट इलाम सदरमुकामलाई खानेपानी ल्याईएको छ । लामो दुरीको पाइप लाईन भएकाले पनि कहिले काही पानी वितरणमा समस्या आउने गरेको छ तर अहिले इलाम सदरमुकाममा भएको समस्या वितरण प्रणालीका कारण भएको समस्या हो । यसमा सरोकारवालाले खानेपानीको मुहान बृद्धि हुने समयमा चासो नदेखाउदा हिउँदको समयमा खानेपानीको विकराल समस्या आउन सक्ने तर्फ नगरबासी चिन्तित देखिन्छन् ।
मध्य वर्षाको समयमा नगरपालिकाले ल्याएको मुहानको पानी अहिले बाह् लिटर प्रति सेकेन्ड आउँदै गरेको सब इन्जिनियर घिमिरेले दिएको जानकारी अनुसार साधारण हिसाब गर्दा बाह् लिटर प्रतिसेकन्ड पानी आँउदा एक मिनेटमा सात सय बीस लिटर पानी आउँछ र नगरपालिकाले अठ्चालीस घण्टामा बीस लाख त्रिहत्तर हजार छ सय लिटर पानी जम्मा हुन आउँछ । नगरपालिकाले अहिले नगरको विभिन्न क्षेत्रमा दुई हजार सात सय पचास धारामा पानी वितरण गरिरहेको छ । अठ्चालीस घण्टामा एक पटक वितरण गर्दा नगरपालिकाले सोह् लाख सत्तरी हजार छ सय पच्चीस लिटर पानी वितरण गर्दछ । बाँकी रहेको चार लाख दुई हजार पचहत्तर लिटर पानीको हिसाब देखिन आउँदैन । यसरी हेर्दा त्यो पानी चुवाहट हुन्छ कि कतै वितरण हुन्छ भनेर शंका गर्नुपर्ने अवस्था आउँदछ ।
इलाम नगरपालिकालाई खानेपानी महसुलबाट अघिल्लो आर्थिक वर्षमा ६१ लाख ४२ हजार ६ सय ३५ रुपैंयाँ आम्दानी भएको छ । खानेपानी शाखामा पैंत्तीस जाना कर्मचारी रहेको उनीहरुको तलबमा ४९ लाख ८९ हजार ८ सय ३३ रुपैयाँ खर्च भएको छ, त्यस्तै माइमझुवाको भिमसेन प्राविलाई दुइ लाख र हिमालय बाल विकास केन्द्रलाई २५ हजार सहयोग गरेको छ । नगरपालिकाले खानेपानी मर्मतमा १० लाख ७७ हजार ६ सय ६४ रुपयाँ खर्च गरेको देखिन्छ । नगरपालिकासँग ५२ हजार ६ सय ३८ रुपैयाँ मौज्दात देखिन्छ । यता इलाम बजार तेस्रो शहरी खानेपानी आयोजना एशियाली विकास बैंकले गर्ने कि नेपाल सरकारबाट गर्ने भन्नेमा अन्यौल कायमै रहेको छ ।
0 comments:
Post a Comment